२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भाजपा मुख्यालयमा माओवादी नेताहरुलाई महिला र युवामोर्चाबाट ब्रिफिङ


0
Shares

नयाँ दिल्ली, ८ साउन । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेताहरु सोमवार भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । नयाँ दिल्लीस्थित भाजपाको मुख्यालय पुगेर उनीहरुले भाजपा सम्वद्ध संगठनका नेताहरुसँग महत्वपूर्ण छलफल गरेका छन् ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको माओवादी नेताहरुको टोलीले भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । भेटमा दुई दलबीचको सम्बन्धबारे कुराकानी भएको जनाइएको छ ।

सोमवार नै भारतीय जनता युवामोर्चाका अध्यक्ष तेजश्वी सुर्यासँग माओवादी नेताहरुले भेटवार्ता गरे । भेटमा युवामोर्चाको भारतीय राजनीतिमा भूमिका र युवाको हितमा भएका कामहरुबारे जानकारी गराएका थिए ।

माओवादी नेताहरुले भाजपा महिला मोर्चाकी उपाध्यक्ष समेत रहेकी सांसद दर्शन सिंहसँग भेटवार्ता गरेका छन् । भेटमा सिंहले महिला मोर्चाको इतिहास र हाल भइरहेका महत्वपूर्ण कार्यक्रमबारे जानकारी दिएकी थिइन् ।

आइतवार नयाँ दिल्ली आइपुगेको भ्रमण दलमा माओवादी उपाध्यक्ष भुसाल सहित सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु रामेश्वर यादव र सुरेशकुमार राई सहभागी छन् ।

प्रतिक्रिया