२ माघ २०८१, बुधबार | January 15, 2025

उपचारका लागि कोठामा बोलाएर हनी ट्र्यापिङ


November 28, 2024
3.2k
Shares

काठमाडौं,१३ मंसिर । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीसमेतको मिलेमतोमा भएको ‘हनी ट्र्याप’ प्रकरणको घटना सेलाउन नपाउँदै फेरि काठमाडौं उपत्यकामा यस्तै प्रकृतिको अर्को घटना भएको छ । प्रहरी निरीक्षक शाही र विगतमा पनि हनी ट्र्यापलगायका आपराधिक घटनामा जोडिएका गिरोहलाई प्रहरीले आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेकै दिनको सेरोफेरोमा अर्को पनि घटना बाहिरिएको हो ।

१८ लाखबाट मोलमोलाइ, ८ लाखमा सहमति, अन्ततः प्रहरीको फन्दामा

प्रहरी निरीक्षक शाहीलगायतको हनी ट्र्यापमा ललितपुरका व्यवसायी इन्द्रकुमार राई परेकामा यस प्रकरणमा भने काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ बाँसबारीमा मेडिस्प्रा नाम गरेको फार्मेसी चलाउँदै आएका व्यक्ति परेका छन् । यद्यपि, प्रहरीले उनको नाम गोप्य राखेको छ ।

हनी ट्र्यापमा परेका ती व्यक्तिको उजुरीका आधारमा प्रहरीले वर्षा दर्जी, समृद्धि मगर र दीपेन्द्र दर्जीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान थालेको छ ।

कसरी परे हनी ट्र्यापमा ?
बाँसबारीस्थित मेडिस्प्रा नाम गरेको फार्मेसी सो क्षेत्रमा चर्चित छ । फार्मेसीमा औषधि बिक्री वितरणका अलावा सामान्य स्वास्थ्य चेकजाँच र घाउहरूमा ड्रेसिङसमेत गरिने गरिएको छ । यति मात्रै नभई फार्मेसी सञ्चालकले घरमै गएर पनि घाउको ड्रेसिङ गर्ने, अनलाइन औषधि डेलिभरी दिनेसम्मको सुविधा दिने गरेका छन् । त्यसैले पनि बाँसबारी क्षेत्रमा सो फार्मेसी चर्चित बनेको हो ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ स्थायी ठेगाना भएका ३३ वर्षीय ती सञ्चालकलाई केही दिनअघि आएको म्यासेज र उनले गरेको ‘व्यावसायिक डिल’कै कारण उनी हनी ट्र्यापमा परेका हुन् ।

एक साताअघि ६ मंसिरमा उनी फार्मेसीमै रहेको समयमा अनलाइनमा एउटा म्यासेज आएको थियो । म्यासेजमा ‘खुट्टामा घाउ भएकाले ड्रेसिङका लागि कोठामै आइदिनुप¥यो’ भनिएको थियो । बिरामी भएको बहानामा उनलाई म्यासेज गर्ने व्यक्ति हुन्, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई भक्तपुरको नयाँ ठिमीमा बस्ने गरेकी २५ वर्षीया वर्षा दर्जी ।

म्यासेजपछिको कुराकानीमा वर्षाले ती मेडिकल सञ्चालकलाई आफू आउन नसक्ने भन्दै कोठामै आवश्यक औषधिसहित ड्रेसिङका लागि आइदिन आग्रह गरिन् । त्यसपछि केही समय उनीहरूबीच ‘व्यावसायिक डिल’ भयो । ती सञ्चालकले ड्रेसिङ र औषधिबापत लाग्ने रकम र सर्भिस चार्जको कुरा गरे । ‘बिरामी’ वर्षाले उनको कुरामा सहमति जनाएपछि त्यसै दिन अपराह्न १ बजे फार्मेसी सञ्चालक उनको कोठातिर गए र ड्रेसिङ गरी लागेको रकम लिएर फर्किए ।

अनि आयो धम्कीपूर्ण फोन
मेडिकल सञ्चालक फार्मेसीमा फर्किएर आफ्नो काम गरिरहेका थिए, त्यसैबेला उनले सोच्दै नसोचेको धम्कीपूर्ण फोन आउन थाल्यो । सो फोनले उनी छाँगाबाट खसेसरह भए । उनलाई फोन गर्ने व्यक्ति थिए वर्षाका दाइ र भाउजू बताउने व्यक्ति । उनीहरूले ती मेडिकल सञ्चालकलाई भने, ‘कोही नभएको मौका पारी कोठामै गएर बलात्कार गर्ने रु कि हामीले भनेजति रकम दिनूस्, नभए प्रहरीमा केस गर्छौं ।’

मेडिकल सञ्चालकले आफ्नो कुनै गल्ती नरहेको, युवतीले भनेबमोजिम ड्रेसिङ गरेर मात्रै फर्किएको बताए । उनले आफूले कुनै गल्ती नगरेकाले पैसा नदिने अड्डी लिए । त्यसपछि भने उनीहरू बाँसबारीस्थित उनको फार्मेसीमै गए । ग्राहकको आवत–जावत भइरहने फार्मेसीमा आएपछि भने उनी ‘नर्भस’ भए । आफ्नो इज्जत र व्यापारको चिन्ता हुन थाल्यो उनलाई । फार्मेसीमा आएकाहरूले आफूहरूसँग भिडियो फुटेजसमेत रहेको भन्दै धम्काएपछि उनी केही रकम दिएर मिलाउनतिर लागे । जब उनी रकम दिन तयार भए, त्यसपछि हनी ट्र्यापमा संलग्न व्यक्तिहरू बस्नेत थरका एक व्यक्ति र समृद्धिले आफूहरू वर्षाको दाइ र भाउजू भन्दै १८ लाख रुपैयाँ मागे । तर, उनले आफूसँग त्यति धेरै रकम नभएको बताएपछि बार्गेनिङ चल्यो । र, अन्तिममा ८ लाख रुपैयाँ दिए कुनै केस नगर्ने सहमति भयो ।

त्यसपछि ती मेडिकल सञ्चालकले भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा ११ मंसिर ९मंगलबार० गई ५० हजार रुपैयाँ नगद र ७५ हजार रुपैयाँको चेक दिने र अन्य रकम शुक्रबारसम्म दिने बताए । यस कुरामा उनीहरूले पनि सहमति जनाए ।

सहमतिअनुसारको रकम लिन वर्षाले मंगलबार बिहान ११ बजे वेभ सेकुवा कर्नरमा इलामको साविक दानबारी गाविस–९ घर भई नयाँ ठिमी बस्दै आएका समृद्धि र बस्नेत थरका एक व्यक्तिलाई पठाइन् । समृद्धिले ती मेडिकल सञ्चालकसँग नगद २५ हजार रुपैयाँ लिइन् । ती व्यवसायीले अर्का आरोपित बस्नेतको सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ०२४२‘९८० मा क्यूआर कोडमार्फत २५ हजार रुपैयाँ ट्रान्सफर गरे । सोही दिन अपराह्न ४ बजे वर्षाले आफ्ना दाइ दीपेन्द्र र समृद्धिलाई सोही सेकुवा कर्नरमा ७५ हजार रुपैयाँको चेक लिन पठाइन् । उनले एनआईसी एसिया बैंकमा रहेको खाताको ७५ हजार रुपैयाँको चेक पनि वर्षाको नाममा काटेर दिए ।

अनि प्रहरीको फन्दामा‘
चेक लिएर निस्किएका समृद्धि र दीपेन्द्र वर्षा भएको ठाउँमा पुग्न पाएनन्, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक श्याम थापा नेतृत्वको टोलीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लियो । ती मेडिकल सञ्चालकले आफूले भोग्नुपरेको समस्या विस्तृत रूपमा सुनाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । क्यूआर कोडमार्फत बिहान २५ हजार रुपैयाँ लिने बस्नेत थरका व्यक्ति भने त्यसबेला आएका थिएनन् । समृद्धि र दीपेन्द्र पक्राउ परेको खबर पाएपछि वर्षा भने लगत्तै फरार भइन् । यद्यपि, बुधवार बिहान वर्षालाई समेत प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीले उनीहरूको साथबाट वर्षाको नाममा लिएको ७५ हजार रुपैयाँको चेक र समृद्धिसँग रहेको २० हजार ५ सय रुपैयाँ नगद बरामद गरिसकेको छ । उनीहरूको मोबाइल पनि प्रहरीले बरामद गरी अनुसन्धान थालेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० काजीकुमार आचार्यले पक्राउ परेका वर्षा, समृद्धि र दीपेन्द्रलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान थालिएको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया