१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतको सहयोगमा कपिलवस्तुमा गौतम बुद्ध माविको भवन निर्माण


November 27, 2023
166
Shares

काठमाडौं, ११ मंसिर । भारतको सहयोगमा कपिलवस्तुमा श्री गौतम बुद्ध माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । बुद्धभूमि नगरपालिकास्थित उक्त विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन भएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड ३२ लाख आर्थिक सहयोगमा नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, तीन तल्ले प्रयोगशाला भवनको निर्माणमा र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको उल्लेख छ । जिल्ला समन्वय समिति, कपिलवस्तुमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको जनाइएको छ ।

भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए । उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए । दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्री गौतम बुद्ध माध्यमिक विद्यालय सन् १९७८ मा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ । विद्यालयमा प्ले ग्रुपदेखि प्लस टु लेभलसम्मको पढाई हुन्छ । हाल यस विद्यालयको विद्यार्थी क्षमता १२०० भन्दा बढी रहेको छ र विद्यालयमा करिब ५२५ छात्रा रहेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया