जड्याहाले पनि नबोल्ने आधारहीन अभिव्यक्ति माओवादीले दियो : ओली

काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाई भ्रष्टाचार गरेछन् भनी माओवादी केन्द्रका सांसदले बोलेको कुराको पुष्टि हुनुपर्ने वताउनुभएको छ ।
अध्यक्ष ओलीले संसदजस्तो गरिमामय ठाउँमा जड्याहाले पनि नबोल्ने खालको आधारहीन, असत्य र जनतामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति माओवादी सांसदले दिएको वताउनुभयो ।
पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित दुई दिने अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जस्ले जिन्दगीभर भ्रष्टाचार विरोधी अभियान चलायो, उसैलाई भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– कोभिडको समयमा दुई खर्ब रुपियाँ भ्रष्टाचार गरे, पशुपतिमा सुनको भनेर
पित्तलको जलहरी चढाए भन्ने ? हाम्रा विरूद्ध जे बोले पनि हुने ?
अध्यक्ष ओली प्रधानमन्त्री रहेको समयमा पशुपतिमा सुनको जलहरी जडान गरिएको थियो । अध्यक्ष ओलीले आफ्नो काम रकम उपलब्ध गराउने भएको वताउनुभयो । उहाँले एमाले विरुद्ध संसद्मा आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले आज संसद् अवरुद्ध गरिएको बताउनुभयो ।
उहाँले गैरजिम्मेवार र अनुत्तरदायी तत्व संसद र सरकारमा पुगेको वताउँदै वर्तमान गठबन्धन सरकारले देशको पक्षमा कुनै काम नगरेको र एमालेको विरुद्धमा मात्र काम गरिरहेको वताउनुभयो ।
अध्यक्ष ओलीले आफूलाई कोशी प्रदेशका विभिन्न जिल्लामा जाँदा ज्यान मार्ने उद्देश्यका साथ ढुङ्गामुढा गर्दा पनि सरकारले किञ्चित दुःख मनाउ नगरेको वताउँदै सरकारले भित्रभित्रै हिंसालाई दुरुत्साहन गरिरहेको भनाइ राख्नुभयो ।
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको तर यस प्रकरणमा एमालेको संलग्नता नरहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– नक्कली भुटानी शरणार्थी प्रकरणमा को को संलग्न छन्, अदालतमा मुद्दा परेको छ, म भन्न चाहन्न । तर यस प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।’
उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभयो । पार्टीले २०८४ को निर्वाचनलाई लक्ष्य बनाई काम गरिरहेको छ, तपाईहरू पनि कस्ता कस्ता काम गर्ने योजना बनाएर काम गर्नुस् अध्यक्ष ओलीले भन्नुभयो । उहाँले देश र जनताप्रतिको उत्तरदायित्वलाई ध्यानमा राखेर काम गर्न र आचरण, बानी, व्यवहार, शैली सबै कुरामा एमाले जस्तो भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुप्प कँडेलले लेख्नुभएको ‘स्थानीय सरकारमा शुद्धता, जनप्रतिनिधिका प्रतिबद्धता’ पुस्तक विमोचन गर्नुभयो ।
पुस्तकका बारेमा संक्षेपमा प्रकाश पार्दै लेखक डा। कँडेलले पुस्तकमा समावेश गरिएका सामग्रीहरू सुशासन कायम गर्ने कुरामा जोड दिएर लेखिएको वताउनुभयो ।
भोलिसम्म सञ्चालन हुने प्रशिक्षणमा आज पहिलो दिन स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रशिक्षण दिनुभयो ।
त्यसैगरी, नगरपालिकाहरूमा सम्पादित काम र देखापरेका चुनौतीबारे घोराही नगरपालिकाका प्रमुख नरुलाल चौधरी, स्थानीय तहको न्याय सम्पादनका विषयमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र गाउँपालिकाहरूमा सम्पादित काम र देखापरेका चुनौतीका बारेमा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले आ– आफ्ना प्रस्तुति राख्नुभएको थियो । अनुशिक्षण कार्यक्रम पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।