५ आश्विन २०८१, शनिबार | September 21, 2024

ओलीको फण्डामा को को फस्लान् ?


498
Shares

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फण्डा निकाल्न खप्पिस रहेका उनका पूर्वसहकर्मी राधाकृष्ण मैनालीले पुस्तकमै उल्लेख गरेका छन् । ओलीको त्यो स्वभाव दुईपटक प्रधानमन्त्री भइसकेपछि पनि गएको छैन ।

ओलीले विगतमा अचानक कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको चुच्चे नक्शा जारी गर्न भूमिका खेले । त्यतिबेला उनी प्रधानमन्त्री थिए ।

रोचक त यो छ कि ओली भारतसँग भएको महाकाली सन्धी गराउन र संसदबाट पारित गराउन मुख्य भूमिका खेल्नेमध्येका हुन् । उक्त सन्धी गराएपछि नेपालले खरबौं आम्दानी गर्छ भनेर भ्रम फैलाए । तर, महाकाली सन्धी भएको २५ वर्ष बित्दा पनि डिपिआर समेत तयार भएको छैन । महाकालीमा राष्ट्रघात भएको भन्दै विवाद बढ्दा त्यतिबेला नेकपा एमाले नै फुटेको थियो ।

ओली पछिल्लो समय अचानक यु टर्न भएका छन् । भारतमा भारतीय जनता पार्टी सत्तामा आएपछि ओली यु टर्न भएर भारतविरोधी अभिव्यक्ति र गतिविधिमा लागिरहेका छन् ।
अयोध्यामा नरेन्द्र मोदीको पहलमा राम मन्दिर बनिरहँदा उनले ठोरीमा राम जन्मिएको भन्दै फण्डा निकाले । ठोरीमा राम मन्दिर निर्माण बढाए ।

अहिले भारतमा चुनाव चलिरहँदा ओलीले चुच्चे नक्शा सयको नोटमा निकाल्न दबाब दिए । प्रचण्ड सरकारले क्याबिनेटबाट यसलाई पारित गरेको छ । यसमा पनि ओलीकै फण्डा छ । चुच्चे नक्शा सयको नोटमा राख्ने निर्णयप्रति भारतले आपत्ति जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार तथा पूर्व गभर्नर चिरञ्जिवी नेपालले यो उपयुक्त समय होइन भनी आलोचना गरे ।

ओलीले फण्डा निकालिइरहँदा एक्टिभहरु समेत रियाक्टिभ हुन थालेका छन् । उनले सस्तो लोकप्रीयताका लागि मुद्दा उठाउने तर त्यसलाई कार्यान्वयन नगर्ने गर्दै आएका छन् । महाकाली सन्धीमा पनि उनले ठूलै सपना बाँडे तर पूरा गरेनन् ।

चुच्चे नक्शामा पनि उनले रणनीतिक लाभ मात्र लिइरहेका छन् । त्यसको जस आफूले लिने र अपजसको भारी अरुलाई बोकाइरहेका छन् । ओलीको यही फण्डामा प्रचण्ड, राजेन्द्र लिङ्देन मात्र नभई नयाँ शक्तिका रुपमा उदाएका रवि लामिछानेहरु पनि फस्दै गएका छन् ।

प्रतिक्रिया