८ आश्विन २०८१, मंगलबार | September 24, 2024

उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्नेमा विज्ञहरुको जोड


3.1k
Shares

काठमाडौं,२५ साउन । उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्नेमा शिक्षाविदहरुले जोड दिएका छन् । जयनेपाल फाउन्डेशनले आयोजना गरेको ‘उच्च शिक्षाका चुनौती र यसका समाधान’भन्ने अन्तक्रिया कार्यक्रममा वक्ताहरुले शिक्षामा सुधार जरुरी रहेको निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले राजनैतिक दलका पछि लागेका प्राध्यापक अलग संगठन तर विचार र व्यवहार एकै खालका हुने बताउनु भयो । जसका कारण समाजमा विरोधाभास सृजना भएको उहाँको भनाइ थियो । “व्यक्तिका ज्ञानसँग विज्ञान जोडेर शिक्षा निति बनाउनुपर्छ । विद्यार्थी कम भए भनेर चिन्ता नगरौं, अन्तराष्ट्रिय रुपमा प्राक्टिस पनि छ, विश्वविद्यालय मर्ज गर्ने र क्याम्पस मर्ज गर्ने तर शिक्षा स्पष्ट व्यवहारोपयोगी हुनुपर्छ । शिक्षा आफैमा सम्भावना देखाउने खालको पनि हुनुपर्दछ ।”,उहाँले भन्नुभयो “विद्यार्थी आमने सामने नै हुनुपर्छ भन्ने होइन,अनलाइन शिक्षा संचालन गर्न सकिन्छ । विद्यार्थीको क्षमता परिवर्तनशिल हुन्छ आज नपढ्ने भोलि पढ्ने र आज पढ्ने भोलि नपढ्ने पनि हुन सक्छ । शिक्षा लिन उमेर हद किन चाहियो र ? पाको उमेरमा पनि पढ्ने ईच्छा हुन सक्छ । अध्ययन तेस्रो पुस्ताअनुसारको हुनुपर्दछ । पठनपाठन भूगोल र देशको उन्नयनका लागि हुनुपर्दछ । अब नकारात्मक कुरा गर्न छाड्नुपर्छ ।”

नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षामा सुधार आवश्यक रहेको बताउनु भयो । “शिक्षामा सुधार जरुरी छ । गुणात्मक सुधार जरुरी छ । पास भएको संख्या ५२ प्रतिशत त्यसमा आधा विदेश जान्छन्।शिक्षा उद्यमशीलता सहितको हुनुपर्छ।म नेकाको शिक्षा विभागमा छु अब हामी केही गर्नुपर्छ भन्नेमा छु।”,उहाँले भन्नुभयो,“सुधार हुन्छ र गर्नुपर्छ।विदेश जाने पलायन हुने सम्भावना छ त्यसलाई शिक्षाले सम्बोधन गर्नुपर्दछ । शिक्षालाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने निति बनाउनुपर्छ।“

त्रिभुवन विश्वविद्यालय सभाका सदस्य अंगदमणि गौतमले विदेश पढ्न जाने विद्यार्थी विदेश पलायन रोक्न राज्यको ध्यान जान जरुरी देखिएको धारणा राख्नुभयो । त्यसैगरी,नेपाल प्राध्यापक सङ्घका सभापति रमेश जोसीले पाठ्यक्रम निर्माण गर्दा नेपाली हावापानी सुहाउँदो बनाउनुका साथै मौलिकतामा विषेष ध्यान दिनु पर्नेमा जोड दिुनभयो ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका उपाध्यक्ष कृष्णकान्त पराजुलीले एउटै शिक्षकले पढाउने सरकारी र नीजि कलेजका विद्यार्थीले नतिजा फरक ल्याउने बताउनु भयो । उत्कृष्ट नतिजाको लागि ब्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

संस्कृत विश्वविद्यालयका प्राध्यापक शान्तिकृष्ण अधिकारीले पदाधिकारीहरु नै एकापसमा मिल्न नसकेको भन्दै शिक्षा क्षेत्रको सुधारको कल्पना गर्न पनि नसकिने टिप्पणी गर्नुभयो । यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लोकनाथ दुलालले सरकार र नेपालका विश्वविद्यालयका पदाधिकारीले जिम्मा लिनुपर्नेमा आफै समस्या बनेर प्रस्तुत भएको धारणा राख्नु भयो । उहाँले mप्राध्यापक सङ्घ संगठनले नीति निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, संस्कृत विश्विद्यालय प्राध्यापक सङ्घका उपसभापति विष्णु पन्थीले दलको घोषणापत्रमा पनि फ्रि शिक्षा,फ्रि स्वास्थ भनेपनि व्यवहारमा लागु नभएको गुनासो गर्नुभयो । सिद्धान्त र व्यवहारमा एकरूपता नहुनुले समस्या सृजना भएको उहाँको भनाइ थियो ।

नेपाल कमर्स क्याम्पस मिनभवनका प्राध्यापक चन्द्रदीप लामिछानेले पूर्वीय दर्शन शिक्षामा ध्यान दिनुपर्ने बताउनु भयो । अरुको नक्कल मात्र गरेर अगाडी बढ्न नहुनेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा संस्कृत विश्वविद्यालयका सभासद प्रा.डा नारायण चालिसे, त्रिभुवन विश्वविद्यालय प्राध्यपक सङ्घका सभापति वसन्त ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सभापति मुकुन्द लामिछाने,प्राध्यापक भावुकराज न्यौपाने, भुमा पाण्डे, गोविन्द गुरागाईं, रामचन्द्र अधिकारी,राजेन्द्र राज वाग्ले,अधिवक्ता समीप घिमिरे, सभासद विष्णुकुमारी सापकोटा, नेपाल पब्लिक क्याम्पस संघका शत्रुघ्नप्रसाद गुप्ता,जय नेपाल फाउण्डेसनकी ज्ञानु तिमल्सिना, तारा खड्कालगायतले धारणा राख्नुभएको थियो।

जय नेपाल फाउण्डेसनको विचार निर्माण कक्षमा शुक्रबार प्रा.डा धनेश्वर नेपालको संयोजकत्वमा सो वैचारिक छलफल कार्यक्रम संचालन भएको थियो।

प्रतिक्रिया