२२ भाद्र २०८१, शनिबार | September 8, 2024

ओलीले एस फुटाउन खोजेको सुइँको पाएपछि माधव नेपाल सतर्क


1.7k
Shares

काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई तनाब बढेको छ । नेपाल ओलीले पार्टी फुटाउने हुन् कि भनेर चनाखो समेत बनेका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपालले आफ्ना विश्वासपात्रहरुलाई सतर्क रहन भनेका छन् । उनले सार्वजनिक रुपमा बिहिबार आफूहरुविरुद्ध षड्यन्त्र भइरहेको बताए । उनले त्यसमा चनाखो रहन समेत भने ।

नेपालले भने, हाम्रा विरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने सुन्नमा आइरहेको छ । त्यस आधारमा पूर्ण सतर्कता अपनान’पर्छ । हामीले राजनीतिक दल र शक्तिहरुसँग संवाद जारी राख्नुपर्छ ।

नेपाल नेतृत्वको नेकपा एससँग १० सांसद छन् । तीमध्ये केही सांसद माधव नेपालसँग रुष्ट छन् । विशेषगरी प्रेम आलेले त खुलेरै असन्तुष्टि जनाएका छन् । किसान श्रेष्ठ पनि असन्तुष्ट बनेको बुझिएको छ ।

एसका केही सांसदलाई तान्ने र जसपालाई पनि एमालेमा जोड्ने योजना ओलीले बनाएको चर्चा छ । यसरी एमालेलाई सबैभन्दा ठूलो दल बनाउने भित्री योजना ओलीको छ ।
विगतमा पनि ओलीले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउन खोजेका थिए तर सफल भएनन् । प्रचण्ड प्रधानमन्त्री हुँदै जसपा नेपाल फुट्नुमा ओलीको पनि भित्री योजना रहेको चर्चा छ ।

विगतमा एउटै पार्टीमा रहेका केपी ओली र माधव नेपालबीच चीसो सम्बन्ध छ । ओलीलाई माधव नेपालको दल नेकपा एसले विश्वासको मत पनि दिएन ।

प्रतिक्रिया