१३ फाल्गुन २०८१, मंगलबार | February 26, 2025

राससको गैरकानूनी नियुक्ति र बढुवामा सतर्कता केन्द्रलाई आँखा चिम्लन बालुवाटारबाट दबाब आएपछि खैलाबैला


August 17, 2023
0
Shares

काठमाडौं, ३२ साउन । कानून विपरीत राससमा कर्मचारी नियुक्त गर्ने कार्यकारी अध्यक्ष, महाप्रबन्धक र पदपूर्ति समितिलाई चोख्याउन राष्ट्रिय सतर्कता केन्द्रमाथि दबाब परेको छ । गैरकानूनी कार्य गरेपछि केन्द्रमा उजूरी परेकोमा यसबारे केन्द्रलाई आँखा चिम्लन दबाब परेको विश्वस्त स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्रमाथि बालुवाटारबाट दबाब पारिएको हो । यसबारे केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्मासँग जानकारी लिन खोज्दा उनले आफू बैठकमा रहेको भन्दै फोन काटेका छन् । राससका अध्यक्ष धर्मेन्द्र झा यसबारे बोल्न चाहेका छैनन् । उनी महाप्रबन्धकतर्फ देखाउँछन् । झा कट्टर काँग्रेस हुन् । महाप्रबन्धक सिद्धराज राई एमालेको ओली पक्षका हुन् । रोचक त यो छ कि यस मामलामा झा र राईको तालमेल खुबै मिलेको छ ।

रासस यसै पनि राजनीतिक अखडा बनिसकेको छ । त्यहाँ आफ्ना मान्छे भर्ती गर्न र बढुवा गर्न एउटा समूह जस्तोसुकै गैरकानूनी काममा उत्रिएको छ । त्यसविरुद्ध लाग्न खोज्नेको बढुवा नै रोकिदिने गतिविधिहरु हुँदै आएको छ । सरकारी मिडियामा केही दलका कार्यकर्ताको सेटिङले बेथितीविरुद्ध लेख्ने निकाय नै विकृति र विसंगतिको मारमा परको छ ।

सतर्कता केन्द्रमा कानून विपरीत राससमा बढुवा भएको भन्दै साउन ११ गते दर्ता नं। ५१ मा उजुरी दर्ता भएको थियो । यस्तै घटनामा गोरखापत्र दैनिकका कर्मचारीलाई निकाल्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखी पठाउने केन्द्रले राससमा भने बचाउन लागेको सतर्कता केन्द्र स्रोतले जानकारी गराएको हो । गोरखापत्रमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको चाहनामा कानून विपरीत नियुक्त भएका कर्मचारीका बारेमा छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने र मन्त्रालयलाई पनि लेखी पठाउने केन्द्रले राससमा भने आँखा चिम्लने तयारी गरिरहेको जनाइएको छ ।

राससले २०८० असार २७ गते गोरखापत्र दैनिकमा प्रकाशन गरेको बढुवा सिफारिसको सूचना, राससको वेबसाइटमा रहेको विनियमावली ९सेवा, शर्त, संशोधन २०७६० को विपरीत भएको भनी सतर्कता केन्द्रमा उजुरी परेको थियो । विनियमावलीको दफा ५४ ९२० मा सेवा, समूह, उपसमूह परिवर्तन गर्न चाहनेका लागि उपयुक्तता परीक्षणको लिखित परीक्षा दिनुपर्ने व्यवस्था छ । तर यस्तो परीक्षा नलिइकन तह ५ मा कुमारी कमला पौडेल खनाल र रेश्मा शाक्य, तह ७ मा युद्धकुमारी खड्कालाई बढुवा गरिएको हो ।

विनियमावलीमा हुँदै नभएको सह निर्देशक पदमा रुद्रमणि अधिकारी र धीरेन्द्रकुमार दत्तलाई बढुवा गरिएको गोरखापत्रमा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । लेखा शाखा प्रमुख रहेका रुद्रमणि अधिकारीलाई करिब एक दशकअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको उजुरी परेको भनी सो पदबाट अन्यत्र सरुवा गराउन निर्देशन दिएको भन्दै अन्यत्र सरुवा गरिएकामा हाल लेखा शाखामै सरुवा गराएर विनियमावलीले नचिनेको पदमा गैरकानूनी रुपमा गरिएको बढुवा खारेज गराई पाऊँ भनी निवेदन पेश गरिएको हो ।

आठौँ तहबाट नवौँ तहमा बढुवा गर्दा एमफिल गरेकालाई पन्छाएर वर्षभरमा दुई महिना कार्यालय बिदा लिएर व्यापार गर्ने कर्मचारीलाई बढुवा गरिएको छ । नवौँ तहमा बढुवा गर्दा बिरामी भएर करिब छ महिनासम्म बिदामा बस्ने कर्मचारी पनि परेको जनाइएको छ ।

नवौँ तहमा काम गरेका ज्येष्ठ कर्मचारी मनोज कार्कीको बढुवा गरिएको छैन । कार्कीले बेतलबी बिदा लिएर केही समय काम गरेकै कारण बढुवा नगरेको भनिन्छ । अन्य कार्यालयमा काजमा गई काम गरेर राससको तलब खानेको यसअघि र अहिले पनि बढुवा गरिएको छ । तर बेतलबी बिदा लिएर अन्त जानेलाई ज्येष्ठ हुँदा पनि बढुवा नगर्नु कानूनसम्मत हुन्छ रु भनी कर्मचारी नै प्रश्न गर्न थालेका छन् । यसले राससकर्मीमा काम गरेर नहुने रहेछ भन्ने सन्देश प्रवाह भएको छ । शक्तिकेन्द्रको चाकडी गर्नुपर्ने, उच्च अधिकारीसँग मिलेमतो गरे, जे पनि हुन्छ भन्ने भावनाको विकास हुँदा राससको काममा दीर्घकालीन प्रभाव पर्ने भएकाले यसमा सरोकार भएका निकायले ध्यान दिनु आवश्यक रहेको भन्दै सचेत नागरिकले पनि आवाज उठाउन थालेका छन् ।

सातौँ तहमा बढुवा गर्दा सेवा र समूहभन्दा बाहिरबाट ल्याएर बढुवा गरी रोलक्रममा रहेकालाई अन्याय गरिएको छ । छैटौँ तहबाट सातौँ तहमा बढुवा गर्दा डिग्री गरेकालाई भन्दा नक्कली तालिम लिएकालाई गरिएको चर्चा पनि राससमा छ । अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई र प्रशासन प्रमुख शीतलप्रसाद महतोको मिलेमतोमा तालिमको नक्कली प्रमाण पत्र पेश गर्ने विक्रम गिरीलाई बढुवा गरिएको छ । उनका प्रतिष्पर्धी डिग्री गरेकालाई पछि पारिएको छ । सेवा, समूह परिवर्तन गरेर आफ्नालाई बढुवा गर्दा तह ७ मा खाली रहेको प्रशासन एवं लेखा समूहमा भने कसैलाई बढुवा गरिएको छैन । त्यो पद सञ्चार मन्त्रालयको दबाबमा खाली राखिएको समाचार स्रोतले जनाएको छ ।

बढुवामा अन्याय भएको भन्दै रासस अंग्रेजी शाखा प्रमुख दीपराज सन्यालले राजीनामा दिएको जनाइएको छ । सन्याल कार्यालय समयमा आफ्नो काम गर्ने इमान्दार कर्मचारीका रुपमा रहेको राससकर्मीको भोगाई छ । सन्याल सरले त बढुवाप्रति असहमति जनाउँदै राजीनामा दिनुभयो भने यसपटक विनियमावलीविपरीत अन्यायपूर्वक नै बढुवा गरिएको रहेछ भन्ने राससका अधिकांश कर्मचारीको भनाई छ ।

राससमा कानून विपरीत १८ जनालाई विशेष समाचारदाताका रुपमा नियुक्ति दिइएको छ । विनियमावली विपरीत लोक सेवा आयोगको परीक्षा दिएर असफल भएकासमेतलाई गरिएको यो नियुक्ति प्रक्रियाका विषयमा पनि छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोक सेवा आयोगमा पनि उजुरी परेको छ । यी सबै उजुरीलाई मिलेमतोमा मिलाउन अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले केही कर्मचारीलाई विशेष रुपमा जिम्मेवारी दिएरै खटाएका छन् ।

कानून विपरीतको यो बढुवामा मन्त्री रेखा शर्माको पनि साथ रहेको छ । राससका कांग्रेस, एमाले र माओवादी नजिकका कर्मचारी संगठनका अध्यक्षले पनि यसमा सहमति जनाएर लिखित माइन्युट नै तयार पारेका छन् । कानूनविपरीतको यो काम अख्तियारको दुरुपयोग हो । तर अख्तियारले पनि केही नगर्ने गरी मिलेमतोमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया