३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सय किलो सुन तस्करी प्रकरणमा १० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा


0
Shares

काठमाडौं, २३ साउन । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ ।

तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने क्रममा नेपालमा बस्दै आएका १० जना चिनियाँ नागरिकलाई विभागले कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले कालोसूचीमामा राखेको विभाग उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । कालो सूचीमा राखिएका ती चिनियाँँ नागरिकहरूमा जे झेङ, वाइ पुझेङ, वी यान, एल वेनझङ, टी याओ, जी चेन, जे लि, एफ लिउ, जी लिन र वी सियागत्जा रहेका छन् । यसबाहेक प्रहरीले उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा थप चार जना चिनियाँ नागरिकविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । प्रहरीले नाम नखुलाइएका ती चार जना चिनियाँ नागरिक पनि नेपालमा नै रहेको आशंका गरेको छ ।

उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा २ जना चिनियाँ मूलका नागरिकलाई विभागको टोलीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उक्त सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय संगठित सुन तस्करको समूह संलग्न रहेको र अनुसन्धान गर्दै जाँदा चिनियाँ नागरिक संलग्न रहेकाले उनीहरूको बारेमा अनुसन्धान गर्नुपर्ने भएकाले कालोसूचीमामा राखेको विभागका महानिर्देशक नवराज ढुंगानाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । व्यापारिक भिसामा नेपाल बस्दै आएका ती चिनियाँ नागरिक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको पनि विभागले ठहर गरेको छ । विभाग स्रोतका अनुसार ती चिनियाँ नागरिकलाई नेपालस्थित चिनियाँँ दूतावासका अधिकारीहरूले संरक्षण गरेका कारण विभागलाई अनुसन्धान गर्न निकै कठिनाइ उत्पन्न भएको छ ।

चिनियाँ, भारतीय र नेपाली सुन तस्करहरूको संगठित गिरोह लामो समयदेखि सक्रिय रहेको र सोही गिरोहले यसअघि ५ हजार केजीभन्दा बढी सुन हङकङबाट नेपाली भूमि प्रयोग गरेर भारततर्फ निकासी गरिसकेको निष्कर्ष पनि विभागले निकालेको छ ।

विभागले ती १० जना चिनियाँ नागरिकका बारेमा नेपाल प्रहरीलाई जानकारी गराएको र उनीहरू स्थल मार्ग वा हवाई मार्गबाट नेपालबाट भाग्न सक्ने भएकाले उनीहरूको बारेमा निगरानी राख्नसमेत आग्रह गरेको विभागले जानकारी दिएको छ ।

आइतबार विभागले थप अनुसन्धानका लागि नेपाल प्रहरीको सीआईबीलाई पक्राउ परेका अभियुक्तहरू र अहिलेसम्म भएको अनुसन्धानको फाइल बुझाएपछि सीआईबीले उनीहरूको बारेमा अनुसन्धान शुरू गरेको छ ।

यता सुन काण्डको अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले सोमबारबाट अनुसन्धान शुरू गरेको छ । ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा अनुसन्धान टोली गठन गरेको छ ।

एसपी थापासँग नेपालमा भएका ठुला अपराधको सफल अनुसन्धान गरेको अनुभव छ । प्रहरीले अनुसन्धान शुरू गरेको सुनकाण्डको स्वतन्त्र अनुसन्धान गर्न सरकारी हस्तक्षेप नभए सुन तस्करीको अनुसन्धान टुंगोमा पुग्ने ब्युरोका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

सात दिन म्याद थप

सुन तस्रकरीमा संलग्न रहेको आशंकामा पक्राउ परेका दुई विदेशीसहित १८ जनाविरुद्ध थप अनुसन्धान गर्न ब्युरोले ७ दिनको म्याद थप गरेको छ । हाल ब्युरोको हिरासतमा रहेका उनीहरूउपर ब्युरोले सोमबारबाटै थप अनुसन्धान शुरू गरेको हो ।

ब्युरोको टोलीले विभागले बुझाएको फाइललाई अनुसन्धानको एउटा पाटो मात्र बनाएर संगठित अपराधमा आधारित रहेर अनुसन्धान शुरू गरेको ब्युरोका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए । समाचारपत्र

प्रतिक्रिया