इजरायल पठाइदिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंले आफ्नै पार्टीका केन्द्रीय नेतासम्मलाई ठगेको खुलासा
काठमाडौं । इजरायलमा रोजगारी दिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका रामेछापका कांग्रेस नेता भरत चौलागाईंले आफ्नै पार्टीका केही केन्द्रीय तहका नेतासमेतलाई ठगी गरेको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को अनुसन्धानका क्रममा चौलागाईं र पत्रकार बालिका शिवाकोटीबाट ठगीमा परेका थप व्यक्तिहरू पनि उजुरी लिएर आउन थालेका छन् ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताअनुसार केयरगिभरका रूपमा इजरायल जान छनोटमा नपरेका व्यक्तिलाई समेत पठाइदिने भन्दै उनीहरूले रकम संकलन गरेको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार इजरायल जानका लागि भएको लक्की ड्रमा नपरेका १५६ जनासँग प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाइएको थियो । यसरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया शिवाकोटी पक्राउ परेका थिए ।
प्रधानमन्त्रीको सचिवालयसम्म पहुँच रहेको दाबी
अनुसन्धानका क्रममा चौलागाईंले प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूसँग नियमित कुराकानी भइरहेको भन्दै पीडितलाई विश्वासमा लिएको खुलेको छ ।
प्रहरीलाई दिएको बयानमा शिवाकोटीले आफ्नो आफन्तलाई इजरायल पठाउने उपाय खोज्ने क्रममा चौलागाईंसँग भेट भएको बताएकी छन् । चौलागाईंले मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर छनोटमा नपरेकालाई समेत इजरायल पठाउन सकिने आश्वासन दिएको उनको भनाइ छ ।
प्रधानमन्त्रीको सचिवालयका व्यक्तिलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ बुझाउनुपर्ने भन्दै उम्मेदवारसँग ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाइएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।
चौलागाईंले मन्त्रिपरिषद् बैठकमा पेस गर्न तयार पारिएको टिप्पणीको प्रति आफ्नो हातमा परेको भन्दै शिवाकोटीलाई एउटा कागजसमेत देखाएका थिए । सोही कागज देखाएर शिवाकोटीले इजरायल जान इच्छुक व्यक्तिसँग रकम संकलन गरेको खुलेको छ ।
तर, प्रहरीले उक्त कागज नक्कली भएको जनाएको छ ।
३३ रकम उठाउने जिम्मा शिवाकोटीलाई
प्रहरीका अनुसार पीडितसँग रकम उठाउने जिम्मेवारी चौलागाईंले शिवाकोटीलाई दिएका थिए । रकम दिने व्यक्तिमध्ये एक जना शिवाकोटीकै आफन्तसमेत थिए ।
आफ्नो आफन्तलाई इजरायल पठाउन सकिने र आफूलाई पनि आर्थिक लाभ हुने प्रलोभनमा परेर शिवाकोटीले रकम संकलन गरेको अनुसन्धानरत प्रहरीको भनाइ छ ।
रकम दिएका ४० जनाले केही हप्तादेखि पैसा फिर्ता मागिरहेका थिए । तर, शिवाकोटीले मन्त्रिपरिषद् बैठकमा पेस गर्न तयार पारिएको भन्दै नक्कली कागज देखाएर उनीहरूलाई आश्वस्त पार्ने प्रयास गरेकी थिइन् ।
पीडितहरूले रकम फिर्ता नपाएपछि शिवाकोटीलाई केही समय नियन्त्रणमा लिएर रकम मागेका थिए । उनी केही दिन काठमाडौं उपत्यकाभित्रका होटल तथा रिसोर्टमा पीडितहरूसँगै बसेकी थिइन् ।
पीडितको दबाबपछि शिवाकोटीले चौलागाईंले पैसा लिएको बताएकी थिइन् । तर, चौलागाईंले भने आफूले रकम नलिएको भन्दै पन्छिएका थिए ।
‘जोसँग पैसा लिएको हो, उहीसँग माग्नुस्, मसँग छैन’, चौलागाईंले पीडितहरूलाई जवाफ दिएको प्रहरीको भनाइ छ ।
प्रेमिकामार्फत रकम व्यवस्थापन गरेको आशंका
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार चौलागाईंले उठाएको रकम आफ्नी प्रेमिकामार्फत व्यवस्थापन गरेको खुलेको छ । उनकी प्रेमिका पनि राजनीतिमा संलग्न रहेको बताइएको छ ।
यद्यपि, रकम व्यवस्थापनमा उनको संलग्नता र भूमिकाबारे थप अनुसन्धान भइरहेको छ ।
कांग्रेसका केन्द्रीय नेताहरू पनि उजुरी दिने तयारीमा
प्रहरीका अनुसार चौलागाईंले ठगी गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेताले मौखिक उजुरी गरिसकेका छन् ।
उनीहरू लिखित जाहेरीसहित प्रहरीसमक्ष उपस्थित हुने तयारीमा रहेको अनुसन्धानरत प्रहरीको भनाइ छ ।
इजरायलमा रोजगारी दिलाइदिने प्रलोभनमा रकम उठाएको प्रकरणमा थप पीडितहरू सम्पर्कमा आउन थालेपछि अनुसन्धानको दायरा विस्तार भएको छ । प्रहरीले रकम संकलन, व्यवस्थापन तथा ठगीमा संलग्न अन्य व्यक्तिको भूमिकाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


