२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

टेकु अस्पताल निर्माणको ३ अर्बको ठेक्कामा सेटिङ कहाँ देखि कहाँसम्म (विवरणसहित)


0
Shares

दीग्गज गौतमः देशको अरबौंको ठेक्का हात पार्न प्रधानमन्त्रीका मान्छे, मन्त्री, कर्मचारी मिलाएर मात्र पुग्दैन । अदालतसम्म मुद्दा पुग्ने भएकाले त्यहाँसम्म मिलाइन्छ अनि ठेक्का पारिन्छ । यसरी सेटिङमा ठेक्का लिने ठेकेदारहरुले निर्माणको गुणस्तरमा ठूलो खेलवाड गर्दै आएका छन् ।

पछिल्लो पटक टेकुस्थित कालोसूचीमा परेको कम्पनी गौरी-पार्वती निर्माण सेवा जोडिएको कन्टेक–गौरी पार्वती जेभीलाई नै केन्द्रीय सरुवा रोग अस्पताल टेकुको भवन निर्माणमा ठेक्काका लागि छनोट गरियो । तर, उजूरीहरु परेपछि शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का प्रक्रिया नै खारेज गरिदियो । त्यसविरुद्ध प्रोपाइटर रामकुमार थापा अदालत गए ।

पाटन उच्च अदालत पुगेर उनले सेटिङ गरेको खुलेको छ । कालो सूचीमा परेको कम्पनी र व्यक्ति प्रोपाइटर रहेको खुलेपछि ठेक्का प्रक्रिया रद्द गरिएकोमा न्यायाधीशहरु दुर्गा बहादुर विश्वकर्मा र जगदीश घिमिरेको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरी ठेक्का रद्द नगर्न नगराउन भनेको छ ।

ठेक्का रद्द गरी नयाँ ठेक्का खुलाइसक्दा अदालतबाट अन्तरिम आदेश ल्याउन सफल भएका छन् रामकुमार थापा । उनले सेटिङका लागि करोडौं खर्च गरिसकेको खुलेको छ । अदालतबाट अन्तरिम आदेश जारी गराउन सकेपछि निर्माण व्यवसायको क्षेत्रमा खैलाबैला मच्चिएको छ । अन्तरिम आदेश जारी गराउने न्यायाधीशहरु पनि विवादमा परेका छन् यतिबेला ।

रामकुमार थापा यतिबेला प्रतिष्पर्धी ठेकेदारहरुलाई कर्मचारी देखि न्यायाधीश समेत किनेँ भन्दै हिंडेका छन् । उनले न्यायाधीश नै किनेँ भन्दै हिंड्नुले पाटन उच्च अदालतभित्र पनि खैलाबैला मच्चिएको छ ।

त्यसो त रामकुमार थापा प्रोपाइटर रहेको गौरी पार्वती निर्माण सेवालाई ठेक्का दिलाउन सुरु देखि नै सेटिङ भएको थियो । भवन निर्माणको ठेक्काका लागि सूचना निकाल्दा नै अन्यको छनोट हुन नसक्ने अवस्था निर्माण गरिएको थियो ।

प्रि क्वालिफिकेशनमा आफू मात्र छनोट हुने र आर्थिक प्रस्ताव अगाडि बढाउने गरी चलखेल भयो टेकु अस्पताल निर्माणको ठेक्कापट्टामा । ३०० शैयाको अस्पताल भवन निर्माणमा प्राविधिक प्रस्ताव मूल्यांकन बमोजिम एकमात्र प्रस्तावक कन्टेच गौरी पार्वतीको बोलपत्र स्वीकृत भयो १९ फागुन २०७९ मा ।
९ चैत्र २०७९ मा प्रकाशित शहरी विकास तथा भवन निर्माण विभागको विभागीय निर्णयानुसार कन्टेच– गौरी पार्वतीलाई आशयपत्र जारी गरिएको थियो । म्याद भित्र कुनै उजूरी नपरेको भन्दै ठेक्का सम्झौताको दबाब दिन लगाइयो । तर, कालो सूचीमा परेको विवादास्पद कम्पनीलाई सम्झौताको लागि डाकिएन । कर्जासूचना केन्द्रमा कालोसूचीमा परेको भेटिएपछि ठेक्का रद्द ग¥यो विभागले ।

अस्पताल भवन निर्माणका लागि ३ अर्ब ४६ लाख अनुमान गरेर बोलपत्र आव्हान गरिएको थियो । गौरी पार्वतीले २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार १८५ मा निर्माण गर्ने दाबीसहित प्रस्ताव पेश गरेको थियो । बोलपत्र स्वीकृतको नियमानुसार सबैभन्दा न्यूनतम मूल्यमा प्रस्ताव राखेको थियो गौरी पार्वतीले । निर्माण लागत अनुमानभन्दा २० प्रतिशत कममा निर्माण पूरा गर्ने प्रस्ताव राखेको थियो गौरी पार्वतीले । जसका कारण प्रस्तावक अन्य तीन कम्पनी अस्वीकृत भए ।

१७ रोपनी जग्गामा सरुवा रोग अस्पताल बनाउने प्रक्रियामै भवन निर्माणसम्बन्धी भइरहेको चलखेलले अवरोध पारेको छ । गौरी पार्वतीका मालिक रामकुमार थापा हात धोएर ठेक्का सम्झौता गराउन लागेका छन् । यसका लागि उनी अदालतमा पुगेर केही सफलता हासिल गरिसकेका छन् ।

गौरी पार्वती निर्माण सेवा प्रा.लि. का रामकुमार थापा पटक पटक कालो सूचीमा पर्दै आएका छन् । कर्जा सूचना केन्द्रका अनुसार गौरी पार्वती निर्माण सेवा प्रा.लि. २०७५, २०७८, २०७९ र २०८० मा गरी पाँचपटक कालो सूचीमा परिसकेको छ । रामकुमार थापा २०७५, २०७८ र २०७९ गरी चेक बाउन्स प्रकरणमा ५ पटक कर्जा सूचना केन्द्रबाट कालो सूचीमा परेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनाले ३ जेठ २०८० मा पत्र लेखेर गौरी पार्वतीलाई बोलपत्र मान्य अवधि थप गर्ने गरी प्रक्रिया बढाएको थियो । उसले बोलपत्रको जमानतको मान्य अवधि सहित बोलपत्रको मान्य अवधि दुई महिना थप गरी दिनभित्र पेश गर्न पत्राचार गरेको थियो ।

तर, सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुखले १५ जेठ २०८० मा सूचना प्रकाशित गरी ३०० शैयाको अस्पताल निर्माणका लागि खरिद प्रक्रिया नै बदर गरेको जानकारी गराए । यसबारे रामकुमार थापाले जानकारी माग्दै पत्राचार गरेका छन् ।

कालो सूचीमा पटक पटक परेर विवादमा परेका रामकुमार थापा र उनले सञ्चालन गरेको केन्द्रीय सरुवा रोग अस्पताल टेकुको भवन अलपत्र बन्ने देखिएको छ । यसै पनि उनले अरनिकोे राजमार्ग अन्तर्गतको धुलिखेल खावा सडक खण्ड अलपत्र पारेका छन् । उनीविरुद्ध पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जिल्ला प्रशासन कार्यालय काभ्रेमा किटानी जाहेरी समेत दिइसकेका छन् । थापालाई पक्राउ गर्न माग गरिएको छ जाहेरीमा ।

अरबौंको ठेक्का हात पार्न अनेकन हर्कत गर्ने कम्पनीहरुका कारण देशमा निर्माणको गुणस्तर त खस्किएकै छ अलपत्र पनि परेको छ । यस्तै गरेको छ गौरी पार्वती निर्माण कम्पनीले ।

प्रतिक्रिया