३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्डले सुनिल शर्मालाई पक्राउ गरेर नयाँ आतंक श्रृजना गरेको प्रकाश रायमाझीको आरोप


August 10, 2023
249
Shares

काठमाडौं, २५ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सरकारले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेर अति संवेदनशील विषयलाई फेरि अन्यत्र मोड्न खोजेको आरोप लगाएका छन् । शर्मा आफ्नै निवासबाट पक्राउ परेपछि रायमाझीले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

“नेपाली कांग्रेसका सांसद शर्मालाई पक्राउ गर्ने नाउँमा अहिले आन्तरिक विवादमा अल्झेको सरकारले अति संवेदनशील विषयलाई फेरि अन्यत्र मोड्न खोजिएको छ। ”–उनले लेखेका छन् । हरेक मानिसहरुलाई थुनामा राखेर अनुसन्धानको बाहानामा प्रचण्डपथको सत्ता कब्जा गर्ने उद्दण्डताको आभास भइरहेको उनको भनाइ छ ।
साधारण सिपमुलक व्यवसायीलाई समेत आतंकित गरेर गृह प्रशासनले प्रजातन्त्रको मूल्य मान्यता र सिद्धान्त उपहास गरेको रायमाझीको तर्क छ ।

कर्मचारीहरू माथि नियन्त्रण गर्ने निकायहरु नहुँदा मुलुक झन् अराजक हुँदै गएको दाबी गर्दै विश्लेषक रायमाझीले यही मौकामा भ्रष्ट कर्मचारीहरुले राज्य दोहन गर्ने छुट पाएको समेत बताएका छन्। जनता आफैँले आफ्नो हक अधिकारको रक्षा गर्न बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था उत्पन्न भएको रायमाझी बताउछन् । अनेकौं घटना र काण्डहरु उब्जेको विद्यमान परिस्थितिमा सरकारले विधिको शासन लागू गर्न नचाहेको आरोप लगाउँदै उनले लेखेका छन्,“प्राकृतिक मौलिक हक अधिकारको समेत उपेक्षा गरेर हरेक विषयमा प्रतिशोध र राजनीतिक पूर्वाग्रह राखेर राज्यआतंक खडागर्दा पनि प्रतिपक्ष अन्य राजनीतिक दलहरु भागबन्डा र निहित स्वार्थ पूर्तिमा उद्दतहुनु देशको दुर्भाग्य हो।”

पछिल्लो समय प्रतिनिधि सभा र राष्ट्रियसभा गैर जिम्मेवार बनेर मुलुकलाई दिशाहीन बनाइरहेको टिप्पणी गर्दै त्यस्ता सांसदहरुलाई राज्यले पाल्नुपर्ने दुर्भाग्य भएको उनको भनाई छ । “राष्ट्रको अति संवेदनशील एवं महत्वपूर्ण विषयमा नत छलफल गर्छन् नत सरकार त्यस तर्फ उन्मुख छ प्रतिनिधि सभा र राष्ट्रियसभा गैर जिम्मेवार बनेर मुलुकलाई दिशाहीन बनाइरहेका छन्। यस्ता सांसद्लाई राज्यले पालेर राख्नुपरेको छ।”–उनले लेखेका छन् ।

सरकारी नीतिले उद्योगी व्यवसायीहरु आत्महत्याको अवस्थामा पुुगेको उनले उल्लेख गरेका छन् । सामान्य मुद्दाहरुलाई स्याबासी पाउने नाममा अतिरन्जित गरिएको उनको तर्क छ । लेखक समेत रहेका रायमाझीले पृथ्वीनारायण शाहको सालिकमा पुनः आक्रमण गरेर आतंकबादको घाउ दोहोरिएको बताए । जातिय द्वेष र घृणाको राजनीति गरेर सुन्दर नेपाललाई गृहयुद्धको भुमरीमा धकेल्ने कुचेष्टा नेपालीले सहन नसक्ने समेत उनले चेतावनी दिएका छन् । “बहुभाषा, बहुजाति, बहुसंस्कृतिको उद्यगम स्थल नै यो देशको परिचय हो । यही विशेषतालाई अनुभव गर्न चाहनेहरु नेपाललाई खुला विश्वविद्यालयको रुपमा हेर्ने गर्छन् ।”–उनले लेखेका छन् ।

शर्मालाई गोल्फुटारस्थित निवासबाटै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले आज पक्राउ गरेको हो । शर्माले सुन तस्करी प्रकरणमा असन्तृष्टि जनाउँदै सदनमै अर्थ र गृहमन्त्रीको राजीनामा मागेका थिए । उनी नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका हुन् ।

 

प्रतिक्रिया