२ माघ २०८१, बुधबार | January 16, 2025

अन्ततः नरेश भट्टमाथि लगाइयो ममता हत्या अभियोग,जेलमुक्त मुक्त हुने सम्भावना समाप्त


December 5, 2024
2.2k
Shares

काठमाडौं,२० मंसिर । ममता काफ्ले बेपत्ता भएको १२५औं दिनपछि उनका पति नरेश भट्टमाथि हत्या अभियोग लगाइएको छ । प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डलले भट्टमाथि हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको दुईवटा आरोपमा अभियोग लगाएको हो ।

हिरासतमुक्त हुने सम्भावना समाप्त

श्रीमती हत्यापछि शव लुकाएको आरोपमा गत २२ अगस्टमा पक्राउ परेका उनीमाथि यसअघि हत्या अभियोग लाग्ने–नलाग्ने अन्योल थियो ।

प्रहरीसँगको बयानमा भट्टले श्रीमती ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए । निरन्तरको इन्कारी बयानका कारण उनी चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो । तर, हत्या अभियोग लागेसँगै हिरासतमुक्त हुने सम्भावना अब सकिएको छ ।

गत १६ साउन (२९ जुलाई) मा अमेरिकाको भर्जिनियाको मनाससस्थित घरबाट ममता बेपत्ता भएकी थिइन् । प्रहरीसँगको बयानका क्रममा उनले श्रीमती ममता जीवितै रहेको दाबीसमेत गरेका थिए । उनको यस दाबीले ममता जीवितै रहेको झिनो आशा त्यसबेला पलाएको पनि थियो ।

तर, ममताको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको हो ।

मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार राति पत्रकार सम्मेलन गर्दै उनी सुत्ने कोठा र स्नानगृहमा भेटिएको रगत ममताको डीएनएसँग मेल खाएको जानकारी दिएका थिए ।

बाथरुममा फेला परेको रगत ममताको डीएनएसँग म्याच भएपछि प्रहरीले नरेशमाथि हत्याको अभियोग लगाएको हो । यद्यपि, उनको शव भने फेला परेको छैन । शव फेला नपरे पनि उनका पति भट्टमाथि हत्या अभियोग लगाइएको हो ।

ममताको हत्या २९ जुलाई रातिदेखि ३० जुलाई बिहानको बीचमा भएको प्रहरीको अनुमान छ । शयनकक्षमा हत्या गरेपछि ममताको शवलाई बाथरुममा तानेको प्रहरीको आशंका छ । यति मात्रै नभई हत्यापछि ममताको शव टुक्राटुक्रा पारिएको पनि प्रहरीको आशंका छ ।

प्रहरी अनुसन्धानका क्रममा भट्टले ३० जुलाईमा स्यानटिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको र तीमध्ये दुईवटा फेला नपरेको खुलेको थियो । चक्कु खरिद गरेको भोलिपल्ट उनले अर्को वालमार्टबाट सफाई सामग्री खरिद गरेको पनि भेटिएको थियो । अभियोजनकर्ताले त्यही आधारमा नरेशले ममताको हत्या गरी उनको शरीर टुक्राटुक्रा बनाएर फालेको आशंका गरेका थिए ।

त्यस्तै, भट्टले आफ्नो ल्यापटपमा श्रीमती मरेपछि विवाह गर्न लाग्ने समय र श्रीमतीको ऋणका ’दयगतमा गुगलमा खोजी गरेको भेटिएको थियो ।

नरेशले थुप्रै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि बताइएको छ । उनले मनासस पार्कमा रहेको आफ्नो घर बिक्री गर्ने तयारी पनि गरेका थिए । उनले आफ्नो टेस्ला गाडी पनि बिक्री गरिसकेका थिए । उनले छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए ।

ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक २७ जुलाईमा देखिएकी थिइन् । उनी २८ जुलाईसम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको थियो । त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । २ अगस्टमा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेको थियो । त्यतिबेला घरमा नरेश र उनकी १ वर्षीया छोरी मात्रै थिए ।

भट्टले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन त्यतिबेला अस्वीकार गरेका थिए । ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताउँदै नरेशले प्रहरीलाई फर्काइदिएका थिए । ममताका साथीहरूको मौखिक उजुरीका आधारमा प्रहरीले अन्यत्र खोजी सुरु गरिसकेको थियो ।

५ अगस्टमा मात्रै भट्टले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए । त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो । प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडियोहरूलाई पनि मिहीन रूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो । तर, अनुसन्धानको सुई भने नरेशपट्टि नै सोझिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भएका नरेश भट्ट अमेरिका जानुअघि धनगढीमा चिकित्सा प्रतिनिधि ९एमआर०को काम गर्दै आएका थिए । धनगढीकै सेती प्रादेशिक अस्पताल लाइनमा रहेका दुई मेडिकलमा उनको लगानी पनि थियो । उनी डीभी परेपछि १४ साउन २०७३ मा अमेरिकाका लागि उडेका थिए ।

अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे । उनी यूएस आर्मीमा भर्ती हुने उद्देश्यसहित अमेरिका गएका थिए । आफ्नो उद्देश्यमा उनी सफल पनि भए । अमेरिका पुगेको एक वर्षपछि २०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए । यूएस आर्मीमा भर्ती भएपछि नरेश बेलाबेला नेपाल पनि आउथे । उनी यूएस आर्मीको आईटी विभागमा कार्यरत थिए ।

५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममतासँग उनको सामाजिक सञ्जालमार्फत चिनजान भयो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढेपछि २५ मंसिर २०७७ मा उनीहरूको विवाह भएको थियो । विवाहको आठ महिनापछि १० साउन २०७८ मा ममता पनि अमेरिकाका लागि उडेकी थिइन् । झन्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिएकी थिइन् । राजधानी दैनिक

प्रतिक्रिया