२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भोटेकोशी–त्रिशूली बाढीपीडितलाई एनभिएले १० लाख सहयोग गर्ने


September 8, 2026
1.2k
Shares

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित पीडितको सहयोगार्थ १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ।

२०८३ भदौ १० गते आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एशोसिएसनले आफ्ना सदस्यहरूलाई सहयोगका लागि आह्वान गरेको थियो। उक्त आह्वानअनुसार सदस्यहरूको सहभागिता र योगदानप्रति एशोसिएसनले आभार व्यक्त गरेको छ।

एशोसिएसनका अनुसार बाढीबाट प्रभावितहरूको शीघ्र स्वास्थ्य लाभ, बेपत्ताको खोजी तथा उद्धार, खानपान, पुनर्वास, मनोपरामर्श र पुनर्निर्माण लगायतका काममा सरकारले तीव्रता दिएको छ। विपद्को यस घडीमा राज्यको राहत तथा पुनर्निर्माण अभियानमा संस्थागत रूपमा सहयोग पुर्‍याउने उद्देश्यले १० लाख रुपैयाँ राहत कोषमा प्रदान गर्ने निर्णय गरिएको हो।

एशोसिएसनले विपद्को समयमा राज्यलाई परेको संकटमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएको छ। साथै, मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाई आर्थिक सहयोगसँगै आफ्नो प्राविधिक ज्ञान, सीप र विशेषज्ञतामार्फत समेत विपद् प्रभावित क्षेत्रमा यथाशक्य योगदान पुर्‍याउन अपिल गरेको छ।

एशोसिएसनका महासचिव इन्जिनियर अशोक सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को समयमा पीडित नागरिकको साथमा उभिन सम्पूर्ण मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाई पुनः हार्दिक अपिल गरिएको छ।

प्रतिक्रिया