१० जेष्ठ २०८१, बिहिबार | May 23, 2024

५ वर्षभित्र बुङ्गल नगरपालिकाका लागि देखेको सबै सपना साकार पार्नेछु : मेयर धामी


0
Shares

सन्जिब कार्की ।  १४ वैशाख । चुनावी मैदानमा होमिदै गर्दा देखेका सपना पुरा गर्न लाग्नुभएको छ जयबहादुर धामी । सुदूरपश्चिम प्रदेश अन्तर्गतको बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका मेयर धामीले ५ वर्ष भित्र आफूले देखेको विकासको सपना पूरा गरिछाड्ने अठोट लिनुभएको छ ।

जनतामाझ गरेका प्रतिबद्धता समयमै पुरा गर्न खोजे पनि विभिन्न बाधा अड्चन आउने उहाँको भनाइ छ । धेरै स्थानीय तहमा पर्याप्त मात्रामा जनशक्तिको अभाव छ । बुङ्गल नगरपालिकामा केही स्थान छन् जहाँ वर्षामा सवारी साधन जानै सक्दैनन् । ती ठाउँमा बाह्रै महिना गाडी जाने प्रबन्ध मिलाउने उहाँको योजना छ । आगामी वर्ष १० विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्ययन गराउने र ३–४ वटा स्कुललाई मा.वि. बनाउने उहाँको मुख्य लक्ष्य रहेको छ । मेयर धामी नगरपालिकाभित्रका समस्या बोकेर संघीय मन्त्रालय काठमाडौं आएको मौकामा नेपालपेन डटकमले  गरेको कुराकानीको सम्पादित अंश

काठमाडौं किन आउनुभयो ?

विभिन्न मन्त्रालयमा योजनाहरु पेश गर्न काठमाडौं आएको हु । नगरपालिकाको भवन बनाउने, एउटा÷दुइटामा तटबन्धन गर्ने, पक्की पुल,बाटाघाटालगायतका समस्या बोकेर यता आए र सम्बन्धित मन्त्रालयमा डकुमेन्ट पेश गरिसकेको छु । हाम्रो नगरमा ढुंगाखानी छ, विगतमा नगरपालिकाको सिफारिसमा कार्यपालिकाले निर्णय गरेर काठमाडौंतीर ढुंगा निकासा हुन्थ्यो तर अहिले निकासा रोकिएको छ । त्यसका लागि भुगर्व तथा खानी विभागमा गएर केही समन्वय पनि गरे । सामान्य प्रशासन मन्त्रालयले केही कार्यविधिहरु बनाउन पर्नेरहेछ, हामीसँग करिब ४ करोड जत्तिको म्याट्रियल छ त्यसको निकासा हुन पाएको छैन, त्यसबाट पालिकालाई २५–३० लाख रोयल्टी आउँछ, त्यो गर्न पाए नगरवासीहरुले ४ करोड भन्दा बढीको आम्दानी गर्छन् । त्यसको लागि कागजी डकुमेन्ट बुझ्न र अगाडी बढाउन काठमाडौं आएको हो ।

पछिल्ला समयमा नगरपालिकाले के काम गरिरहेको छ ?

चुनाव अघि बनाएका योजना÷बजेट वितरण गर्ने सुनाएका थियौ त्यसलाई कार्यान्वयन गर्नका लागि हामी ब्यस्त छौं ।

चुनाव अघिका एजेण्डा/योजना कार्यान्वयनका लागि कसरी अघि बढ्नु भएको छ ?

जुन एजेण्डा लिएर जनतामाझ गएका थियौं त्यसलाई शतप्रतिशत पुरा गर्ने तरिकाले त हिड्न सकेको छैनौं । विभिन्न तरिकाले बजेटहरु पनि सानो हुने, विभिन्न साथीहरुको इच्छा आकांक्षा पनि विभिन्न खाले भएकोले त्यसरी जान सकिएको छैन् । विशेष गरी त्यहाँको आधारभुत आवश्यकताहरुलाई परिपुर्ति गर्न अगाडी बढेका छौं । मुख्य भनेको बाटाघाटा नै हुन् । सबै जनताले खोजिरहेका हुन्छन्, पहिला अलिअलि ट्राक खोलेका थिए तिनीहरुलाई मर्मत गरी अलि राम्रोसँग सुचारु गर्ने तिर लागेका छौं ।

स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी सुरुवात गर्नुभएको छ ?

स्वास्थ्यको क्षेत्रमा अलि बढी ध्यान दिएका छौं । नगर स्वास्थ्य भवन बन्दैछ, त्यसमा टेण्डर भइसकेको थियो, यसमा अलि समस्या भएको थियो त्यसलाई फुकुवा गरेर अहिले जग्गा किनेर काम अगाडी बढाएका छौं । वडा कार्यालयहरु बनेका थिएनन् धेरै ठाउँमा टेन्डर गरेर अगाडी बढाएका छौं ।
यहाँको नगरभित्रका शिक्षा क्षेत्रको सुधार कसरी गर्ने यहाँको योजना छ ?
शिक्षामा भौतिक पूर्वाधार पनि नभएको र शिक्षाको गुणस्तर पनि नभएको अवस्था थियो, यसमा अंग्रेजी र नेपाली माध्यममा दुइटैमा अध्ययन गराउन लगाएका छौं अलिकति शिक्षक दरबन्दीहरु मिलान गर्ने प्रक्रियामा गइरहेका छौं त्यसका लागि डाटाहरु संकलन कार्य भइरहेको छ । सबै कुराहरु अघि बढीरहेका छन् ।

यहाँले अघि सार्नु भएका योजना ५ वर्षको अवधिमा पुरा गर्न सकिएला त ?

परिस्थिति सबैकुरा सहज भएमा ५ वर्ष भित्रमा पुरा नभएनी धेरै योजनाहरु पुरा गर्ने र केही योजनाहरु सुरुवात गरेर राम्रो नमुना नगरपालिका वा नगरपालिकाको राम्रो स्वरुप दिने तिर हामी अगाडी बढेका छौं ।

चुनावी मैदानमा हुँदा र जनप्रतिनिधि भएपछि कस्तो फरक हुँदो रहेछ ?

एकदम फरक हुने रहेछ, निर्वाचित हुनअघि यसो गर्छु उसो गर्छु भन्ने आत्म विश्वास हुन्थ्यो अहिले जनप्रतिनिधि भइसकेपछि त्यही काम गर्नका लागि निर्णय गछौं, श्रोत जुटाउँछौं तर कार्यान्वयन गर्न कर्मचारी साथीहरुको हेलचक्राई, जनशक्ति नभएको कारणले गर्दा कार्यान्वयन गर्न धेरै गाह्रो रहेछ भन्ने महसुस गरेको छु ।

कर्मचारीहरुबाट सहयोग कत्तिको पाउनु भएको छ ?

पहिलो कुरा त हामीसँग जनशक्ति छैन्, प्रमुख प्रशासकिय अधिकृत नभएको वर्षौ भयो निमित्तले चलाईरहेको थियौं निमित्तले पनि अनुभव छैन् भन्दै राजीनामा दिनुभयो, माघदेखि प्रमुख प्रशासकीय विहिन छौं । प्रशासकिय नभएर केदारसिंह गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतले नै ३ दिन उता ३ दिन यता काम गरिरहेको अवस्था छ । त्यसकारण हाम्रो योजना अनुसार काम हुन सकेको छैनौ ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने पनि त्यस्ता खाले कर्मचारी छैनन् विभिन्न सेक्टरमा प¥याप्त मात्रामा प्राविधिक धारमा पनि कर्मचारी छैनन् । एउटै कर्मचारीले धेरै ठाउँमा काम गर्नुपर्छ । टाढाको कुरा भएकोेले पनि उनीहरुका घरायशी धेरै समस्या हुन्छन् । कोही घर परिवार बिरामी भएर अस्पताल कुदिरहेका हुन्छत कोही अध्ययन विदामा हुन्छन् । जति हुन्छन् तिनीहरुमा स्किल्स्स नहुने, कहिले इन्टरनेटको समस्या हुने भएकोले एक हप्तामा गर्छु भन्ने टार्गेट गरेपनि त्यो ठ्याक्कै एक महिना लाग्ने अवस्था छ ।

संघ र प्रदेशबाट यहाँले आशा गरेअनुसार सहयोग पाउनु भएको छ त ?

मलाई लाग्छ केन्द्र र प्रदेशबाट हामीलाई सहयोग छैन् । पोहोर साल हामीले जेठमा निर्वाचित हुँदै गर्दा प्रदेशका योजना थिए, त्यो हामीसँग स्थानीय सरकारसँग कुनै खाल्को पनि समन्वय नभइकन हामीले सिफारिस गरेका योजनाहरु नभइकन कुनै कार्यकर्ताहरुले ल्याएका योजनाहरु छन्, जहाँ हाल्नुपर्ने तटबन्धन हो नदीको किनारमा त्यहाँ नभएर अर्कै कार्यकर्ताको घर नजिकैको खोलामा, सामान्य पहिरो गएको खोलोमा योजनाहरु दिएको अवस्था छ । त्यहाँका साथीहरुले यो त मैले किनेर ल्याएको हो भन्दै आउँछन्,जहाँ आवश्यकता थियो त्यहाँ चाँही योजना बाड्न पाएका छैनौं । प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको र प्रदेश सरकार र स्थानीय सरकारले सिफारिस गरेको योजनाहरु नदिएको अवस्था छ । मेरै नगरपालिकामा ५/६ करोड बढीको योजनाहरु परेको छ, त्यसमा मैले सिफारिस गरेको ५० लाख पनि छैन होला, ३ वटा योजना परेका छन् । बाँकी अन्य साथीहरुले पारेका हुन् । साथीहरुको आर्थिक आम्दानी कहाँ हुन्छ त्यो ठाउँमा योजना पारेका छन् । राष्ट्रपति शैक्षिक सुधार भवनहरु जुन छन् ति पनि साथीहरुले हामीले किनेर ल्याएका हौं भनेपनि यसपाली टेण्डर मैले नै हाल्ने व्यवस्था गरेको छु । सोचेको जस्तो गरी पदमा हुँदा पनि काम गर्न नसकिने अवस्था छ । अब सुधारात्मक दिशातीर जानुपर्छ भन्ने मलाई लाग्छ मैले संघीय मन्त्रालयमा कर्मचारीको खाँचो भएको जानकारी दिएको छु । दरबन्दी अनुसारको कर्मचारी दुर्गम क्षेत्रतिर अलि बढी फोकस गर्नुपर्छ भन्ने मन्त्रालयहरुलाई भनेको छु ।

नगरपालिकाको समग्र विकासको लागि स्थानीय श्रोत र साधन प¥याप्त छन् ?

प¥याप्त मात्रामा श्रोत साधन पनि छन् तर तिनलाई उपयोग गर्न सकेका छैनौं । नदीनालाबाट हाइड्रोपावर उत्पादन गर्न सकिन्छ, जडिबुटी ठुलो सम्भावना छन्, हाम्रो हिमाली क्षेत्रतीर यार्सागुम्बासहित बहुमुल्य जडिबुटी छन् त्यहाबाट बोरोका बोरा क्विन्टलका क्विन्टल गाडी भारत जान्छन् भारतबाट आर्युवेदिक र एलोवेदिक औषधी बनेर आउँछन् । औषधी प्रसोधन केन्द्र खोल्ने हो भने पूर्वमा औषधीका फ्याक्ट्रीहरु छन्, त्यसैगरी हाम्रो सुदुरपश्चिममा लगानी गर्ने हो भने कुनै पनि कच्चा पदार्थका लागि बाहिर जान पर्दैन ।

स्थानीय स्रोत साधनको उपयोगिताबारे कस्तो सोच बनाउनु भएको छ ?

अलिकति सुरुवात गरेका छौं । आर्युवेदिक औषधीका लागि दुइटा जडिबुटी प्रसोधन कम्पनी छन् तिनिहरुमा तेल उत्पादन गर्ने मेसिनहरु छन् । त्यहाँबाट उत्पादन भएका तेल युकेसम्म पठाएका छौं । त्यहाँ उत्पादन गरिएको आर्युवेदिक तेल जसले चोट लागेमा राम्रो औषधीको काम गर्छ । सुन्निएको ठिक हुन्छ । त्यस्तै,२÷३ ठाउँमा आर्युवेदिक औषधीहरु पिस्ने, बनाउने र धुलो बनाउने मेसिनहरु छन् ती धेरै जसो प्रयोगमा ल्याएका छौं । बझाङकै सबैभन्दा धेरै बुगल नगरपालिकामा प्रयोगमा ल्याएका छौं । कल्पसन जडिबुटी प्रसोधन केन्द्र छ त्यसबाट धेरै कामहरु गरिरहेका छन् ।

गिटीबालुवा निकासीको लागि कार्यविधि कस्तो बनाउनु भएको छ ?

गिटी बालुवाको लागि केही कार्यविधि बनाएर, रेटहरु तोकेर त्यसलाई अघि बढाउने छौं । गिटि बालुवा विक्रि वितरण नहुने भएपनि संकलन कार्य भने स्थानीयले गरिरहेका छन् । त्यसबाट अलिअलि करहरु लिएका छौं ।

यहाँले त निर्वाचित हुँदा गठबन्धनको समर्थन पनि पाउनुभएको थियो, अहिले अन्य दलको सहयोग पाउनुभएको छ कि छैन् ?

ठिकै छ । त्यस्तो धेरै राम्रो सहयोग पनि छैन् र विरोध पनि गरेका छैनन् ।

यहाँका आगामी योजना के के छन् ?

अर्को वर्ष पनि अहिलेको कामलाई निरन्तरता दिनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा बन्न लागेको स्वास्थ्य भवन, सबै वडामा स्वास्थ्य कार्यालय बनाउने,भौतिक संरचना तयार गर्नुपर्छ भन्नेमा लाग्छु । वर्खामा नचल्ने सडकहरुलाई बाह्रै महिना चल्ने बनाउने, २ ठुला नदीहरु पुल निर्माण गर्न प्रदेश र संघलाई आग्रह गर्ने मेरो योजना छन् । नदीमा अति नै पुलको आवश्यक छ उताबाट बजेट आएन भनेपनि नगरपालिकाकै बजेट हालेर भनेपनि त्यो काम अघि बढाउछु । शिक्षा क्षेत्रमा थालनी गरेको काम पुरा गर्ने, आगामी वर्ष ३–४ वटा स्कुललाई मावी बनाउने, १० वटा जतिलाई अंग्रेजी र नेपाली माध्यमबाट पढाइ गरेर अगाडी बढाउने ।

नगरपालिकाको समग्र विकासका लागि यहाँले देखेका समस्या र चुनौती के हुन् ?

बुगलको शिक्षा क्षेत्र एकदमै चुनौतिपुर्ण छ । ८४ वटा स्कुलहरु छन् जनसंख्या थोरै छन् ति स्कुलहरुलाई व्यवस्थापन गर्नु र अलिकति पढाइको गुणस्तरलाई ध्यान दिनु पर्ने जरुरी छ । गुणस्तर सुधार गर्नु सबैभन्दा ठुलो चुनौती छ । २ वटा ठुला नदी र ३० वटा खोलाहरु छन्, तिनिहरुले खेतीयोग्य जमिन काटिरहेका छन् । कटानबाट बचाउँन तटबन्धन गरेर बचाउुन ठुलो चुनौती छ । त्यहाँ करोड होइन अरबको बजेट चाहिन्छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया