९ माघ २०८१, बुधबार | January 23, 2025

प्रचण्ड यसकारण हिन्दूराष्ट्रको पक्षमा ‘यु टर्न’ हुनसक्छन्


October 22, 2023
0
Shares

काठमाडौं, ५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कठोरभन्दा कठोर निर्णय लिनसक्छन् । उनले पार्टी बिघटन गर्ने र नयाँ बनाउने त धेरै पटक गरे । यतिसम्मकी १० वर्ष लामो सशस्त्र गतिविधि गरेको नेकपा माओवादी नै बिघटन गरिदिए विगतमा ।

प्रचण्ड राजनीतिक अस्त्र फाल्न पनि खप्पिस छन् । विपक्षीले कल्पना सम्म नगरेको चाल चलिदिन्छन् । नेकपा छँदा केपी शर्मा ओली पदबाट हट्न वाध्य हुनुमा प्रचण्डको रणनीतिक चाल नै मुख्य थियो ।
मंसिरको चुनावपछि प्रचण्डले ओलीसँग हातेमालो गरेर प्रधानमन्त्री पद पक्का गरे । तर, उनले तीन महिना नबित्दै एमालेसँगठको गठबन्धन तोडे ।

कतिपय राजनीतिक एजेन्डामा पनि प्रचण्ड आश्चर्यजनक निर्णय लिन्छन् । भविष्यमा पनि त्यस्तो निर्णय नलेलान् भन्न सकिदैन ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा हिन्दूराष्ट्रको मुद्या बलियो हुँदै गएको छ । सुरुमा रामकुमार शर्माले ज्ञापनपत्र नै बुझाएर देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने सुझाव दिए । पछिल्लो समय उपाध्यक्ष पम्फा भुसालले यस्तो एजेन्डा सारेकी छिन् ।

भुसाल भारतीय जनता पार्टीको निम्तोमा भारत भ्रमणमा गएको माओवादी टोलीको नेतृत्वकर्ता थिइन् । उनले देशको धरातलीय यथार्थलाई मध्यनजर गरी यो एजेन्डा सारेको चर्चा छ ।

माओवादीभित्र अस्तित्वको ठूलै संघर्ष छ । अबको चुनावमा गतिलो मुद्या नउठाए माओवादीको अस्तित्व यसै भन्न सकिदैन । यसकारण पनि माओवादीले कुनैपनि बेला हिन्दूराष्ट्रको मुद्या उठाए आश्चर्य नमाने हुन्छ ।

प्रचण्डले भारतमा महाकालेश्वर दर्शन गरी फर्किएपछि पशुपतिनाथको दर्शन गरेर सन्देश दिइसकेका छन् । चीन भ्रमणमा पनि उनी कैलाश मानसरोवर पुगे । प्रचण्डले यसबाट आफू हिन्दू धर्मको विषयमा लचिलो बन्दै गएको सन्देश दिएका हु्न् ।

त्यसो त देशमा गणतन्त्र र धर्मनीरपेक्ष स्थापना गर्ने भूमिका प्रचण्डले नै मुख्य रुपमा गरेका थिए । तर, उनी कतिपय विषयमा यु टर्न हुन्छन् । यो मुद्यामा पनि नहोलान् भन्न सकिदैन ।

प्रतिक्रिया