१२ श्रावण २०८१, शनिबार | July 27, 2024

समाजमा युवामाथि लाग्ने आरोप ‘गुण्डा’


124.2k
Shares

संजिव गुरुङ । हरेक कालखण्डलाई नजिकबाट हेर्ने हो भने परिवर्तन होस् या विनाशमा युवाको भुमिका महत्वपुर्ण देखिन्छ । युवापुस्ता समाजको दरिलो खम्बाको रुपमा चिनिन्छन् ।

परिवर्तित समय सँगसँगै युवा पिढि हरेक क्षेत्रमा आफ्नो कला देखाउन तल्लिन देखिन्छ । चाहे खेल होस् या राजनिति या श्रम बेच्न अर्काको देश होस् या राष्ट्र सेवा युवाको भुमिका अतुलनिय देखिन्छ । यी यावत कुरालाई हेर्दा युवा समाजको सपना हो,परिवर्तनको बाहक हो । तर नेपाली समाजमा शारिरीक रुपले तन्दुरुस्त र नयाँ सपना बोकेर हिडेका युवालाई समाजले (गुण्डाको) उपनाम दिंदा नयाँ पुस्तामा निराशा पैदा भएको देखिन्छ ।

समाज परिवर्तन सँगै केही अवसरवादीहरु युवालाई स्वार्थको लागि प्रयोग गर्न तल्लिन देखिन्छ र समय अनुकुल फरक शैली अपनाएको देखिन्छ । हरेक बाहनामा लोभ र लालच देखाई युवाको भविष्यमा दरार पैदा गरिएको छ । शारिरिक र मानसिक रुपमा तन्दुरुस्त युवालाई समाजले गुण्डाको ट्याग लगाउँदा हरेक दिन प्रशासनबाट हैरानी खेप्न बाध्य देखिन्छ । त्यही युवा राष्ट्रसेवकको बर्दी लगाउँदा हेर्ने नजर धेरै फरक देखिन्छ । प्रत्येक राजनितिक दलमा आवद्ध रहेर झण्डा बोक्दा कार्यकर्ता हुने, आफु अनुकुल हुँदा मेरो र नयाँ विचार प्रकट गर्दा गुण्डा भन्ने शब्दले युवा पुस्तामा नैरस्यता छाएको देखिन्छ ।

३–३ महिनामा हुने सरकार परिवर्तन, सरकार परिवर्तन सँगै हुने प्रशासन हेरफेरले सोचे जस्तो काम गर्न नसक्दा युवा वर्गलाई विभिन्न आरोप लगाई दुख दिन व्यस्त देखिन्छ । प्रत्येक दिन देखिने चोरी, डकैती, लागुपदार्थ सेवन, बेचविखन, भ्रष्टाचारी र अन्य समाजमा आतङ्कित बनाउँनेहरुलाई ध्यान नदिई चोक र घरमा बसेका युवालाई मानसिक पिडा र सामाजिक पिडा दिन प्रशासन तल्लिन देखिन्छ र सो कुरामा सरोकारवाला र अधिकारकर्मीहरुबाट आवाज नउठेको देखिन्छ ।

प्रत्येक ३–३ महिनामा सरकार बदल्दै गर्दा सत्तामा बसी नीति र नियमलाई आफुखुसी,आफुमुखी प्रयोग गर्दा सर्वसाधारण न्यायबाट बञ्चित हुँदै आएका छन् । राष्ट्रप्रति युवाले गरेको योगदानको कदर नहुदा, कानुनलाई गलत ढंगले प्रयोग गर्दा समाजमा युवापुस्ताले खेप्दै आएको आरोप दुख लाग्दो छ । शारीरिक रुपमा तन्दुरुस्त हुनु कतै युवाको लागि अभिशाप त हैन ?

जुन समाजमा हामी छौ त्यही समाजको युवाको आफु अनुकुल बनाई फाईदा उठाउँन तल्लिन फटाहाहरु चाहि समाजका गुण्डा हैनन् र ? प्रशासनले युवा पुस्तालाई गर्ने व्यवहारले युवा र प्रशासन बिच ठुलो दरार पैदा गरेको छ ।

अनावश्यक रुपमा पक्राउ गरी समाजिक संजालमा प्रचार गर्दा झन् युवाहरु गलत बाटोमा अग्रसर भएको देखिन्छ । सही दिशातिर हिडेको युवाको स्वभिमानमा आँच आउने काम राज्यबाटै भएको देखिन्छ । यही प्रवितिबाट प्रशासन चलाउने हो भने एकदिन समाजमा ठुलो द्वन्द सिर्जना हुन बेर लाग्दैन । राज्यमा बन्ने नीति,नीतिका पालक स्वयं भई अगाडी बढ्नु आजको आवस्यकता हो । युवा समाजको पुर्वाधार हुन् गुण्डा होईनन् ।
(गुरुङ्ग नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् ।)

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया