२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

तनहुँ–१ का मतदाता भन्छन्–जसले पानी खुवायो उसैलाई भोट


0
Shares

काठमाडौं,१८ चैत्र । तनहुँ–१ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । प्रमुख प्रतिपक्ष दल  नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवारबारे अन्तिम निर्णय गर्न आज सचिवालय बैठक  बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलाई तनहूँ १ मा उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

तनुहँ–१ मा पार्टीमा लामो समय विताएका विकास प्रेमी एवं बौद्धिक व्यक्तित्व गोविन्द भट्टराईले चुनाव जित्ने मतदाताहरुको दाबी छ । कुनै पनि पदमा नरहे पनि भट्टराईले विभिन्न गाउँमा ठुलो परियोजना अन्तर्गत खानेपानी पुरयाएकाले तनहुँमा पानी खुवाउने मानिसको रुपमा चिन्ने गरेका छन् ।

बन्दिपुर–२ स्थित बरटारका प्रत्यक्ष रुपमा ७० घर धुरी लाभिान्वित हुने गरी भट्टराईकै पहलमा ८० लाख रुपैयाँ बराबरको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । जसबाट अहिले गुरुङ बस्तीका जनताहरुले सफा र स्वच्छ पानी घर घरमै धारो राखेर पिउन पाएका छन् । ठाडो खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष ज्ञानबहादुर गुरुङले कुवाँबाट बोक्नुपर्ने खानेपानीको समस्या अन्त्य गरिदिने नेता भट्टराईलाई भोट दिने बताए । उनले आफूमात्र नभएर गाउँका सबैले खानेपानी नेतालाई नै मत दिन आतुर रहेको सुनाए । उपभोक्ता समितिका सदस्य विपिन गुरुङले विकास प्रेमी नेता भट्टराई नै भएको दाबी गर्दै उनले निर्वाचन जित्ने ठोकुवा गरे ।

भट्टराईकै निरन्तर प्रयासमा बन्दिपुर २ सिमल्टारमा प्रत्यक्षरुपमा ८५ घर धुरीले सफा र स्वच्छ खानेपानी खाइरहेको सिमल्टार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले बताए । अध्यक्ष बानियाँको अनुसार सो आयोजना भट्टराईको पहलमा बजेट परेर १ करोड ५० लाख रुपैयाँको लागतमा डेढ वर्ष अघि निर्माण सम्पन्न भएको हो । “तनहुँमा कति नेता जिताइयो तर गोविन्द भट्टराईले कुनै पदमा नभएपनि जनताको लागि प्रशस्तै विकासका काम गर्नुभएको छ, उहाँलाई मत दिन सबै जनता तयार छन् ।”–उनले भने “गोबिन्द दाई ५९ वटा खानेपानीको योजना, विद्युतिकरण, विद्यालय निर्माण, सडक, पुल पुलेसा बजेट पार्न सफल हुनुभयो । उहाँ कांग्रेसका सरल तथा स्वच्छ छवि भएका बिकास प्रेमी युवा नेता हुनुहुन्छ । भट्टराई जस्तो विकास प्रेमी नेता सांसद भए तनहुँको मुहार फेरिने छ ।”

पार्टी जुन सुकै भएपनि गाउँलेलाई पानी खुवाउने नेतालाई एक मत दिने कुवादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ।
त्यस्तै, कुनै नेतृत्वदायी पदको अवसर नपाएपनि खानेपानी व्यवस्था गरी आफूहरुको समस्या हटाइदिने भट्टराईलाई नै भोट दिने पार्चे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पूर्व अध्यक्ष अमृत अधिकारीले बताए । राहुँटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर अधिकारीले नेपाली कांग्रेसले उपयुक्त नेता छानेर टिकट दिएकोमा धन्यवाद दिए । विकास प्रेमी नेता भट्टराईकै कारण राहुँटार बासीले स्वच्छ र सफा पानी पिउन पाएको प्रतिक्रिया दिए ।

भट्टराईले हालेको बजेटकै कारण रामकोेट बासीको घरघरमा पानी आइपुगेको रामकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर राना मगर बताउँछन् । उक्त खानेपानी आयोजना ३ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको हो । भट्टराईले बन्दिपर मुच्चुकमा खानेपानीको ठुलो आयोजना पारेका छन् ।

भट्टराईले नेकपा माओवादी, एकीकृत समाजवादीसहित ९ दलको समर्थन पाउनेछन् । एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार हुँदैछन् । तनहूँका जनताले काम धेरै गरेपनि अवसर नपाएको नेताको रुपमा भट्टराईलाई बुझ्ने गरेका छन् । ‘रामचन्द्रलाई राष्ट्रपति बनायौ, अब तपाईलाई न्याय गर्छौ जनताले मलाई भनेका छन्, मेरो जित निश्चित छ’ भट्टराईले भने ।

रास्वपाबाट उम्मेदवार हुने वाग्ले अर्थशास्त्री हुन् । उनी कांग्रेसमा महामन्त्री गगन थापा निकट मानिन्छन् । थापालाई प्रोजेक्ट गर्भर्मेन्ट नामक नीतिगत परियोजनामा पनि वाग्लेले सल्लाह दिएका थिए । तत्कालिन शुशिल कोइराला सरकारमा राष्ट्रिय योजना आयोग सदस्य र शेरबहादुर देउवाको पालनमा उपाध्यक्ष बनेका थिए । गत चुनावमा चितवन, गोरखा वा काठमाडौंमा एक स्थानबाट टिकट पाउने अपेक्षा गरेका वाग्लेले  देउवा र उनकी पत्नी आरजुसँग आक्रोसित हुँदै बिहीबार कांग्रेस परित्याग गरेको घोषणा गरे । रास्वपाबाट तनहुमा उम्मेदवार भएपनि उनलाई जित्न भने निकै चुनौती देखिन्छ । रास्वपाले आज तीन जिल्लामा हुने उपनिर्वाचनका उम्मेदवारी घोषणा गर्न पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

तनहुँ १ मा २०६४ मा नेकपा माओवादीका सुरेश आलेमगरले नेपाली कांग्रेसका गोविन्दराज जोशीलाई पराजित गरेका थिए । २०७० सालमा कांग्रेसका शंकर भण्डारी निर्वाचित भए भने २०७४ को चुनावमा नेकपा एमालेका किसान श्रेष्ठले रामचन्द्र पौडेललाई फराकिलो मतान्तरले पराजित गरे । गत मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट श्रेष्ठ बारा १ बाट चुनाव लडेका थिए । श्रेष्ठ बारामा चुनाव लड्ने सहमति अनुसार पौडेललाई सो क्षेत्रको टिकट पार्टीले दिएको थियो । मंसिरमा सम्पन्न भएको निर्वाचनमा पौडेलले कांग्रेससहित माओवादी, एकीकृत समाजवादीको समर्थनमा २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया