३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

देउवा–शेखरसहित हेभिवेट नेताहरू महाधिवेशनबाटै बाहिरिने खतरा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको राजनीतिक विवाद अब केवल गुटगत असन्तुष्टिमै सीमित छैन, यो प्रत्यक्ष रूपमा १५औँ महाधिवेशनको टिकट काट्ने तहमा पुगेको छ। क्रियाशील सदस्यता अद्यावधिक नगरेका कारण पार्टीका प्रभावशाली नेताहरू नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिममा परेका छन्।

सबैभन्दा रोचक कुरा के छ भने, यो जोखिम सामान्य कार्यकर्ताको होइन, निवर्तमान सभापति शेरबहादुर देउवा, उनका पुराना प्रतिद्वन्द्वी डा। शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइरालालगायतका ‘हेभिवेट’ नेताहरूको टाउकोमाथि झुण्डिएको छ।

पार्टी नेतृत्वले स्पष्ट सन्देश दिएको छ– “सदस्यता अद्यावधिक नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन।” यसले कांग्रेसभित्रको शक्ति संघर्षलाई थप पेचिलो बनाएको छ।

महामन्त्री प्रदीप पौडेलले अद्यावधिक नगरी कांग्रेसको सदस्य भएर भूमिका निर्वाह गर्न नसकिने प्रष्ट पारेका छन्। अर्का महामन्त्री गुरूराज घिमिरे पनि उही अडानमा छन्। उनीहरूको भनाइले अब प्रश्न उठाएको छ– पार्टीभन्दा माथि कोही छ कि छैन रु

यता संस्थापन इतर समूह भने सदस्यता अद्यावधिकको विषयलाई राजनीतिक दबाबको अस्त्र बनाउँदै आएको देखिन्छ। तर समयसीमा सकिँदासम्म पनि आफ्नै सदस्यता नवीकरण नगरेर बसेका नेताहरू अहिले आफैं अप्ठ्यारोमा परेका छन्।

राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ– “महाधिवेशन रोक्न खोजिएको हो कि नेतृत्वसँग बार्गेनिङ गर्न खोजिएको हो रु”

पार्टी प्रवक्ता देवराज चालिसेले पनि अधिवेशन र सदस्यता अद्यावधिकको विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार विधानले सबैलाई एउटै नियममा बाँध्छ, कसैलाई विशेष छुट दिने व्यवस्था छैन।

यद्यपि, नेतृत्व र असन्तुष्ट समूहबीच सहमति जुटे सदस्यता अद्यावधिकको विषय पुनर्विचार हुन सक्ने संकेत महामन्त्री घिमिरेले दिएका छन्। यसले कांग्रेसभित्र अन्तिम क्षणसम्म ‘राजनीतिक डिल’ को ढोका खुला रहेको देखाउँछ।

यसबीच पार्टीको डिजिटल सदस्यता अभियानमा भने उल्लेखनीय सहभागिता देखिएको छ। कांग्रेसका पाँच लाख ३८ हजारभन्दा बढी सदस्यले ‘एनसी आईडी’ प्राप्त गरिसकेका छन् भने झण्डै डेढ लाख सदस्यको प्रक्रिया जारी छ। यसले कांग्रेसको संगठनात्मक संरचना डिजिटल प्रणालीमा रूपान्तरण हुने संकेत दिएको छ।

तर सबैभन्दा ठूलो प्रश्न अझै बाँकी छ– यदि सहमति भएन भने के देउवा, शेखर र उनीहरूका विश्वासपात्र नेताहरू आफ्नै पार्टीको १५औँ महाधिवेशन हेरेर बस्ने अवस्थामा पुग्लान् रु

कांग्रेसभित्र अहिले यही प्रश्नले राजनीतिक तरंग सिर्जना गरेको छ। सदस्यता अद्यावधिकको प्राविधिक विषय अब शक्ति, प्रतिष्ठा र नेतृत्वको लडाइँमा रूपान्तरण भएको छ। आगामी दिनमा सहमति जुट्छ कि ‘सदस्यता बम’ ले कांग्रेसका शीर्ष नेताहरूलाई नै महाधिवेशनबाट बाहिर फाल्छ, त्यसले पार्टीको भविष्यको दिशा तय गर्नेछ।

प्रतिक्रिया