२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पोखरा र भैरहवा विमानस्थलले यसकारण ल्याउँदैछ संकट


0
Shares

काठमाडौं, ३० वैशाख । चीनले मुख्य भूमिका खेलेको नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थलले संकट ल्याउने देखिएको छ । भैरहवाको गौतम बुद्ध विमानस्थल र पोखराको विमानस्थल अरबौं रुपैयाँ खर्च गरेर बनाएपनि राम्ररी सञ्चालनमा आउन सकेको छैन ।

गौतम बुद्ध विमानस्थलमा जजिरा एयरलाइन्सले हवाई सेवा प्रदान गरेपनि नियमित हुन सकेको छैन । उसले फेरि विविध कारण देखाएर विमान सञ्चालन रोकेको छ ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नै भएको छैन । जब कि यो विमानस्थलको पनि उदघाटन भइसकेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ७ करोड ६० लाख अमेरिकी डलरमा निर्माण भएको हो । १६ मई २०२२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा यो विमानस्थलको शिलान्यास गरेका थिए । तर, मोदीले यो विमानस्थल प्रयोग गरेनन् ।

एशियाली विकास बैंक र ओपेक फन्ड फर इन्टरनेशनल डेभलभमेन्टको ऋणमा चीनको नर्थवेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गौतम बुद्ध विमानस्थल निर्माण गरेको हो । यसलाई चीनको हिमालय क्षेत्रमा ठूला पूर्वाधार आयोजनाको एउटा भागका रुपमा लिइएको छ ।

चीन संलग्न भएको पोखरा विमानस्थल १ जनवरी २०२३ मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे । तर, उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । चीनले यो विमानस्थललाई बीआरआई अन्तर्गत भनेपछि विवाद निस्किएको छ ।

पोखरा विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकसँग २१ करोड ५० लाख डलर ऋण सम्झौता २०१६ मा भएको थियो । यसको लागत ३० करोड ५० लाख डलर उल्लेख छ । चिनियाँ कम्पनी सीएएमसीईले निर्माण गरिएको पोखरा विमानस्थलको लागत बढी भएको विषय जोडतोडले उठेको छ ।

नेपालका वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा विमानस्थलको लागत यथार्थपरक नभएको भन्दै बारम्बार बोलेका थिए । गौतम बुद्ध विमानस्थलभन्दा पोखरा विमानस्थलको लागत चार गुणाले बढी छ ।

नेपालमा त्रिभुवन विमानस्थल बाहेक थप दुई अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन् । त्यसमध्ये पोखरामा अन्तर्राष्ट्रिय उडान नै सञ्चालनमा आएको छैन । भैरहवामा उडान भएपनि नियमित छैन । यसबाट विमानस्थलहरु खर्चालु भई आर्थिक संकट बढाउने खतरा देखिदैछ ।

विमानस्थलहरु सञ्चालनमा नआउनुमा भारतले हवाई रुट उपलब्ध नगराउनु हो भनी उठाइएको छ । भारत भ्रमणमा जाँदा हवाई रुटको कुरा गर्ने तयारी नेपालले गरेपनि प्रधानमन्त्री प्रचण्डको भ्रमण नै अनिश्चित भएको छ ।

प्रतिक्रिया