२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

खसीबोका र च्यांग्राको मूल्य सस्तिएकै हो त ?


October 6, 2024
7.1k
Shares

काठमाडौं,२० असोज । गत वर्ष दसैंमा ल्याइएका खसीबोका बिक्रीवितरण गर्न नसकेपछि खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालि खसीबोका र च्यांग्राको मूल्य घटाएको छ ।

खसीबोका प्रतिकेजी ६७० र च्यांग्रा १२३० रुपैयाँ

विगतका वर्षभन्दा खसीबोका र च्यांग्राको माग घट्दै गएपछि निजी क्षेत्रले पनि मूल्य घटाइरहेको छ । सरकारको कम्पनीका रूपमा रहेको खाद्यले भने दसैंमा मूल्य एकरुपता ल्याउन खसीबोकाको मूल्य निर्धारण गरी बिक्रीवितरण गर्दै आएको छ ।

मासु खाने पुस्ताका रूपमा रहेका युवापिंढी मुलुकबाहिर र मुलुकभित्र आर्थिक मन्दी छाएकाले मासुको माग घट्दै गएपछि खसीबोका र च्यांग्राको मूल्य घटाइएको हो ।

यस वर्ष जिउँदो खसीबोकाको मूल्य ६ सय ७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्यांग्र्राको प्रतिकेजी १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ । यसमा पनि १० रुपैयाँ छुट दिने खाद्यले जनाएको छ । गत वर्ष खाद्यले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० कायम गरेको थियो भने च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २ सय ६० रुपैयाँ निर्धारण गरेको थियो ।

यसपालिका लागि १ हजार ५ सय खसीबोका बिक्री गर्ने तयारी खाद्यको छ । च्यांग्रा ३ सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । शनिबार खसीबोका थापाथलीमा झारिए पनि च्यांग्रा भने ल्याइएको छैन । खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंमा बेच्न मकवानपुरबाट २ सय ८ वटा खसीबोका ल्याइएको जनाएको छ ।

खाद्यले आइतबारबाट मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट ल्याइएका यी खसीबोका र च्यांग्र्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौं परिसरबाट बिक्री गर्नेभएको छ । नवमीको दिनसम्म खसी बोका र च्यांग्र्रा बिक्री गर्ने खाद्यले जनाएको छ ।

उता निजी क्षेत्रले भने यसपालिको दसैंमा ३५ हजारको संख्यामा खसी बोका ल्याउने जनाएको छ । मुस्ताङमा बढी च्यांग्रा उत्पादन भएपछि व्यापारीहरूले यसपालि च्यांग्राको मूल्य घटाएका छन् ।

गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरिएकामा यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरिएको छ ।

गत वर्ष काठमाडौं पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्यांग्राको मूल्य यसपालि ४५ हजारभन्दा कम पर्नेछ । यस वर्ष दसैंका लागि मुुस्ताङबाट १० हजार च्यांग्रा बिक्री हुने अनुमान गरिएको छ ।

२०८० सालमा ७ हजार, २०७९ सालमा ६ हजार ८ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्यांग्रा निकासी भएको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रको तथ्यांक छ ।

पशुसेवा विभागका अनुसार तीन वर्षअघिको दसैंमा ६० हजार खासीबोका काठमाडौं उपत्यका भित्रिएका थिए । यसपटकको दसैंमा ३० देखि ३५ हजार मात्र खसीबोका खपत हुने अनुमान व्यवसायीले गरेका छन् ।

निजी व्यापारीले विभिन्न जिल्लाबाट ३०–३५ हजार खसीबोका ल्याउने अनुमान गरेको छ । खाद्यव्यवस्था तथा व्यापार कम्पनीले पनि यस वर्षको दसैंमा १ हजार ८ सय मात्र खसीबोका र च्यांग्रा बिक्री गर्ने उल्लेख गरेको छ ।

पशुसेवा विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक ६ लाख ५८ हजार खसीबोका उत्पादन हुन्छन् । यसमध्ये कृषकले दसैंलाई लक्षित गरी ३ लाख २९ हजार खसीबोका उत्पादन गर्छन् ।

काठमाडौं चौपाया खरिदबिक्री संघका अनुसार खसीबोका ल्याउने प्रमुख जिल्ला दाङ, गोरखा, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, सिराहा, सप्तरी, सर्लाही, कैलाली, सुर्खेत, बर्दिया, उदयपुर, सिन्धुली, इलाम, उदयपुर, बैतडी, जाजरकोट, सल्यान, जनकपुर, रामेछाप, ओखलढुंगा हुन् । राजधानी दैनिकबाट

प्रतिक्रिया