काँग्रेसको जरासम्म जहर फिँजाइयो-कुन्दनराज काफ्ले
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले ले पार्टीभित्र पछिल्ला वर्षहरूमा उठाइएका विशेष अधिवेशन र सदस्यता अद्यावधिकका विषयले कांग्रेसलाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काफ्लेले विशेष अधिवेशनको एजेन्डा योजनाबद्ध रूपमा अघि सारिएको दाबी गरेका छन्। उनले उक्त अभियानले पार्टीभित्र विभाजन, अविश्वास र कटुता बढाएको मात्र होइन, निर्वाचनमा समेत नकारात्मक असर पारेको उल्लेख गरेका छन्।
काफ्लेका अनुसार पार्टीका इमानदार महाधिवेशन प्रतिनिधिहरूलाई भ्रममा पारेर विशेष अधिवेशनका लागि हस्ताक्षर संकलन गराइएको थियो। उनले त्यसलाई ‘नियोजित र प्रायोजित अभियान’ को संज्ञा दिँदै यसको उद्देश्य कांग्रेसलाई कमजोर बनाउनु रहेको बताएका छन्।
उनले वर्तमान नेतृत्वमाथि पनि सदस्यता नवीकरण गरिसकेका कार्यकर्तामाथि दबाब सिर्जना गरिएको आरोप लगाएका छन्। यसले वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताको आत्मसम्मानमा चोट पुगेको र संगठन थप कमजोर बनेको उनको भनाइ छ।
काफ्लेले कांग्रेसभित्र आवश्यक बहस विशेष अधिवेशनतर्फ मोडिँदा पार्टीको मूल समस्या ओझेलमा परेको तर्क गरेका छन्। संविधान कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण, समाजवादी मूल्यको संरक्षण तथा जनतासँगको सम्बन्ध मजबुत बनाउने विषयमा गम्भीर समीक्षा हुनुपर्नेमा नेतृत्व व्यक्तिगत महत्वाकांक्षातर्फ केन्द्रित भएको उनको आरोप छ।
पन्ध्रौँ महाधिवेशनलाई लक्षित गर्दै उनले पार्टीलाई निष्पक्ष र सबैलाई स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्। पार्टीभित्रको भाइचारा, एकता र विश्वास पुनःस्थापित गर्न सके मात्र कांग्रेसले गुमेको जनविश्वास फर्काउन सक्ने उनको भनाइ छ।
काफ्लेले कांग्रेस कार्यकर्तालाई डर, धम्की वा दबाबबाट प्रभावित नभई पार्टी पुनर्निर्माणमा जुट्न आह्वान गरेका छन्। गुटबन्दी, फुट र लुटको राजनीतिलाई अन्त्य गर्दै सिद्धान्त, त्याग र समर्पणको मार्गमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले अन्त्यमा कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सबै नेता–कार्यकर्ताले स्वाभिमान, इमानदारी र एकताको भावना बलियो बनाउनुपर्ने बताएका छन्।

