५ आश्विन २०८१, शनिबार | September 21, 2024

लुम्बिनीमा भारतीय राजदूतावासले गर्यो विविध कार्यक्रम


498
Shares

काठमाडौं, ९ जेठ । बुद्ध जयन्तीको शुभ अवसरमा भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा बुधबार लुम्बिनीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । पूर्वमध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात भयो। भारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरुले उक्त गोष्ठीमा सहभागीता जनाई आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार, अन्तर्दृष्टि साझा गरे । उनीहरुले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भए । लुम्बिनीमा बुद्ध जयन्ती मनाउने क्रममा यस विशेष कार्यक्रमको मुख्य आकर्षण लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ रहेको थियो।

‘भगवान् बुद्ध र उहाँका शिक्षाहरु’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गरेका थिए । जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीहरुले तयार पारेका उत्कृष्ट चित्रहरु राखिएका थिए। यी चित्रहरुमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरुलाई चित्रण गरिएको थियो।

बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित साँस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए। हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरुले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो। भारतकी कविता द्विवेदी र वहाँको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा। सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरुको मार्मिक प्रस्तुति र श्री सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरुको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो।

स्वागत मन्तव्यमा राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताए । नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरु हुन् जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरुमा फैलिएको थियो। राजदूतले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहनेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डुले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त साँस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरुको प्रशंसा गरे । उनले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले हाम्रा दुई देशबीचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताए । स्ता कार्यक्रम गर्वको स्रोत मात्र नभई ज्ञानको खजाना रहेको बताए । विभिन्न क्षेत्रबीचको सहकार्यले मजबुत बनाएको नेपाल र भारतबीच सदियौं पुरानो, बहुआयमिक सम्बन्ध रहेको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री् नारायणकाजी श्रेष्ठ, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री जोख बहादुर महरा, कैयौं वरिष्ठ प्रदेशीय नेताहरु लगायत लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा वरिष्ठ पदाधिकारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुका साथै सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भारतको सिक्किमको विस्तृत रुपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरुप प्रदान गरेका थिए ।

प्रतिक्रिया