५ आश्विन २०८१, शनिबार | September 21, 2024

बाबुको पहिचान नभएका सहित गैरआवासीयले नागरिकता पाउने बाटो खुल्यो


0
Shares

काठमाडौं, ८ असार । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको हो ।

बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । यससँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको विधेयक कार्यन्वयनमा यसअघि लागेको रोक हटेको छ ।

अघिल्लो संसदबाट पास भएर प्रमाणीकरणका लागि पठाएको विधेयक पछिल्लो संसद र त्यसबाट निर्वाचित राष्ट्रपतिले प्रमाणीकरण गरेको कारण त्यो कानुनसँग बाझिएको भन्दै सर्वोच्चमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने तथा डा.सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए । रिटमा यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

बिहीबार अल्पकालीन अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा भएको सुनुवाइमा न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । यससँगै प्रमाणीकरण भएको विधेयकका आधारमा नगरिकता पाउन योग्य भएकाहरुले नागरिकता पाउने बाटो खुलेको छ । अब नयाँ कानुनमा जन्मसिद्ध नागरिकका सन्तान, बाबुको पहिचान हुन नसकेका व्यक्तिसँगै गैरआवासीय नेपालीका नातिनातिनासम्मलाई नागरिकता लिन पाउँने छन् ।

प्रतिक्रिया