३ आश्विन २०८१, बिहिबार | September 20, 2024

जित्दा आफूले जितेको र हार्दा अरुले हराए भन्ने भ्रमको खेती बन्द गर्नुपर्छ –इन्द्र बानियाँ


0
Shares

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका वागमति प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले निर्वाचनमा पराजय भएपछि अरुलाई दोष लाउने काम बन्द गर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन समारोहमा बोल्दै सभापति बानियाँले नयाँ वर्ष २०८० सबैको लागि फलदायी बनोस् भन्ने कामना गरे । उनले नयाँ वर्षले कांग्रेसमा देखिएका आन्तरिक विवाद कम गर्न सकोस् भन्ने शुभकामना दिए ।

‘जनतामा अरुबेला नजाने, चुनावमा मात्र जाने अनि पराजित भएपछि अर्कालाई दोष लगाउने काम अब बन्द गर्नुपर्छ’ उनले भने ‘जित्दा आफूले जितेको भन्ने हार्दा अरुले हराए भन्ने कुरा गलत हो, यस्ता कुराले कांग्रेसलाई क्षति गर्छ ।’ सभापति बानियाँले पार्टीलाई हराउन लाग्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने बताए । मकवानपुर १ बाट प्रतिनिधिसभाको उम्मेदवार भएकी कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याया ‘डिना’ ले आफूलाई बानियाँले हराएको आरोप लगाउँदै आएकी छिन् । यो क्षेत्रबाट राप्रपाका दिपकबहादुर सिंहले प्रतिनिधिसभाको निर्वाचन जिते । बानियाँले क्षेत्र नम्बर २ को ‘२’ नम्बर प्रदेशबाट निर्वाचन जिते । बानियाँले भनें निर्वाचनमा उपाध्यायालाई हराएको भनेर लाग्ने आरोपमा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

बानियाँले नयाँ वर्षले कांग्रेसभित्र एकताको सन्देश दिन सक्नुपर्ने बताए । उनले नयाँ वर्ष संविधान संशोधनको वर्ष हुनुपर्ने धारणा राखे । उनले स्थानीय तहको निर्वाचनमा वागमति प्रदेशमा कांग्रेस पहिलो पार्टी भएको स्मरण गराउँदै भने ‘हिजोको तिक्ततालाई अब विश्वासमा बदल्नुपर्छ, पार्टीभित्रको द्धन्द्धले समाजमा भ्रम छरेको छ ।’ उनले पछिल्लो समयमा राजनीतिक रुपमा धेरै परिवर्तन भए पनि आफूहरुले त्यसलाई सम्हाल्न नसकेको गुनासो गरे । उनले अहिले देशमा आर्थिक संकट भएकाले खर्चमा मितव्ययीता अपनाउन पनि सबैलाई आग्रह गरे ।

२०७० सालको निर्वाचनमा बानियाँले १ नम्बर क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचन जितेर कांग्रेसको खाता खोलेका थिए । २०७४ सालमा भनें कांग्रेस र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच तालमेल भएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा उम्मेदवार भएका थिए । थापालाई तत्कालीन नेकपामा उम्मेदवार एमाले नेता कृष्णप्रसाद दाहालले निर्वाचन हराए । बानियाँले २०७४ सालमा पनि अर्कै क्षेत्र पुगेर कमवानपुर २ ९२० बाट नै निर्वाचन जितेका थिए । २०७० सालमा ४ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको मकवानपुर क्षेत्र पुनर्संरचना गर्दा २ वटामा मात्र सीमित भएको थियो ।

सभापति बानियाँले समानुपातिक प्रणाली घातक भएको टिप्पणी गरे । उनले समानुपातिक प्रणालीलाई हटाउन संविधान संशोधन गर्नुपर्ने बताए । उनले समानुपातिकका कारण विकृति बढेको पनि दाबी गरे । उनले राष्ट्रियसभामा भनें विषयविज्ञलाई पठाउनुपर्नेमा जोड दिए । संसदीय दलको निर्वाचनमा संसदीय दलको नेताको उम्मेदवारी दिएका बानियाँ बहादुर सिंह लामासँग पराजित भए । बानियाँ यसअघि संसदीय दलको नेता थिए । प्रमुख अतिथिका रुपमा बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले समानुपातिक पद्धतिमा पनि केही विचार गर्नुपर्ने बेला भएको बताए ।

प्रतिक्रिया