३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विद्युत प्रशारण पूर्वाधारहरुमा एक खर्ब लगानी गर्न भारत सहमत


August 11, 2023
0
Shares

काठमाडौं, २६ साउन । भारतले विद्युत प्रशारण पूर्वाधारमा एक खर्ब रुपैयाँ लगानी गर्ने सहमति जनाएको छ । नेपाल भारत लाइन अफ क्रेडिट (एलओसी) सम्बन्धी समिक्षा बैठकमा यस्तो सहमति भएको हो ।

समिक्षा बैठकमा भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सबस्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७ करोड ९८ लाख अमेरिकी डलर अर्थात् झण्डै एक खर्ब लगानी गर्न भारत सहमत भएको हो । दशौं नेपाल भारत लाइन अफ क्रेडिट समीक्षा बैठक बिहिवार काठमाडौंमा सम्पन्न भएको हो । शुक्रवार पनि बैठकका लागि नेपाल आएको टोलीले पूर्वाधार परियोजनाहरुको अवलोकन गरेको छ ।

बैठकमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गरे भने भारतीय विदेश मन्त्रालय ९विकास साझेदारी प्रशासन का सहसचिव ए। अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका थिए ।

नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो ।

नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिटमार्फत भएका लगायत भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षले प्रशंसा गर्नुका साथै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकले समीक्षा गरेको जनाइएको छ ।

भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको जनाइएको छ ।

भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर र ७५ करोड अमेरिकी डलर गरी जम्मा १ अर्ब ६५ करोड अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । लाइन अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरिनेछ । यसरी प्राप्त ऋण रकम हाल सम्म ४० भन्दा बढी सडक परियोजना ११०५ किमि सम्पन्न भइसकेको छ । ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको छ ।

प्रतिक्रिया