६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

पालिकाका लागि जग्गा दान गर्ने रघुगंगा गाउँपालिकाका अध्यक्ष भन्नुहुन्छः आँटे पछि जस्तोसुकै विकास सम्भव हुँदोरहेछ


0
Shares

काठमाडौं, १८ चैत्र । विकास गर्नेले पद पाएर मात्र सक्दैन बरु पदको गरिमा राख्दै मन लगाएर अहोरात्र खटिनुपर्छ । यही उदाहरण बन्नुभएको छ म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी । उहाँले गाउँपालिकालाई विकासको नमूना बनाउँदै निरन्तर काम गरिरहनुभएको छ ।

विकास प्रेमी भएकैले भवबहादुर भण्डारीलाई जनताले दोस्रोपटक पनि चुनाव जिताए । उहाँको कामले स्थानिय निकायले आम जनताको जीवनस्तरमा उल्लेखनिय सुधार गर्न सक्छ भन्ने देखाएको छ ।

अध्यक्ष भण्डारीले गाउँपालिकामा ७ सामुदायिक स्वास्थ्य इकाई, ५ वटा स्वास्थ्य चौकी, प्रहरी चौकी, बहुउद्देश्यीय सभाहलको काम बढिसकेको छ । गाउँपालिकाको प्रशासकिय भवनलाई पनि १३ रोपनी जग्गा मध्ये ९ रोपनी पास गरीसकिएको छ भने औद्योगिक ग्रामलाई ३५ रोपनी जग्गा व्यवस्थापन गर्नुभयो । त्यसका लागि उहाँले आफै सुरुवात गर्नुभयो २ रोपनी ३ आना जग्गा दिएर । आफै त्यागी भावनाका भण्डारीले नै जग्गा दान गरेपछि अरु पनि अगाडि बढे दान गर्न । गाउँपालिकाले सिप सिकाउँदै दक्ष रोजगारीको व्यवस्था गर्न १ हजार जनालाई विभिन्न किसिमका सिप सिकाईको तालिम दिंदै आएको छ । विकास प्रेमी गाउँपालिका अध्यक्ष भण्डारीसँग नेपालीपेन डटकमले गरेको कुराकानीको सम्पादीत अंश

निर्वाचन अघि यहाँले अघि सार्नुभएको प्रतिबद्धताको कार्यान्वयनको अवस्था कस्तो छ ? सुरुवात कसरी गर्नुभएको छ ?
चुनाव अघि मैले गरेका प्रतिबद्धतानुसार काम सुरु भइसकेको छ, प्रत्येक वर्षको पाँच महिना गाडी नचल्ने ठाउँमा डिपिआर सुरु गरेका छौं । तीन वटा वडामा जाने रोड खन्निएको छ । पुल बनाउने मेरो प्रतिबद्धता अनुसार सात÷आठ ठाउँमा बेलीब्रिज र पक्की पुल बनाइसकेका छौं । आठै वटा वडामा पक्की पुल बनाउने काम सुरु भएको छ । वडा नं ७ को धमाकुबाट साबिक वडाहरुको चिमखोला गाउँको पात्लिखेतमा डिपिआर गरेका छौं, वडा नं ६ घ्याङ्ग्रीखोलाबाट कालापानी जाने ठाडाखानी, कुहिने,द्यौलागिरी जाने ठाउँमा डिपिआर राम्रोसँग गरेका छौं । ६ नम्वर वडाकै घ्याङ्ग्रीखोलाबाट कोटगाँउ, पाखापानीकै मुलपानी जाने बाटो पनि पक्की बाटोको लागि डिपिआर गरियो ।

शिक्षा तथा रोजगारको क्षेत्रका काम कसरी सुरु गर्नुभएको छ ?
मुक्तिदान माध्यमिक विद्यालयमा कृषि प्राविधिक धार विद्यालय सञ्चालन गरिएको छ, जसमा ६७ जना विद्यार्थीहरु होस्टेलमा बस्ने व्यवस्था मिलाएका छौं । रोजगारीको लागि १ हजार जनालाई सिप सिकाउँदै दक्ष रोजगारीको व्यवस्था गर्न तालिम दिइरहेका छौं । ड्राइभिङ, ब्युटिसियन, सिलाइकटाइ, चुरापोते,तानसहित अनुदान दिएर ढाका बुनाईका तालिम दिइरहेका छौं । त्यस्तै, ट्याक्टर मर्मत तालिम, होटल व्यवसायीको तालिम, अर्गानिक मल बनाउने तालिम, हाते ट्याक्टर चलाउने, कार्पेन्टर तालिम दिएर गाउँपालिकालाई मात्र नभएर अन्य पालिकालाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गराउने हाम्रो लक्ष्य छ ।

पर्यटनलाई थप आकर्षण गर्न विकासबारे यहाँको कस्ता छन् योजना ?
पर्यटनमा पैदल यात्रालाई मुख्य आर्थिक स्रोत भनेर लामो डिपिआर द्यौलागिरी आइसफल नामाकरण भएको पर्यटनलाई १ सय २३ किलोमिटर पुला पौनसेबाट टोड्के हुँदै ५१ किलो डिपिआर गरेर त्यसलाई ठुलो बजेट माग गरेका छौं । त्यसमा ३/४ करोड बजेट पर्ने सम्भावना देखेका छौं । त्यसले गाउँपालिकाको रोजगारी र आर्थिक समृद्धिमा सर्पोट गर्छ ।

यति धेरै कामको थालनी गर्नुभएको छ, ५ वर्षको अवधिमा सम्पुर्ण काम सम्पन्न गर्न समय पर्याप्त हुन्छ त ?
आटे पछि हुँदो रहेछ जस्तो लाग्छ । म निर्वाचित हुँदा धेरै वस्तीहरुका सडकहरु थिएनन् । सडकहरु जोडियो, बेगबाट बादुक स्वास्थ्य चौकी जान ३ घण्टा लाग्थ्यो, स्वास्थ्य चौकीलाई आवश्यक जग्गा बन्दोबस्त गरियो । राखुको महेन्द्र आर्युर्वेदिक औषधालयको शाखा खोलेर त्यहाँबाट स्वास्थ्य सेवा दिइरहेका छौं । सात स्वास्थ्य चौकीमा औषधी उपलब्ध गराएर अहेव, अनमी गाउँपालिकाकै स्रोतबाट नियुक्ति गरेर चलाएका छौं । ७ सामुदायिक स्वास्थ्य इकाईलाई निशुल्क जग्गा व्यवस्था गरेका छौं । भवन बनायौं । ५ वटा स्वास्थ्य चौकीलाई निशुल्क जग्गा उपलब्ध गराएका छौं । प्रहरी चौकीलाई ३ रोपनी, बहुउद्देश्यीय सभाहललाई पनि निशुल्क जग्गा उपलब्ध गराएका छौं । आफ्नै गाउँपालिकाको प्रशासकिय भवनलाई पनि लगभग साढे ९ रोपनी जग्गा पास गरिसक्यौ । तत्कालै कित्ताकाट खुल्दा बित्तिकै थप जग्गा पास गर्ने तयारीमा छौं । कुल १३ रोपनी जग्गा गाउँपालिकालाई बन्दोबस्त गरिएको छ । औद्योगिक ग्रामलाई पनि ३५ रोपनी जग्गा व्यवस्थापन गरेर म आफैले २ रोपनी ३ आना जग्गा पास दिएर त्यहाँ औधीग्रामलाई अगाडी बढाइएको छ । पालिकालाई आवश्यक पर्ने जग्गा उपलब्ध गराइएको छ ।

तपाईले चुनाव अघि लिएका एजेण्डा, सोच र पदमा पुगेपछि कस्तो फरक पाउनुभयो ? सम्भावना र कठिनाई के रहेछन् ?
हामीसँग स्थानीय स्रोत पनि कम छ, प्रदेश संघबाट हामीलाई अड्कलेर पैसा आउँछ, काम गर्ने जागर हुँदाहुँदै, समय निकाल्दा निकाल्दै पनि बजेटकै अभावले सकिन्न की भन्ने डर लाग्छ नत्र भने अफ्ठेरो छैन् ।

यहाँहरुसँग योजनाका सूची लामै छन्, अल्पकालिन,दिर्घकालिन, तत्कालिन तीन वटा समय छुट्टाएर गर्दा पनि ५ वर्षमा प्रतिफल आउँछ ? जनताले यहाँकै पालामा विकासको आवास र अनुभुति गर्न पाउँछन् ?
साना साना काम पनि गुणस्तरीय तरिकाले गाउँपालिकाले अनुगमन गरेर राम्रोसँग सम्पन्न गरियो भने स्रोत सहि ठाउँमा छ, खोलो, पहिरो नजाने ठाउँमा भएमा उहाँहरुले तत्कालै पाउनुहुन्छ । नपाउने कुरै छै्न् ।

गाउँपालिकाको समग्र विकासका लागि स्थानीय स्रोत साधन पर्याप्त छन् ?
छैन्, एकदमै छैन् । स्रोत चाँही एकदमै कम छ । पहिला ढुंगा,गिटी,रोडा स्थानीय तहलाई जिम्मा दिइयो, अहिले मुक्तिनाथदेखि देवघाटसम्म चाँही सर्वोच्चले नै रोकेको अवस्था छ, स्थानीय स्रोत भनेकै ढुंगा,गिटी, बालुवा हो त्यसलाई आईई गरेर थोरै मात्र स्थानीय स्रोत साधन जम्मा गरेका गाउँपालिकालाई एकदमै गाह्रो भइरहेको छ ।

स्थानीय स्रोत साधनको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
गौरव योजनालाई ढुंगा, गिटी र बालुवा स्थानीय स्रोत हुन् । तिनिहरुलाई आईईको रिपोटअनुसार निकाल्न सरकारले दिनुपर्छ । सर्वोच्च अदालतले पनि फुकुवा गर्नूपर्छ । ती स्रोतलाई पानीले बगाएर भारततीर लैजान्छ तिनिहरुलाई स्थानीय निकायले प्रयोग गर्न पाउँदा धेरै राम्रो हुने थियो ।

यहाँले प्रदेश र संघको कत्तिको सहयोग पाउँनु भएको छ ?
सहयोग त अरु पालिकाले पाउने जति पाइराखिएको छ, संघीय र प्रदेश सरकारले ज्ञान केन्द्र, ध्यान केन्द्र जस्ता पालिकालाई दिने अधिकार दिन नखोज्ने, चाबी लगाउन खोज्ने भइराखेको अवस्था छ, पहिला आफैले गरेका प्रतिबद्धताहरु पनि सकेसम्म आफैले गर्न पाए भन्ने संघ र प्रदेशलाई छ ।

संघ,प्रदेश र स्थानीय तीन तहमा देखिएका चूनौती के हुन् ?
यसमा बजेट नै हो, जुनसुकै पार्टीबाट निर्वाचित भएपनि बजेटमै चुनौति छ । प्रदेश सरकारले पनि त्यहि हिसाबले गर्ने, आफैले बजेट हाल्न पाए प्रदेशकै नाम रहन्थ्यो भन्ने, पहिला स्थानीय निकायलाई दिएका अधिकार कुण्ठित गर्न खोज्दा, चाबी लगाउन खोज्ने गर्दा समस्या बढेको छ ।

स्थानीय निकायमा भएका वर्तमान संरचना, स्रोत शक्तिले जनताका अपेक्षा पुरा हुन सक्लान् ?
हुन्छ, सबै स्थानीय तह, प्रदेश संघ भन्दा पनि सक्रिय देखिन्छन् । पालिकाहरुले काम थोरै गरेपनि धेरै देखिन्छ ।

आफुले गरेका सम्पुर्ण प्रतिवद्धता पुरा गरेर जनताबाट ५ वर्षमा बिदाइ हुन्छु भन्नेमा कत्तिको विस्वस्त हुनुहुन्छ ?
एकदम छु, जुन काम आट्यो त्यो काममा बिट नमारेसम्म मैले अन्य काममा हात हाल्दिन, र पहिल्ये देखि हात हालेका काम सफल गराउने अठोट लिएको छु । जुन कुरा जनतालाई आश्वासन दिएको थिए, उहाँहरुको विश्वास डगमगाउन दिने छैन् ।

 

प्रतिक्रिया