४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

काठमाडौं भित्रिएका खसी–बोकाको स्वास्थ्य परीक्षण


October 15, 2023
0
Shares

काठमाडौं, २८ असोज । दसैँका लागि काठमाडौं उपत्यका भित्रिएका खसी–बोकाको स्वास्थ्य परीक्षण सुरू भएको छ । पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरेको हो ।

चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको विभागले जनाएको छ । पशुपक्षीबाट नमूना सङ्कलन, रोग निदान र उपचार समेत गर्ने विभागको भनाइ छ ।

विभागका महानिर्देशक डा उमेश दाहाले आज विज्ञप्ति जारी गरी कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित हुने जानकारी दिए । नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र रोगी देखिए रातो सङ्केत गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

विभागले स्वस्थ्यकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ । विभागले स्वास्थ्य परीक्षण गरेसँगै उपभोक्ताले अस्वस्थ मासु खानु पर्ने समस्या हट्ने विश्वास गरिएको छ ।

पशु सेवा विभागसँगै काठमाडौं महानगरपालिकाले पनि खसी(बोकालगायतका दसैँका लागि महानगरभित्र बिक्री वितरण हुने पशुपंक्षीको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । काठमाडौं महानगरपालिकाले पनि प्रत्येक वर्ष मासु प्रयोजनका लागि बिक्रीवितरण हुँदै आएको पशुको स्वास्थ्य परीक्षण गर्दै आएको छ । यसपालि पनि स्वास्थ्य परीक्षण गर्न अघि सरेको हो ।

प्रतिक्रिया