३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नागरिकता किर्तेमा तारालाई दण्ड अशोकलाई बढुवा


December 7, 2023
996
Shares

काठमाडौं, २१ मंसिर । देशमा पद्धति प्रणाली र कानूनको शासन नभएपछि जे गर्दा पनि हुन्छ । विगतमा हुकुम प्रमांगीबाट सेनामा अधिकृत हुने पनि थिए । नक्कली भएपछि आइएको सर्टिफिकेट र जन्ममिति यताउता गरेको भएपनि नागरिकताको प्रमाणपत्र भए पुग्ने ।

संभ्रान्त र शक्ति केन्द्रमा पहुँच भएकाहरुले सेनामा अफिसर हुने अवसर धेरै पाएका थिए राजाको पालामा । तर, गणतन्त्र आएपछि नागरिकता र सर्टिफिकेट छानविन हुँदा धेरैले राजीनामा दिनुपर्यो । कतिपय कारबाहीमा परे ।

तर, चिफ साबको आशिर्वाद पाउँदा कतिपयले उन्मुक्ति पाए । त्यसमध्येका थिए ताराध्वज पाण्डे र अशोक सिग्देल । पाण्डे अलि सनकी स्वभावका भएकाले वर्तमान सेनापति प्रभुराम शर्माले रुचाएनन् । उनको नागरिकता प्रकरण बाहिर आयो । कारबाहीमा पर्ने भएपछि राजीनामा दिए । सेनापति बन्ने उनको सपना तुहियो ।

त्यसपछि पालो आयो अशोक सिग्देलको । उनको पनि नागरिकतामा किर्ते भेटियो । अख्तियारमा उजूरी नै पर्यो । तर, सेनापतिले उनको फाइल बढाए । रक्षा हुँदै मन्त्रिपरिषदमा पुगेर बढुवा भयो बिहिबार । अब उनको नागरिकता किर्ते प्रकरण के हुने ? प्रश्न उठेको छ । सिग्देलले नागरिकताको विवरण सच्याउन ढड्डामै केरमेर गर्न लगाएको तथ्य बाहिर आइसकेको छ ।

सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा १९ चैत्र २०२१ र नागरिकतामा १९ माघ २०२३ राखिएको छ । उनले उमेर घटाएर सेनामा प्रवेश गरेको खुलेको छ ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट ९ असोज २०४० मा नागरिकताको प्रमाणपत्र लिएका सिग्देलको उमेर १९ वर्ष र ढड्डामा २०२१ साल भेटिएको छ । उनले किर्ते गरी जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको खुलेको छ । ८ जेठ २०५८ मा उनले जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएर उमेर सच्याएका छन् ।

प्रतिक्रिया