११ आश्विन २०८३, आइतबार | September 27, 2026

ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधिमा भीमकुमार गौतमको उम्मेदवारी घोषणा


September 27, 2026
332
Shares

दुई दशक लामो राजनीतिक अनुभव बोकेका गौतम खस आर्यतर्फबाट प्रतिस्पर्धामा

ओखलढुंगा, ११ असोज । नेपाली कांग्रेसका युवा नेता भीमकुमार गौतमले पार्टीको १५औँ महाधिवेशनमा ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले खस आर्यतर्फबाट उम्मेदवारी घोषणा गर्दै पार्टी संगठनलाई बलियो, एकताबद्ध र समयानुकूल बनाउन आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

दुई दशकभन्दा लामो राजनीतिक अनुभव बोकेका गौतम विद्यार्थी राजनीतिदेखि पार्टी संगठन र सामाजिक सेवासम्म सक्रिय रहँदै आएका छन्। उनले २०५७ सालमा कांग्रेस नेता सुनिल वैद्यको हातबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

विद्यार्थी राजनीतिमा सक्रिय गौतम २०६० सालमा विश्वभाषा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य बने। २०६२ सालमा स्ववियु सहसचिवको जिम्मेवारी सम्हालेका उनी २०६५ सालमा स्ववियु सभापतिको उम्मेदवार बनेका थिए। तर, तत्कालीन परिस्थितिका कारण उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाएनन्।

गौतम २०७२ सालमा नेपाल विद्यार्थी संघको विश्वभाषा क्याम्पस इकाइ अध्यक्ष बने भने २०७३ सालमा नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारी पाए। त्यसपछि २०७८ सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेका उनले जिल्ला समन्वय समिति ओखलढुंगाको सदस्य भएर समेत काम गरिसकेका छन्।

विद्यार्थी राजनीतिका क्रममा पटक–पटक जेलसमेत परेका गौतम नेविसंघ र तरुण दलमा रहँदा समन्वयकारी भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित छन्। सहकर्मीमाझ मिलनसार र सबैलाई समेटेर अघि बढ्न सक्ने नेताका रूपमा चिनिएका उनी संगठन निर्माण, सामाजिक सेवा तथा विभिन्न अभियानमा निरन्तर सक्रिय रहँदै आएका छन्।

पार्टीभित्र नयाँ पुस्ताको सक्रियता र समयानुकूल परिवर्तन आवश्यक रहेको बताउँदै गौतमले एकताबद्ध र बलियो कांग्रेस निर्माण आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन्। बदलिँदो राजनीतिक परिस्थिति र कार्यकर्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउन नयाँ सोच, जिम्मेवारीबोध र सक्रिय नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

ओखलढुंगा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै आएका गौतमले पार्टी संगठनका गतिविधिमा समेत योगदान पुर्‍याउँदै आएका छन्।

महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी हुने क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले व्यक्तिगत भावना र सम्बन्धभन्दा पार्टी तथा समाजको वर्तमान आवश्यकतालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

पार्टीलाई थप बलियो बनाउन समयअनुसार परिवर्तन र विवेकपूर्ण निर्णय आवश्यक रहेको उल्लेख गर्दै गौतमले क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीमा समर्थन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया