१० श्रावण २०८१, बिहिबार | July 25, 2024

यस्ता छन् नयाँ मुख्य सचिवका चुनौती र जिम्मेवारी


0
Shares

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ ।

सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा अर्याल अप्रत्यासित रूपमा सरकारको मुख्य सचिवमा नियुक्त हुनुभएको हो । उहाँ आगामी तीन वर्षका लागि मुख्य सचिव बन्नुभएको छ ।

बिहीबार आकस्मिक रुपमा सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले हालका मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्दै उहाँको ठाउँमा अर्याललाई ल्याएको हो । अर्यालको यो नियुक्तिलाई ‘नाटकीय’ र ‘अप्राकृतिक’ रूपमा हेरिएको छ । राजनीतिक र प्रशासन दुवै विकृत भइरहेको अवस्थामा उहाँ मुख्य सचिव बन्दै गर्दा उहाँमाथि चुनौतीको चाङ छ । चुनौतीको चाङबीच उहाँलाई अप्राकृतिक किसिमले मुख्य सचिव बनेको आरोप लागेकाले उहाँले प्रभावकारी र स्वाभिमानी रूपमा ‘एस म्यान’ नबनी प्रशासनको साख उच्च बनाउने गरी काम गरेमा उहाँमाथि लागेको आरोपको खण्डन हुनसक्ने देखिन्छ ।

हालका मुख्य सचिव शंकरदास वैरागीको अवकाशको समय साढे चार महिना रहेकै अवस्थामा उहाँलाई अन्यत्र पठाएर यही ३ असारमा सेवानिवृत्त हुने क्रममा रहेका अर्याललाई मुख्य सचिव बनाइएको हो । यसैकारण यसलाई सरकारको अप्राकृतिक कदमको रूपमा हेरिएको छ । सरकारको यस्तो कदमले प्रशासनमा अनुमानयोग्य बढुवा प्रणालीमा गम्भीर क्षति पुग्ने र प्रशासनमा क्षयीकरण हुने विज्ञहरूले बताएका छन् । यसले प्रशासनलाई चरम अस्थिर र भद्रगोल बनाउन सक्ने भन्दै प्रशासनविद्ले चिन्ता व्यक्त गरेका छन् ।

मुख्य सचिवले आफ्नो पूरै अवधि नसकाउँदै छोड्ने अवस्था आउनु र उनको कार्यकाल नसकिँदै अर्को व्यक्तिलाई मुख्य सचिव बनाउने प्रवृत्तिका कारण यसलाई नाटकीय र अप्राकृतिक रूपमा हेरिएको प्रशासनविद् श्यामप्रसाद मैनालीले बताउनुभयो । कुनै विधि पद्धतिभन्दा पनि प्रधानमन्त्रीको तजबिजमा मुख्य सचिव ल्याउने तथा पुरानो मुख्य सचिवले सहजै छोड्ने प्रवृत्तिले प्रशासनलाई गम्भीर क्षयीकरण तर्फ लैजाने प्रशासनविद् मैनालीको तर्क छ ।

मुख्य सचिव वैरागीले पूरै अवधि अर्थात १४ जेठसम्म काम गरेको अवस्थामा अर्याल यही ३ असारमा स्वतः सेवानिवृत्त हुने भएकोले उहाँलाई मुख्य सचिव हुने कुनै पनि अवसर थिएन् । मैनालीले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘मुख्य सचिवको पदावधि नसकिँदै यसरी अर्याललाई ल्याइनु नाटकीय र अप्राकृतिक हो, यसले प्रशासनमा दूरगामी असर पार्छ । यद्यपि, यो प्रवृत्ति भने नयाँ होइन यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यसअघि प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि मुख्य सचिव बनाउँदा यस्तै अप्राकृतिक खेल खेलिएको थियो ।’

अन्तिम अवस्थामा आएर अर्याल एक्कासी मुख्य सचिव भएको भन्दै प्रशासन क्षेत्रमा विभिन्न खाले अनुमान गर्न थालिएको छ । सचिवको नियमित अवकाश हुनेभन्दा केही दिन अघि राजीनामा दिएमा केही बढी पेन्सन पाउने आशासहित अर्याल २५ जेठसम्म राजीनामा दिने मनस्थितिमा रहेको बताइन्छ । यद्यपि, त्यसपछि भने नयाँ घट्नाक्रम विकसित भएको र अर्याल मुख्य सचिव बन्ने वातावरण सिर्जना भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक सचिवले बताए ।

उनले भने– ‘ठुलै चलखेल भएको देखिन्छ, नत्र तत्कालीन मुख्य सचिवले हामीसँग १४ असोजसम्मै रहन्छु भनेर बारम्बार भन्नुभएको कुरा के नाटक मात्रै होला र रु प्रधानमन्त्री कार्यालयकै ती सचिवले प्रश्न गर्दै भने ‘वैकुण्ठ अर्याल पनि केही दिनदेखि राजीनामा बोकेर हिँडिरहेको छु भन्नुहुन्थ्यो त्यता पनि अर्को नाटक भएछ ।’ मुख्य सचिव शंकरदास वैरागीले पनि सहकर्मीहरूसँग केही दिन अघिसम्म आफू १४ असोजसम्मै रहने र त्यसअघि कतै नजाने अभिव्यक्ति दिने गरेको बताइन्छ । तर, दुई तीन दिनअघि मात्रै उहाँ पनि एक्कासी सुरक्षा परिषद् सल्लाहकारमा जान सहमत हुनुभएको थियो ।

ती सचिवले हालका मुख्य सचिवलाई राष्ट्रिय सुरक्षा परिषद्मा सेटिङ गरी अवकाशको मुखैमा रहेका अर्याललाई मुख्य सचिव बनाउने अप्राकृति खेलको पर्दाफास हँुदै जाने दाबी पनि गरे ।

प्रशासनमा राजनीतिक हस्तक्षेप भइरहेको र मुख्य सचिव बनाउने क्रममा समेत नांगो हस्तक्षेप हुने हँुदा सरकारको मुख्य सचिव को को होलान् भनेर जेष्ठताको आधारमा विश्लेषण गर्न समेत अब निकै कठिन हुन थालेको देखिएको छ । सामान्यतया मुख्य सचिवले पूरै अवधिसम्म जागिर खाएमा त्यसपछि लगत्तै मुख्य सचिव बन्ने सम्भावित केही वरिष्ठ सचिवहरूको अनुमान गर्न सकिने अवस्था रहन्छ तर यसरी जागिर अवधि नसकिँदै मुख्य सचिवलाई बिचैमा अन्यत्र जिम्मेवारी दिएर पठाउँदा को कहिले मुख्य सचिव बन्छ भन्ने कुराको अनुमान नै गर्न नसकिने अवस्था सिर्जना हुने प्रशासनविद्को भनाइ छ । यस्तो अवस्थाले नेपाली प्रशासनलाई चरमअस्थीर बनाइरहेको र यसको दूरगामी प्रभाव पर्ने प्रशासनविद् मैनालीको तर्क छ ।

मुख्य सचिवलाई पूरै अवधिसम्म काम गर्न नदिने, राजनीतिक दबाब र हस्तक्षेपको प्रवृत्तिका कारण करिएर पाथका क्रममा स्वभाविक रूपले मुख्य सचिवको प्रतिस्पर्धामा रहने अवसर पाउने कैयौं सचिवहरू त्यो अवसरबाट पूर्ण रूपले बञ्चित हुने अवस्था देखिएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यतिखेरका मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल बाँकी रहेकै अवस्थामा उहाँलाई बेलायतको राजदूतमा नियुक्त गरी नाटकीय रूपमा शंकरदास वैरागीलाई मुख्य सचिव बनाउनुभएको थियो । त्यतिखेर रेग्मीले मुख्य सचिवमा पूरै अवधि बिताएको भए वैरागीले नभई वरिष्ठ सचिव चन्द्रकुमार घिमिरे, विश्वनाथ ओलीलगायत मध्येले मुख्य सचिव बन्ने अवसर पाउने थिए । त्यसअघि तत्कालीन मुख्य सचिव डा। सोमलाल सुवेदीलाई पनि प्रचण्ड नेतृत्वकै सरकारले विदेशी नियोगमा सहसचिवस्तरको जागिरमा पठाएर अप्राकृतिक रूपमा लोकदर्शन रेग्मीलाई मुख्य सचिव बनाउँदा रोलक्रम नराम्ररी मिचिएको थियो । यसपटक पनि वैरागीलाई १४ असोज सम्मको अवधिसम्म कायम नराख्दा मुख्य सचिव बन्न सक्ने सम्भावित रोलक्रममा रहेका सचिवहरूमाथि घोर अन्याय भएको छ ।

वैरागी १४ असोजमा सेवानिवृत्त भएको अवस्थामा स्वभाविक रूपमा वरिष्ठताका आधारमा सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाई, केबल भण्डारी र दिनेशकुमार घिमिरेमध्ये एकले मुख्य सचिव बन्ने अवसर पाउथे । महिला मुख्य सचिव बन्न सक्ने सम्भावना पनि थियो । अब बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि स्वभाविक , प्राकृतिक र कानुनी रूपमा समेत मुख्य सचिव बन्ने अवसरमा रहेका सबैजनाको मुख्य सचिव हुने ढोका सधैंका लागि बन्द भएको छ ।

बैकुण्ठ अर्याल बिहीबार मुख्य सचिवमा नियुक्ति भएलगत्तै सरकारका एक बहालवाला सचिव मधुसुदन बुर्लाकोटीले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै मुख्य सचिव शंकरदास वैरागीले कानुनअनुसार पूरा अवधि सेवा नगरी निजामती सेवालाई महत्वहीन बनाउनुभएको अवस्था आफूहरूको मनोबल गिरेको उल्लेख गर्नुभएको छ । उहाँले नयाँ नियुक्ति हुने मुख्य सचिवले निजामती सेवालाई सम्मान गरिदिनुहुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । उहाँले मुख्य सचिवहरूले चाकडीमा लिप्त हुने संस्कार अन्त गर्नुपर्ने माग गर्नुभएको छ ।

यस कारण आकर्षक छ मुख्य सचिव पद

निजामती सेवामा प्रवेश गर्ने सबै कर्मचारीको चाहना सर्वोच्च पद मुख्य सचिवसम्म पुग्नुमा नै रहन्छ । तर, सबैले यो अवसर पाउदैनन् । यो निजामती सेवाको एक मात्रै सर्वोच्च पद हो । यो पदमा पदोन्नति हुँदा ३ वर्षको म्यादसमेत थप हुन्छ । मुख्य सचिवले अन्य व्यक्तिले भन्दा तीन वर्ष बढी सेवा गर्ने अवसर पाउँछन् । सेवानिवृत्त भएपछि पनि उनलाई अर्थ, राजनीति र प्रशासनिक गरी तीनवटै क्षेत्रले गन्यमान्य र उच्च क्षमता भएको व्यक्तिको रूपमा लिने गर्छ ।

यस्ता छन् नयाँ मुख्य सचिवका चुनौती र जिम्मेवारी

१। अप्राकृतिक नियुक्तिको आरोपलाई कामबाट खण्डन गर्ने
२ ‘गर्भनेन्स सिस्टम’मा आमूल सुधार ल्याउनुपर्ने
३। प्रधानमन्त्रीलाई पनि मार्गदर्शन गर्न सक्ने कार्यकुशलता प्रदर्शन गर्ने ।
४। सबै कर्मचारीको पीरमर्कालाई नजिकबाट आत्मसात गर्नुपर्ने
५।व्यक्तिगत स्वार्थमा लिप्त हुन नहुने, मोलमोहिजा नगर्ने
६।भविष्यमा आकर्षक नियुक्ति पाउनका लागि राजनीतिक नेतृत्वको ‘एस म्यान’ बनेर प्रशासनलाई कमजोर बनाउन नहुने
७ ।छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने
८।चुनौतीसँग लुकेर होइन, डटेर सामना गर्न सक्नुपर्ने
९।संघीय शासन अनुसारको निजामती सेवाको पुनःसंचरना गर्नुपर्ने
१०।संघ, प्रदेश र स्थानीय तहबीच उचित समन्वय र सहजीकरण गर्नुपर्ने
११।बन्न बाँकी रहेका दर्जनांै कानुन निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने
१२।प्रधानमन्त्री कार्यालयलाई ‘सेन्ट्रल अफ एक्सेलेन्स’ बनाउनु पर्ने
१३।हेलो सरकार कार्यक्रमलाई सबल बनाउनुपर्ने
१४।सचिव बैठकलाई नीति विश्लेषण गर्ने थलोको रूपमा विकसित गर्ने
१५।सहसचिव तथा सचिवको बढुवा, सरुवा र पदस्थापनमा न्याय प्रदान गर्ने
१६।बिचौलिया र माफियाबाट टाढा रहनुपर्ने
१७। सुशासन ऐनको अक्षरशः कार्यान्वयन गर्ने
१८। नियम कानुनको खिल्ली उडाउने गरी काम नगर्ने
१९। मन्त्रालयको अनुगमन गर्न विशेष प्रणालीको विकास गर्ने
२०। नवप्रर्वद्धनात्मक, विकास र सुशासनका कार्यलाई विशेष ध्यान दिने

मुख्य सचिव छोडेर अन्यत्र जागिर खानेहरू

भोजराज घिमिरे
डा। सोमलाल सुवेदी
लोकदर्शन रेग्मी
शंकरदास वैैरागी
समाचारपत्रबाट

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया