३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नयाँ वर्षमै प्रचण्डले देखे गणतन्त्र उल्टने खतरा


0
Shares

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र उल्टने खतरा औल्याएका छन् । उनले नयाँ वर्षमा पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै गणतन्त्रलाई समाप्त पार्ने प्रयास भइरहेको बताएका हुन् ।

संविधानसभाबाट भएको गणतन्त्र घोषणालाई आत्मसाथ गरिएको तर अहिले यसलाई उल्टाउन ठूलै कसरत भइरहेको तर्क गरे । प्रचण्डले भने, संविधानसभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले यसलाई उल्टाउन कसरत ठूलै छ ।

प्रचण्डले नेपालमा २००८ मा घोषणा भएको गणतन्त्रमा आफ्नो मुख्य भूमिका रहेको बताउने गरेका छन् । तर, उनी बेला बेलामा यसमाथि खतरा ल्याउन खोजेको बताउने गर्छन् ।

गणतन्त्र मात्र नभई धर्मनीरपेक्षता र संघीयता नै उल्टने खतरा भइरहेको प्रचण्डले औल्याउने गरेका छन् । पछिल्लो समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई नियालिरहेको बताएका थिए ।

प्रचण्ड, माधव नेपाललगायत नेताहरु गणतन्त्र उल्टाउन खोजिएकोतर्फ गम्भीर भइरहेका छन् । यता गणतन्त्रविरोधी पक्षधर भने अझ सक्रिय भइरहेको छ ।

शुक्रवारको पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा प्रचण्डले गणतन्त्रका अलावा अन्य परिवर्तनमाथि अप्ठ्यारो स्थिति आउन नदिन जिम्मेवारबोध भएर काम गर्नुपर्ने बताए ।

बिहिबार पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा शुभकामना दिदै राजनीतिक दलका नेताले राजसंस्थालाई कायमै राख्ने विगतको सहमति तोडेको आरोप लगाएका थिए । उनले भद्र सहमति गर्ने तर उल्टाउने नैतिकहीन राजनीतिक चरित्र देखाएको भन्दै दलका नेताहरुको कडा आलोचना गरेका थिए । त्यसको भोलिपल्टै प्रचण्डले राजसंस्थाबारे उल्लेख नगरी गणतन्त्र समाप्त पार्ने प्रयासहरुबारे बोलेका हुन् ।

नेपालमा पछिल्लो समय राजसंस्था पक्षधरहरुको सक्रियता बढेको छ । पूर्वराजा शाहले गत महिना आफूसँग सम्झौता गर्न दलहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया