८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राजनीतिक रूपमा परिवर्तन हुन नसकेको युवा पुस्ता !


August 22, 2024
3.6k
Shares

संजिब गुरुङ्ग । इतिहास र समग्र परिवेशलाई हेर्ने हो भने युवा पुस्ताको पहिचान हरेक क्षेत्रमा उदाहरणिय देखिन्छ । समय सँगसँगै आएको परिवर्तन र परिवर्तन सँगै आएको विचलनले युवापुस्ता अब कहाँ जाने हो अन्योलमा छ । विशेषतः राजनीतिक रूपमा सफल नहुँदा युवा पुस्ताहरूमा निराशा छाएको देखिन्छ । अघिल्लो पुस्ताले राजनीतिक रूपमा नयाँ पुस्तालाई सचेत गराउन र प्रशिक्षण दिन नसक्दा देशको भविष्य अन्योलता छ नै युवा पुस्ताको भविष्य पनि अझै झन् अन्योलमा परेको छ । देशमा कुनै पनि सम्भावनाको अवस्था सिर्जना नहुँदा दैनिक जसो सपना किन्नको लागि परदेशिनेको लर्को धेरै बाक्लै देखिन्छ ।

समय चक्रसँगै फेरिएको कालखण्डहरू,नयाँ परिवर्तनका स्वरूपहरू र परिवर्तनसँगै आएका विकृतिहरूले समाजलाई बेग्लै दिशातिर धकेलिएको छ । युवा पुस्तामा विचलन आउनुको कारण युवाहरुको मानसिक रूपमा नआएको परिवर्तनले गर्दा साल र समय फेरिएपनि पुरानै प्रकृति र प्रविधिका संरचनाहरूले जरा गाड्नुले हो भनेर अनुमान लगाउन गाह्रो छैन् ।

मानसिक रूपमा सबल र सक्षम नहुँदा युवा पुस्तालाई धेरैले प्रयोग गरेको मात्र देखिन्छ । युवा पुस्तालाई परिवर्तनको रूपमा नहेरी युवालाई जहाँ लगे त्यही लैजान सकिन्छ भन्दै भर्याङको रूपमा प्रयोग मात्र गरेको देखिन्छ । हरेक प्रकारको समाजिक कार्यक्रमहरूमा युवा पुस्ताको बाक्लै उपस्थिति देखिन्छ तर युवा पुस्ताको सम्मान भने देखिँदैन ।

हरेक प्रकारको विपत्ति होस् या जस्तोसुकै परिस्थितिमा युवाहरु त्यहाँ पुग्ने गर्छन् तर युवा पुस्ता सचेत नहुँदा त्यहाँ पनि कसैले फाइदै लुटिरहेको मात्र देखिन्छ । हरेक परिस्थितिसँग जुध्ने त्यो युवा शक्ति अब मानसिक रूपमा सफल हुने बेला आएको छ । युवा शक्ति अब समाज परिवर्तन गर्न सक्ने एउटा बिद्रोही शक्तिको रूपमा उदाउने बेला भएको छ । देशमा भइरहेको राजनीतिक विचलनमाथि अब पनि युवाहरु शक्तिको रुपमा नउदाँए समग्र देशमा नै नैराश्यता थपिनेछ । जात र धर्मको नाममा वर्गीकरण गरी समग्र युवा पुस्तालाई पनि त्यही लडाईमा लडाउने खेल पटक–पटक हुँदै आएको छ ।

अब यथार्थलाई हेर्ने हो भने समग्र युवा पुस्ता सचेत भइ राष्ट्र  र समाज निर्माणमा अग्रसर हुने बेला भएको छ । नत्र हाम्रै छिमेकी देशहरूबाट सल्किएको आगो श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान यावत देशहरूमा भएका जस्तै उच्छृखंल गतिविधिहरूमा युवा पुस्ता लाग्नेछ । र, राष्ट्रको पहिचान मेटिनेछ सचेत नभई ल्याएको परिवर्तनले देशमा कहिले शान्ति छाउने छैन् । त्यसको उदाहरण बङ्गलादेशमा प्रष्टै देखिन्छ, परिवर्तन त आयो तर शान्ति आएन,जातिय रूपमा देखिएका नाराहरू सडकमा यत्रतत्र दौडिएको देखिन्छ । आज नेपाली भूमिमा पनि परिवर्तन खोजिएको छ,परिवर्तन गर्नु पर्नेछ,परिवर्तन गर्नुभन्दा पहिले आम नागरिक सम्पूर्ण युवा पुस्तामा मानसिक रूपमा परिवर्तनको चेतना आउनु आवश्यक छ ।

नत्र हामीले हानेका ढुङ्गा हामीले बालेका ती टायरहरूको धुवाको मुस्लाले देशमा शान्ति सु–व्यवस्था कायम गर्ने छैन शान्ति सुरक्षा अस्तव्यस्त हुनेछ प्रदेशमा अशान्तिमा चिर्नेछ र पछिल्लो पुस्ताले त्यही सिको गर्नेछन् । आजसम्म पनि उही पुरानै पुस्ताहरू सत्ता प्राप्तिको लागि दैनिक लडाईमा व्यस्त रहँदा हाम्रो पहिचान मेटिनेछ । नयाँ पुस्ता हामीजस्ता युवाहरू उनीहरूकै भर्याङकै रूपमा उनीहरूलाई नै बढाइ चढाइ गरेर नेताहरुकै अघि पछि कुदेको मात्र देखिन्छ । जति पनि देशमा कर्म गरिरहेका युवाहरु छन् अब सचेत भई आफ्नो देश,आफ्नो हक र हितका लागि लड्ने बेला भएको छ ।

लड्ने भनेको कसैलाई काट्नुपर्छ र मार्नुपर्छ भन्ने होइन । यो भन्नुको अर्थ मानसिक रूपमा आफू सचेत भई परिवर्तनको लागि लड्ने र परिवर्तन ल्याउने बेला भयो ।  नत्र प्रजातन्त्र,गणतन्त्र आएको देशमा युवा पुस्ताहरू सधैँ दासको रूपमा सीमित रहनेछन् । हामीभन्दा अग्रजको सम्मान, सबै साथीभाईहरुलाई मिलाउन सक्ने र पछिल्लो पुस्तालाई माया गर्न सक्ने युवा नेतृत्व अबको ट्टकालो आवश्यकता हो । समयको माग अनुसारको नेतृत्वको खोजि गर्ने अब हाम्रो यो पुस्ताको काँधमा महत्वपुर्ण जिम्मेवारी आएको छ ।

जब युवा पुस्तामा नयाँ सोच र नयाँ परिवर्तनको रेखा कोरिने छ देशमा नयाँ नीति बन्नेछ । सम्पूर्ण प्रशासनिक संयन्त्रहरु सही दिशामा चल्ने छन् र सही कर्म गरिनेछ, होइन भने त्यही बिचौलियाहरू र दलालहरूले राज गर्नेछन् । उनै दलाली राजले नै स्थायी रूपमा डेरा जमाउने छ र युवा पुस्ताहरू सधैं लाचार भई सपना किन्न अर्काकै देशतिर लम्किनु पर्ने छ । जयदेश,जय राष्ट्रबाद ।
(गुरुङ्ग नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)

 

प्रतिक्रिया