८ आश्विन २०८१, मंगलबार | September 24, 2024

पूर्वडीआईजी जोशीको बयान आजदेखि


September 24, 2024
332
Shares

काठमाडौं,८ असोज । सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी पाँच दिन हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालतले उनलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक सेयरहोल्डर तथा सञ्चालकसमेत रहेका पूर्वडीआईजी जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई आइतबार राति नै बुद्ध एयरमार्फत पोखरा ल्याएर सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकामा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले म्याद थपको अनुमति दिएको हो ।

म्याद थपमा हाललाई ‘सहकारी ठगी’ मुद्दा उल्लेख भएकामा अनुसन्धानका क्रममा थप कसुरसमेत आकर्षित हुनसक्ने कानुनविद् बताउँछन् । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जोशीलाई शंखमूलबाट पक्राउ गरेको थियो । काठमाडौं–१ नक्साल घर भएका ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचनाका आधारमा तत्काल उनीविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा जोशीले आफूलाई हिरासतमा नराखीकन मुद्दा लड्न पाउनुपर्नेमा माग गरेका थिए । जोशीको पक्षबाट मुद्दा लडेका न्यायाधीश रोहितराज बास्तोलाले जोशीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँले आफ्नो पासपोर्ट अदालतले राखे हुन्छ भन्दै आफू देश छाडेर बाहिर नजाने, हिरासतबाहिर रहेर मुद्दा लड्ने र अनुसन्धानमा सघाउने बताउनुभएको थियो, यद्यपि, म्याद थप भएको छ ।’ उनले आफू भागेर जाने भए पहिले नै देशबाहिर जानसक्ने बताउँदै जरुरी पक्राउ पुर्जी आवश्यक नभएको जिकिरसमेत गरेका थिए । जोशीले आफू व्यक्तिगत रूपमा दोषी नभएको दाबी गर्दै तारेखमा रहेर मुद्दा लड्न माग गरेका थिए । सूर्य दर्शन सहकारीको पैसा आफूले नचलाएको र पहिले नै गोर्खा मिडिया छाडेको समेत जिकिर गरेका थिए । खासमा उनको बयान भने मंगलबारदेखि मात्र सुरु हुनेछ ।

पोखरा–४ नालाकोमुखस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालि ९ग्यालेक्सी फोर के टिभी०मा लगानी गरी सहकारी ऐनको परिभाषित ठगीसम्बन्धी कसुरमा जोशी संलग्न रहेको कसुर छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० वसन्तकुमार शर्माले अदालतबाट म्याद थपसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार अब जिल्ला सरकारी वकिलको उपस्थितिमा बयान लिने प्रक्रिया अघि बढ्नेछ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपीनराज तिवारीले मंगलबारदेखि बयान लिइने बताए । अर्को म्याद थप हुने बेलासम्म बयान लिएर जानुपर्ने प्रावधान रहेको सहायक जिल्ला न्यायाधिवक्ता तिवारीले बताए । उनका अनुसार सुरुमा म्याद थप हुँदा उल्लिखित मुद्दामा बयान लिइन्छ, बयानका क्रममा अन्य तथ्य खुल्दै गए अरू मुद्दा पनि आकर्षित हुन सक्नेछन् ।

कानुनविद्का अनुसार जोशीमाथि सहकारी ठगीका अलावा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान अघि बढ्ने देखिन्छ । यदि, त्यसो भए उनी कम्तीमा २५ दिन प्रहरी हिरासतमा बस्नेछन् ।

देशका विभिन्न पाँच सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी सञ्चालक हुँदा पोखराको सूर्य दर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट सो रकम लगिएको उल्लेख छ । गोर्खा मिडियामा सूर्य दर्शनको मात्रै ५ करोड रुपैयाँ गएको देखाइएको छ ।

सूर्य दर्शन सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीविरुद्ध सहकारी ठगी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । सुरुमा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई सुरुमा प्रतिवादी बनाइएकामा पछि, सूर्य दर्शन सहकारीपीडितले गोर्खा मिडिया, रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, दीपेश पुन, नेत्रपाणि बास्तोलासहित ४ व्यक्ति र १४ संस्थालाई विपक्षी बनाएर गत वर्ष २२ माघमा पूरक जाहेरी दिएका थिए ।

सूर्य दर्शनसहित विभिन्न सहकारीको रकम अपचलन’दयगत संसदीय छानबिन समितिले सहकारी अध्यक्ष गितेन्द्रबाबु ९जीबी०राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो । तीमध्ये रम्तेल कास्की जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०मा रेड नोटिस जारी छ । लामिछाने भने पक्राउ परिसकेका छैनन् । राजधानी दैनिकबाट

प्रतिक्रिया