४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बुढानीलकण्ठ-२ मा ४ जना जनप्रतिनिधिकै हस्ताक्षर किर्ते, वडाध्यक्षले नै किर्ते गरेको आरोप


February 3, 2024
19.8k
Shares

काठमाडौं,२० माघ । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना सार्वजनिक भएको छ । नगरपालिकाको वडा नं २ का चारजना जनप्रतिनिधिले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै नगरपालिकामा छानबिन तथा कारबाहीको माग गर्दै निवेदन पेश गरेसँगै हस्ताक्षर किर्तेको गम्भीर विषय सार्वजनिक भएको हो ।

बुढानीलकण्ठ वडा नं २ रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा बस्नका लागि वडाध्यक्ष राजेन्द्र श्रेष्ठसहित दुईजना व्यक्तिको नाम उल्लेख गर्नका लागि किर्ते हस्ताक्षर भएको निवेदनमा पेश गरिएको प्रमाणले देखाएको छ।

सोही किर्ते हस्ताक्षर भएको भनिएको निणर्यका आधारमा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले विद्यालय व्यवस्थापनमा जाने व्यक्तिहरू भनेर नगरपालिकालाई पत्र काटेको पाइएपछि किर्ते काममा वडाध्यक्ष श्रेष्ठको हात रहेको भन्ने विषय मजबुत भएको हो ।

वडा नं २ का वडा सदस्यहरू राम विनोद लामिछाने, राजकाजी श्रेष्ठ, पार्वती श्रेष्ठ तथा सीता सुनारले दिएको संयुक्त निवेदनमा गत जेठमा भएको एक बैठकको निर्णयमा आफ्नो हस्ताक्षर किर्ते भएको प्रमाणसहित नगरप्रमुख मिठाराम अधिकारीलाई निवेदन दिएका हुन् । उनीहरूले निवेदनमा किर्ते गर्नेमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

४ जना निर्वाचित जनप्रतिनिधिले प्रमाणसहित दिएको निवेदनमा विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोटजस्तो गम्भीर विषय प्रस्तावमा नराखी छलफल नगराइ जालसाझीपूर्ण रूपमा गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा वडा समितिको निणर्य बमोजिम प्रतिनिधि छनोट गरियो भनि फर्जी निर्णय गराई फर्जी पत्राचार गरी विद्यालय व्यवस्थापन समिति गरिएको हुँदा किर्ते हस्ताक्षर गर्ने गराउनेलाई हदैसम्म कार्बाही गरी विद्यालय व्यवस्थापन समिति विधिसम्मत ढंगले पुनः गठन गर्न अनुरोध गरिएको छ ।

गत जेठ २२ गते ५ वटा विषयमा विद्यालय व्यवस्थापन समितिको कुरा उल्लेख नगरी बिबिध शीर्षकमा निणर्य नं ६ भनेर सो विषय समेटेर निणर्यको अन्तिममा ‘गणेश माविको व्यवस्थापन समितिमा यस वडाबाट वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र सदस्यहरुमा मोहनप्रसाद लामिछाने र निशा बराललाइ छनौट गरि पठाउने निर्णय गरियो ।’ भनेर लेखिएको विषय नै किर्ते हस्तक्षरसँग सम्बन्धित रहेको ४ जनै वडा सदस्यको दावी रहेको छ ।

सोही किर्ते निर्णयको आधारमा हालसालै वडाध्यक्ष राजेन्द्र श्रेष्ठ गणेश मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए भने बाँकी दुईजना सदस्य बनेका थिए ।

बिबिध भन्ने शीर्षकमा आफ्नो इन्ट्रेस्टको दुइजना व्यक्ति राख्नका लागि वडाध्यक्ष राजेन्द्र श्रेष्ठले किर्ते गरेको भन्ने विषयसँग सम्बन्धित सो निवेदनलाई मेयर मिठाराम अधिकारीले तोक लगाएका छन् । मेयर अधिकारी निकट मानिने वडाध्यक्ष श्रेष्ठमाथि लागेको गम्भीर आरोप विषयको यो निवेदनले कुन रूप लिन्छ त्यो भने हेर्न बाँकी छ । काठमाडौं खबरबाट

 

प्रतिक्रिया