३ आश्विन २०८१, बिहिबार | September 19, 2024

खतरनाक बन्न सक्छ दुर्गा प्रसाईरुपी कार्ड


November 24, 2023
83
Shares

समाचार विश्लेषण । मनमा लागेको प्रष्ट बोल्ने स्वभावका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ यतिबेला व्यवस्थाकै लागि खतरा देखिएका छन् । बोल्ने र काम गर्ने साहस रहेका प्रसाईँसँग भीड जम्मा गर्ने क्षमता पनि छ ।

साहस र पैसाको बलमा उनी कुनैबेला प्रचण्ड र केपी शर्मा ओलीका पनि प्रीय थिए । पछि दुवैसँग दुरी बढाएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग जोडिए । उनले प्रचण्ड र ओलीसँगको सामिप्यताबाट लाभ पनि लिन सके । अहिले पूर्वराजा शाहसँगको निकटताबाट भरपूर लाभ लिएका छन् ।

दुर्गा प्रसाईँ व्यवस्थाविरोधी बनेर सडकमा निस्कदा विभिन्न टिकाटिप्पणी भइरहेको छ । तर, राजनीतिक गोटी चाल्न खप्पिस दलका नेताले भित्र भित्र आफ्नो स्वार्थका लागि दुर्गा प्रसाईँलाई कार्डका रुपमा प्रयोग गरिरहेका छन् ।

दुर्गा प्रसाईंको चुनौतीलाई अझ उचालेर या भनौ उत्तेजित पारेर सरकार नै ढाल्ने सम्मको रणनीति ओलील बनाएका छन् । अर्कोतर्फ, प्रचण्डले ओलीविरोधी देखिएका प्रसाईँलाई उचालेर लाभ लिन खोजिरहेका छन् ।

प्रसाईँको लोकप्रीयता र प्रभाव बढ्दा धक्का खानेमा राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि छन् । लिङ्देन पनि निख्खर राजावादी हुन् तर त्यो पक्षको साथ विस्तारै प्रसाईँतिर तेर्सिएको छ । सामाजिक सञ्जालबाट लोकप्रीय हुँदै शक्ति आर्जन गरेका रवि लामिछाने पनि प्रसाईँ सामु फितलो देखिएका छन् । यो लोकप्रीयता चुलिंदै गएमा लामिछानेलाई मात्र होइन बालेन साहलाई पनि धक्का पर्न सक्छ ।

दुर्गा प्रसाईँलाई नेताहरुले आफ्नो राजनीतिक फाइदाको कार्ड देखिरहँदा उनले पनि नेताहरुलाई उल्टै कार्डका रुपमा विगतमा पनि प्रयोग गरे अहिले पनि गरिरहेका छन् । जसरी माओवादीलाई राजसंस्था रहँदा तत्कालीन राजा र दलहरुले कार्डका रुपमा प्रयोग गर्दै जाँदा प्रचण्डले चार्तुयताका साथ शक्ति आर्जन गर्न सकेका थिए त्यसरी नै दुर्गा प्रसाईँले शक्ति आर्जन गर्दै गएका छन् । यसकारण पनि उनलाई हल्का रुपमा लिनु र कार्ड मात्र बुझ्नु नेताहरुको ठूलो भुल हुनसक्छ । खतरनाक बन्न सक्छ दुर्गा प्रसाईँरुपी कार्ड ।

प्रतिक्रिया