८ आश्विन २०८१, मंगलबार | September 24, 2024

महिला संघको भवनको देउवाले शिलान्यास गर्ने


166
Shares

काठमाडौं, ३० असार । नेपाल महिला संघले ३ तले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बहुप्रतिक्षित भवन निर्माण गर्ने भएको छ । योगा हलसहित अति सुविधा सम्पन्न निर्माण हुन लागेको भवनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी साउन २ गते बुधबार बिहान ११ बजे संघको केन्द्रीय कार्यालय मंगलानगर धापासीमा शिल्यान्यास गर्ने अध्यक्ष उषा राउत मिश्रले जानकारी दिनुभयो ।

संघको नयाँ भवन निर्माणमा पूर्व शहरी विकास मन्त्री सीता गुरुङ लगायतले महत्वपुर्ण भूमिका निभाउनु भएको छ । गुरुङ कांग्रेस केन्द्रीय सदस्य समेत हुन् ।  नयाँ भवनभित्र, योगा हल र टपमा खाजा घर समेत संचालन हुनेछन् भने एक भागमा लोप हुन लागेको हिटी (धारा) र हरित पेटिका हुनेछन् ।

अध्यक्ष मिश्रका अनुुसार नयाँ भवनमा संघमा स्थापनाकालदेखि आबद्ध भएका महिला नेताहरुको रिर्सच सेन्टरको रुपमा जीवनी झल्काउने तस्बिरहरु, इतिहास बोकेका संघर्षका तस्बिर, देश परिवर्तनका लागि गरिएका संघर्षका कथाहरु,विभिन्न आन्दोलनका परिघटनाहरु साथसाथै भावी पुस्ताका लागि प्रेरणा मिल्ने खाल्का डकुमेन्ट्रीहरु र स्थापनाकाल देखि हालसम्मका केन्द्रीय सदस्यहरुको नामावली राखिनेछ ।

अन्तर्राष्ट्रिय स्तरको र विश्वसम्पदा सूचीमा पर्ने खालको आकर्षक भवन निर्माण गर्न लागेको जानकारी दिंदै अध्यक्ष मिश्रले बाहिरी भागका प्रत्येक भित्तामा संघमा योगदान दिएका महिलाहरुको वृत्तचित्र र भनाइहरु पनि अक्षरस राखिने बताउनु भयो । त्यसैगरी हरियाली गार्डेनसहित बाहिरको भागमा ५ वटा व्यवसायिक हिसाबले सटर निर्माण गरिनेछन् । विशेष गरी बाचुन्जेल महिला संघ जीवित छ भन्ने देखाउने र पछिल्ला पीढिहरुले कार्यालय संचालन गर्न कुनै पनि बाधा व्यवधान झेल्न नपरोस् भन्नका लागि संघले पछिल्लो समय काम गरिरहेको मिश्रले बताउनु भयो ।

त्यसैगरी, भवन प्रवेश गर्नासाथ महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको शालिक र दिंवगत भएका संघका अन्य महिला नेताहरुको शालिक राख्ने योजना रहेको संघकी केन्द्रीय सदस्य चिनु पोखरेलले बताउनु भयो ।

बन्न लागेको बहुप्रतिक्षित भवनभित्र अन्डरग्राउण्डमा पार्किङ, पहिलो तलामा सम्पर्क कार्यालय,पुस्तकालय,पुस्तक अध्ययन गर्ने हल र सानो–सानो भेला गर्ने हल रहनेछन् भने दोस्रो तलामा पदाधिकारीहरुको छुट्टाछुट्टै कोठा र सदस्यहरुको संयुक्त कोठा रहनेछ ।

त्यसैगरी तेस्रो अर्थात माथिल्लो तलामा ४ सय जना अट्ने सुविधा सम्पन्न हल, बाहिरी जिल्लाबाट आउने महिलाहरुको बासस्थानको सुविधाका लागि कोठा पनि छुट्टाइने पोखरेलको भनाइ थियो । भवन निर्माणपछि महिला संघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा अधिवेशनहरु पनि सोही हलमा गर्ने लक्ष्य राखिएको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया