९ माघ २०८१, बुधबार | January 22, 2025

राष्ट्रपति पौडेलको ऐतिहासिक भुल


498
Shares

हेम शंकर गिरी। सिक्किमका काजि लेण्डुप दोर्जि जीवनको अन्तिम क्षणमा जसरी तड्पिन पर्याे र मृत्युपछि पनि सिक्किमका नागरिकहरुले यिनको नरकमा बास होस भनेर सराप दिंदै नरकमै होलान भन्ने बिश्वास समेत गरिरहेका होलान । किनभने, आफ्नो सुन्दर, स्वतन्त्र, स्वाभिमानी र सार्बभौम राष्ट्रको अस्तित्व गुमाएर छिमेकी मुलुकमा बिलय हुनुपर्दाको असहृय पीडा छ सिक्किमेली जनतालाई !

सबैखाले चेतनाले भरिपुर्ण जुनसुकै देशका नागरिकमा आफ्नो जन्मभूमी,स्वतन्त्रता,स्वाधिनता र सार्बभौमिकता जन्मदिने माताभन्दा प्यारो हुन्छ । दुखका साथ भन्नुपर्दा आज हामी नेपालीले त्यही चिज मात्र गुमाउंदै छैनौं । अबको एक दशकपछि आफ्ना सन्ततिलाई नेपाली पहिचान र नेपाली नागरिकता दिलाउन सक्छौं कि सक्दैनौ भन्ने शंसय पैदा भएको छ ।

बि.सं २००९ सालदेखि सुरु भएको जनसंख्याको राजनितिलाई छलेर नेपालीले मात्र नेपाली नागरिकता पाउँछन् भन्ने अबधारणा अगाडि सारेर देश जोगाउन खोज्दा राजा महेन्द्र र उनका छोरा राजा बीरेन्द्रले आफ्नै जीवनको दुखद अन्त्य ब्यहोर्नु पर्याे । दिल्ली दरबारमै डिजाइन भएको कथित जनयुद्धको अन्त्य गरि शान्ति वार्तामा आउनासाथ युद्ध पक्षधरहरुले पहिलो शर्त नै नागरिकताको बिषय अगाडि सारे । जो कि उनिहरुले २०५२ फागुन १ भन्दा अगाडि तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाएको ४० सुत्रे मागमा समेत नपरेको बिषयको माग तेर्साएपछि २०६३ साल मंसीर १० मा नागरिकता ऐन ल्याएर बितरण गरिएको नागरिकता मध्ये ४० लाख भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको कुरा स्वयं भारतका जिम्मेवार ब्यक्तित्वहरु साथै १७ नोभेम्वर २०१५ को नवभारत टाइम्सले पुष्टि गरेको बिषय हो ।

आज फेरि नेपाली नागरिकले नागरिकता नपाएको साथै उनीहरु सबैखाले अधिकारहरुबाट बञ्चित हुनुपरेको भन्ने कथाको रचना गरेर फेरि तिनै ४० लाखको सन्तानहरुलाई बंशजको आधारमा नागरिकता दिन नेपाल नागरिकता ऐन २०६३ को दफा ५(२) लाई संशोधन गर्न अघिल्लो गठबन्धन सरकारले ल्याएको बिधेयक नेपालको संविधान २०७२ को धारा ५ बमोजिम राष्ट्रियहित बिपरित भएकोले उक्त राष्ट्रघाती बिधेयक प्रमाणीकरण नगर्न विभिन्न सामाजिक संघ संस्था,नागरिकता बिज्ञ,अभियन्ता,बिद्वान ब्यक्तित्व,पुर्व विशिष्ट राष्ट्रसेवक,न्यायकर्मी,सेना तथा प्रहरीबाट अवकाश विशिष्ट पदाधिकारीहरु र पुर्व सुरक्षाकर्मी परिषद नेपालले तत्कालीन सम्माननीय राष्ट्रपतिज्युलाई ध्यानाकर्षण गराए पश्चात उहाँबाट बिधेयक प्रमाणीकरण नगरि निष्कृय बनाउनु भएकोमा हामीहरुले एकपटकलाई देश जोगिएको महशुस गरेका थियौं ।

राष्ट्रपति संस्था अविछिन्न उत्तराधिकारी संस्था पनि हो र अघिल्लो राष्ट्रपतिले राष्ट्रहित बिपरित ठहर गरि प्रमाणीकरण गर्न अस्विकार गर्नु भएको साथै अघिल्लो पटकको उक्त बिधेयक पारित गर्ने प्रतिनिधिसभाको समेत कार्यकाल समाप्त भई नयाँ जनादेश प्राप्त प्रतिनिधिसभाको बिजनेश बन्नु पर्नेमा सो नगरी निष्कृय भएको बिधेयकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण निक्लनु २ घण्टा अगाडि हालको राष्ट्रपतिबाट असंबैधानिक तवरले साथै अझ भन्नुपर्दा अघिल्लो राष्ट्रपति र सभामुखको नाम राखेर पुछारमा आफ्नो नाम हातले थपेर प्रमाणीकरण गरेर मुलुकको स्वाधिनता,स्वतन्त्रता र सार्बभौम अस्तित्व धरापमा समेत परेकोले सर्बप्रथम राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल आमाले सराप्नेछिन साथै इतिहांसले समेत धिक्कार्नेछ ! अहिले यो अक्षम्य गल्तिको ढाकछोप गर्न संघिय संसदबाट दुई दुई पटक पारित भएर आएको आएको भन्ने प्रश्नपनि उठाईएको छ । कुनैपनि बिधेयक मुलुकको राष्ट्रियहित बिपरित छ भने संसदले दर्जनौ पटक पास गरेपनि राष्ट्राध्यक्षले प्रमाणीकरण गर्नु हुंदैन र संसदले गल्ति गर्छ कि भनेर नै त्यसलाई नियन्त्रण गर्न राज्य प्रमुखबाट बिधेयक प्रमाणीमरण गर्ने प्रावधान राखिएको हो ।

अहिले सत्ता पक्ष गठबन्धनका लम्पसारबादी राजनीतिक तथा बिदेशी दानापानीबाट बाचेका लेखक र कथित नेताहरु यो राष्ट्रघाती बिषयको पक्षपोषणमा लागेर कुर्लदै छन् र तिनिहरुलाई निम्न अनुसार प्रश्न गर्न चाहान्छु (१) यो देशमा नागरिकता सम्बन्धि त्यति ठुलो समस्या थियो भने सम्पुर्ण राजनीतिक दलहरुका प्रमुख ब्यक्तिहरु एकैठाउंमा बसेर छलफल तथा अन्र्तक्रिया गरि सो समस्या समाधानको लागि एउटा शक्तिशाली आयोग गठन गराई यसभन्दा अघि नेपाली नागरिकता नपाउनु पर्नेहरुले पाएको भन्ने बिषयमा छानबिन गरि खारेज गर्ने,पाउनुपर्नेहरुले नपाएकोलाई तुरुन्तै दिलाउने र एनआरएनहरुको लागि विशेष ब्यवस्था गर्ने सहमती गर्न र कानुन निर्माण गर्न के ले र कसले रोकेको छ ? (२) नेपालमा बिवाह गरेर आउने बिदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न ७ बर्ष नेपालमा बसोबास गर्नुपर्छ भन्ने राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनलाई किन र के को लागि हटाईएको ? (३) आमा भएका तर बाबुको पहिचान नखुलेका ब्यक्तिलाई नागरिकता प्रदान गर्दा नारी अस्मिता बिपरित हुन्छ कि हुंदैन साथै राष्ट्रहितमा छ कि छैन ? (४) अङ्गिकृत नागरिकता सम्बन्धमा बिदेशी नागरिकसंग बिवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मेका छोरा छोरीको हकमा यसअघि निजको नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले बिदेशी मुलुकको लिएको रहेनछ भने मात्र निजलाई अङ्गिकृत नेपाली नागरिकता दिन सकिने प्रावधान उक्त बिधेयकमा छ कि छैन ? (५) हालको उक्त बिधेयकमा मुल ऐनको दफा ५ को उपदफा (२) मा रहेको निजको नेपालमा जन्म भई भन्ने शब्द किन र के को लागि झिकिएको ?(६) नागरिक भनेको शब्द के हो र कसलाई नागरिक भनिन्छ ?(७) नागरिकता कानून मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता,आर्थिक अवस्था तथा भूराजनीतिक अवस्थासँग प्रत्यक्ष वा परोक्षरुपमा सम्बन्ध जोडिएको विषय हो कि होईन ? । (८) नागरिकताको बारेमा कलम चलाउँने र बोल्नेहरुले देशमा नागरिकता पाउन नसकेका व्यक्तिहरुले नागरिकता पाउन नसकेको कारणको मूल जड के हो भन्ने राम्ररी बुझेको छ कि छैन ? (९) खुद कति नेपालीले नागरिकता पाउन सकेका छैन र के कारण नपाएका हुन भन्ने कुरा थाहा छ कि छैन ? (१०) कसैको इशारामा विभिन्न आवरणमा हालको राष्ट्रघाती बिधेयकको पक्षपोषण गर्दै लाखौंलाख देशभक्त नागरिकहरुमाथि पुर्बाग्राही ढंगले खोक्रो राष्ट्रबादीको गरी गुथाउन मिल्छ कि मिल्दैन र यो राष्ट्रद्रोही हर्कत हो कि होईन ? (१२) कुनै पनि मुलुकको नागरिकता कानून त्यस देशका नागरिकहरुलाई नागरिकता दिनको लागि तर्जुमा गरिन्छ कि बिदेशीलाई दिन तर्जुमा गरिन्छ ? । (१३) केही कथित लेखकहरुले नागरिकतामा राजनीतिको गन्ध आयो भनी लेख्नु भएको रहेछ ! के देश जोगाउन गरिएका प्रयास र आवाजहरुलाई राजनिति मात्र देख्नुपनि देशभक्तिको भावनाको हत्या होईन र ? (१४) के कुनैपनि मुलुकको कानुनले त्यस मुलुकको सार्वभौमिकतामाथि खेलवाड गर्छ भने त्यस्तो कार्यलाई संविधानको कसीमा राखेर बचाउ गर्दै राजनीतिक लाभ वा हानी भनी लाञ्छित गर्न मिल्छ कि मिल्दैन ?

(१५) नागरिकता जस्तो संबेदनशिल विषयमा भ्रमपुर्ण र तथ्यहिन लेख प्रकाशन गरी नेपालको राष्ट्रियहित भन्दापनि नेपाललाई जनसंख्याको राजनितिद्वारा कब्जा जमाउने विदेशी चाहानालाई बल पुग्नेगरी दलालीको पराकाष्ट नाघ्नेहरुदेखि जोकोही देशभक्त नेपालीलाई पिडाको बिषय बन्न सक्छ कि सक्दैन ? (१६) आफ्नो मुलुकको भुराजनीतिक जटिलता, बिशेषता र संबेदनशीलतालाई भुलेर लम्पसारबादी शैलीमा प्रस्तुत हुनुलाई नेपाली पन र नेपाली मन मान्न सकिन्छ कि सकिँदैन ? (१७) कुनै मुलुकको संविधान सर्वोच्च हुन्छ कि त्यस मुलुकको राष्ट्रिय हित सर्बाेच्च हुन्छ ? (१८) कुनैपनि मुलुकको संविधानले त्यस मुलुकको राष्ट्रिय हितको संरक्षण गर्न सक्तैन भने मुलुकको राष्ट्रिय हित रोज्ने कि संविधान रोज्ने ? (१९) मुलुकको राष्ट्रिय हित सर्वोपरि मानिन्छ कि संविधान सर्बाेपरि मानिन्छ ? (२०) मुलुक र संविधान मध्ये एक मात्र रोज्नु पर्ने भयो भने कुन रोज्नु हुन्छ ? (२१) कतिले संविधान, संविधान भनी चिच्याएको पनि सुनिदै आएको छ । तपाईहरुलाई मेरो प्रश्न छ कि बेलायत, न्यूजिल्याण्ड, साउदी अरब र इजरायलमा संविधान छ कि छैन ? (२२)

यो नागरिकता विधेयक मुलुकको राष्ट्रिय हित अनुकुल छैन भन्ने सन्दर्भमा यस बिषयमा गहिरो अध्ययन अनुसन्धान गरी निरन्तररुपमा बिरोध जनाईरहेका अनुसन्धानकर्ता, राजनीतिक विश्लेषक, नागरिकता बिज्ञ, न्यायकर्मी बरिष्ठ कानून व्यवसायी, नागरिक समाज,पूर्व सुरक्षाकर्मी परिषद नेपाल तथा नेपाल सरकारको उच्च ओहदामा बसी सकेका पुर्व राष्ट्रसेवकहरुलाई समेत मुर्ख,अबुझ,अन्धो र खोक्रो राष्ट्रबादको अर्थ लाग्नेगरी एकलौटी बिचार पस्केर प्रचार गर्नु बिदेशी नुनको सोझो हो कि होईन ?(२३) यो नागरिकता विधेयकलाई राष्ट्रिय हित अनुकुल र रामचन्द्र पौडेलको कार्यलाई संवैधानिक भन्ने शक्ति तपाईहरुमा कसरी आयो र के विदेशीको जुठो नूनमा यस्तो अन्तराष्ट्रिय शक्ति हुन्छ ? (२४) तपाईंहरू कतिपयले “भारतीयहरु नेपाली नागरिकता लिन त्यति लालायित छैनन्” भनी तर्क गरेको भेटाईयो यस्तो कुतर्क गर्न तपाईहरुलाई किञ्चित पनि लज्जाबोध हुँदैन् र ? (२५) के तपाईहरुले बुझ्नु भएको छ कि हाल भारतमा कति सडक बालबालिका र कति घर विहिन छन भनेर ? (२६) भारतमा एक करोड ८० लाख सडक बालबालिका छन भन्ने कुरा सत्य हो कि होइन र विहारमा मात्र ३४ लाख परिवार खुला आकाशमा रात बिताउछन भन्ने तपाईहरुलाई थाहा छ कि छैन ? छैन भने भारतमा सडक बालबालिका तथा घरविहिन भनेर गुगल सर्च गर्नुहोस । यसपछि तपाईहरुका आँखामा लागेको कचेरा हट्न सक्छ । (२६) तपाईंहरुले लेखेको र बोलेको जस्तो छिमेकी मुलुक भारत लगायत अन्य मुलुकहरुमा हाम्रा नेपालीलाई यही प्रकारले नागरिकता लिने सहज छ कि छैन साथै उनिहरुले आफ्नो राष्ट्रिय स्वार्थ तथा राष्ट्रियताको सुरक्षा सम्बन्धि राष्ट्रिय मुल निति कसरी तय गरेका हुन्छन ? (२७) तपाईंहरु कतिपयले २०३८ सालको प्रावधान र अहिलेको प्रावधान फरक नरहेकोपनि जिकिर गरेको पनि भेटाईन्छ ! त्यसो भए २००९ सालमा भारतीयलाई मस्यौदाकार बनाई ल्याईएको नागरिकता ऐनलाई आधार मानेर नागरिकता पाएका दशौं लाख भारतीय मुलका नेपालीहरुले अहिले आफुलाई नेपाली भनेर गर्व गर्छन् कि गर्दैनन् ? (२८) २०३६ सालको जनमत संग्रहमा निर्दलसंग नागरिकता साटेर २०३८ सालमा ऐन ल्याउने सुर्यबहादुर थापालाई राष्ट्रिय पञ्चायतबाटै पदच्युत गरेको थाहा छ कि छैन ? त्यसैगरी २०४७ पछिपनि कांग्रेस सरकारलेपनि पटक पटक यही प्रयास गर्दा राजा बीरेन्द्रले यो बिषय सर्बाेच्च अदालतलाई जिम्मा लगाएको थाहा छ कि छैन् यसैगरी आमा र बाबुको ठेगान नभएको बाहानामा विना शर्त खुला सिमानाबाट प्रवेश गरेका सबैलाई नेपालको नागरिकता दिन सकिन्छ कि सकिदैन ? तसर्थ यी सबै विषयमा नेपालको भौगोलिक अवस्थिति, छिमेकी मुलुकको जनसंख्याको अवस्था, खुला सिमाना, आर्थिक अवस्था, रोजगारीको अवस्था र नेपालको भूराजनीतिक अवस्थालाई आधार बनाएर नेपालको नागरिकता कानून कस्तो हुनुपर्छ भनी तपाईहरुका पिताजीले नेपाली भुमिमा उब्जाउनु भएको अन्न खाएर अध्ययन गरि हेर्नुहोस त्यसपछि तपाईहरुका आँखामा लागेको बादल खुल्छ कि । यो हदको विदेशी मोह गर्ने तपाईहरुको स्वभावमा परिवर्तन भई राष्ट्रियताको भावना टुसाउँछ कि ? जय मातृभूमि नेपाल ।

(लेखक पुर्ब सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हुन् ।)

प्रतिक्रिया