३ माघ २०८१, बिहिबार | January 16, 2025

हिरासतमा हैकम जमाउँदै रवि,रास्वपाको ‘प्रोपोगाण्डा’मा प्रचण्डको साथ


December 12, 2024
1.6k
Shares

काठमाडौं,२७ मंसिर । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहँदासमेत हैकम जमाउन उद्यत पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको भन्दै रास्वपाले बजारमा प्रपोगान्डा फैलाएर अनुसन्धालाई प्रभावित बनाउने प्रयास गरिरहेको छ। सोही प्रोपोगान्डालाई राजनीतिक एजेन्डा बनाएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले साथ दिँदै आएको छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अनुसन्धानका क्रममा निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभएको छ– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न सरकारलाई गम्भीर आग्रह गर्दछु।’

उहाँको यो अभिव्यक्तिले रविलाई निर्दोष ठहर गर्दै कानुनी प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको पुष्टि गर्ने कानुनविद्हरूले टिप्पणी गरेका छन्। ‘अनुसन्धानका क्रममा रहेका जो कोही आरोपितका विषयमा जिम्मेवार व्यक्तिले नै दोषी थियो र थिएन भन्नु जायज हैन’, अधिवक्ता कृतिनाथ शर्मा पौडेलले भन्नुभयो– ‘प्रचण्डका पछिल्ला अभिव्यक्तिले कानुनी राज्यको उपहास गरेको छ। अदालतमा विचाराधीन मुद्दा वा अनुसन्धानका क्रममा रहेका विषयलाई उहाँजस्तो जिम्मेवार नेताले हल्का रूपमा भाषण गर्दै हिँड्नु गैरजिम्मेवारीपन र कानुनी राज्यकै खिलापमा हुन्छ।’

निजी साझेदार कम्पनीमार्फत सहकारीबाट हजारौं बचतकर्ताको रकम अपचलनमा गरेको आरोपमा अनुसन्धान भइरहेका पूर्वगृहमन्त्री लामिछानेले हिरासतमै हैकम जमाउने गर्नुभएको अनुसन्धान तथा सुरक्षामा संलग्न अधिकारीहरूले दाबी गरेका छन्। अदालतको आदेशअनुसार अनुसन्धानका क्रममा कास्कीस्थित प्रहरी हिरासतमा रहनुभएका रविले अड्डासारका क्रममा उहाँको सुरक्षार्थ खटिएका प्रहरी अधिकृतहरूलाई थर्काउने र उल्टै प्रहरीको बदनाम गर्ने गरी समर्थकमार्फत बाहिर प्रोपोगान्डा फिँजाउने गर्नुभएको प्रहरी प्रशासनका अधिकारीहरूले गुनासो गर्ने गरेका छन् । गत कात्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरी पोखरा लगिएको थियो।

आधा दर्जन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड बढी ऋण लगरेर सोही कम्पनीमार्फत उक्त रकम अपचलन गरेको आरोपमा उहाँमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको छ । सोही क्रममा अदालतको पक्राउ पुर्जीका आधारमा पोखरा, बुटवल, काठमाडौं, चितवन, पर्सा जिल्लामा बयानका लागि घुमाउँदै फेरि पोखरा नै पुर्‍याइएको कास्की प्रहरी कार्यालयले जनाएको छ।

गत १९ गते चितवनबाट पोखरा अड्डासारका क्रममा लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गर्दै रातारात पोखरा लगिएको, स्वास्थ्य समस्यालाई ख्याल नगरिएकोलगायत विषयलाई रास्वपाले बजार हल्लाका रूपमा व्यापक बनाएको थियो । अनुसन्धानका क्रममा रहेका व्यक्तिलाई हिराइ गर्न माग गर्दै चितवनमा रास्वपाका कार्यकर्ताले गरेको नारा जुलुस र हुलदंगापछि आउन सक्ने सम्भावित समस्याको ख्याल गर्दै प्रहरीले रविलाई राती नै पोखरा लानुपर्ने परिस्थिति निर्माण भएको थियो।

‘सोही क्रममा प्रहरीले सम्मानका साथ पोखरा जानुपर्ने बताएपछि रविले म गाडीमा जान्नँ, हवाईजहाजमै लानुपर्छ, किन जाने म रु भनेर सुरक्षाकर्मीमाथि नै अभद्र भाषा प्रयोग गर्न लागेपछि प्रहरीले जानै पर्ने बाध्यता दर्शाएर पोखरा पु¥याएको हो’ –गृह मन्त्रालय मातहतका एक अधिकारीले भने । जहाजमा जाँदा एयरपोर्ट र प्रहरी कार्यालयबीचको यात्रामा समर्थकको भीड बटुल्ने र प्रपोगान्डालाई फैलाउँदै जाने रणनीतिका साथ रविले यस्तो गरेको अधिकारीहरूको भनाइ छ।

लामिछानेलाई अनुसन्धानका क्रममा सधैं जिम्मेवारपूर्ण ढंगले सम्मानको व्यवहार गरेकोे प्रहरी प्रशासनले जिकिर गरेको छ। वीरगञ्जको हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरण बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको थियो। उक्त सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४ सय २७ रुपियाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यसअघि लामिछानेले पोखरासहित चितवन, काठमाडौं, बुटवलमा समेत बयान दिइसक्नुभएको छ । उहाँको मुद्दा चाँडै अदालतमा पेस गर्ने तयारी भएको प्रहरीले जनाएको छ।

गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति लामिछानेमाथि अनुसन्धानका क्रममा अभद्र व्यवहार नभएको दाबी गर्नुभएको छ। लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको भन्दै उहाँले प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको जिकिर गर्नुभयो । सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको उहाँको टिप्पणी छ।

‘सहकारीको रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्। प्रहरीले अनुसन्धानका क्रममा कसैलाई अमानवीय व्यवहार गरेको छैन, गर्नु हुँदैन । तर, अनुसन्धानलाई प्रभावित बनाउन प्रतिपक्षी दलका साथीहरूसमेत रास्वपाको प्रपोगान्डामा मिसिनुभएको छ । कानुनलाई सबैले सम्मान गर्नुपछ’,– उहाँले भन्नुभयो । समाचारपत्र

प्रतिक्रिया