५ आश्विन २०८१, शनिबार | September 21, 2024

शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्न कृषि सम्मेलन आयोजना


November 22, 2023
0
Shares

चितवन,६ मंसिर । मङ्सिर ७ गते देखि चितवन जिल्लाको रामपुरमा हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो ।

विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सुसुचित गरि अन्तरक्रिया गर्ने उद्देश्यका साथ विश्वविद्यालयको अनुसन्धान तथा प्रचार निर्देशनालयले फस्ट ग्राजुएट कन्फ्रेन्स यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म चितवनको रामपुरमा आयोजना गरेको छ ।

सम्मलेनका संयोजक डा।ऋषिराम कट्टेलले कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सूसुचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जानकारी दिनु भयो । कट्टेल भन्नुहुन्छ, ‘शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।’

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धानमा कार्यपत्र प्रस्तुत गरिने छ । साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ ।

कार्यक्रममा नेदरल्यान्ड, जापान, ताइवान लगायत भारतका १० वैज्ञानिकसहित ३०० भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले बताउनु भयो । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रुपमा रहनेछन् ।

सम्मेलनमा उत्कृष्ट कार्यपत्रलाई पुरस्कारको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा ३०० को हाराहारीमा सहभागिता रहने बताइएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपति लगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया