९ माघ २०८१, बुधबार | January 22, 2025

अमेरिकासहित पश्चिमाको तारोमा भारतका अर्बपति अडानी


November 21, 2024
498
Shares

एजेन्सी, ६ मंसिर । भारतका अर्बपति गौतम अडानी पटक पटक अमेरिकासहित पश्चिमा देशको सरकारको तारोमा परेका छन् । विश्वकै धनाढ्यमध्येका अडानी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिन्छन् । गुजरातका यी धनाढ्यले भारतको सत्तारुढ भाजपालाई सहयोग गर्दै आएको चर्चा चल्ने गरेको छ ।

अडानीले अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई पनि बधाई दिएका छन् । उनले यसमा खुशी पनि व्यक्त गरेका छन् । त्यसपछि वाइडेन प्रशासनले अडानीलाई तारो बनाएको छ अहिले ।

उनीमाथि २५ करोड डलर घूस दिएको आरोप लागेको छ । अमेरिकाको सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिशनले अडानीविरुद्ध अमेरिकी लगानीकर्तालाई ठगेको र घूस दिएको आरोपमा उजूरी समेत दर्ता गरेको छ । तर, कानून अनुसार आरोप पुष्टि नभएसम्म दोषी ठहर हुँदैन । अडानीलाई आरोप लगाएपछि भारतमा पनि कँग्रेस आईलगायत विपक्षी दलले मोदीलाई मुछेर धारणा सार्वजनिक गरिरहेछन् । अडानीले भने घूसको आरोपलाई निराधार भनी कानून अनुसार चल्ने भनेको छ ।

अमेरिकाले अडानीमाथि घूसको आरोपलगाएपछि उनले एकै दिनमा १० अर्ब भारु गुमाएका छन् । अडानी ग्रुपको शेयरको मूल्यमा एकै दिनमा २० प्रतिशतले गिरावट आएको छ । सौर्य ऊर्जासम्बन्धी ठेक्का पाउन अडानीसहित सातजना धनाढ्यले घूस दिएको आरोप लागेको छ । बुधबार घूसकाण्ड बाहिर आएको हो । बिहिबार शेयर बजारमा अडानी समूहको शेयर ह्वात्तै घट्न पुग्यो ।

अडानीको धनबारे पश्चिमा संस्था हिडिनवर्गले सय पेज लामो रिपोर्ट सार्वजनिक गरेको थियो गत वर्ष । जसमा उनको कालो धन र कृत्तिम रुपमा शेयरको बढावाबारे दाबी गरिएको थियो । त्यतिबेला उनको शेयर ह्वात्तै घटेको थियो । तर, त्यसको असर लामो समय रहेन । अडानी फेरि बलियो अवस्थामा पुगे ।

प्रतिक्रिया