७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

सराङ्गकोटको भुमेकालिका शक्तिपिठमा चैते दशैँ पूजा सम्पन्न


0
Shares

काठमाडौं, १५ चैत्र । चैते दसैँ असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रीत रहन्छ । आज अष्टमी हो ।

दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामनाले बलि दिइन्छ ।

कास्कीको विन्ध्यवासिनी,तालबाराही, भद्रकाली, मन्दिरभन्दा पुरानो यस भुमेकालिका शक्तिपिठमा आज बिहानदेखी नै भक्तजनको घुँइचो लागेको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्राचीन तथा प्रसिद्ध सराङ्गकोट किल्ला कुलमण्डल खान (शाह) का जिजुको पालामा नै स्थापना गरिएको थियो । सराङ्गकोट कास्की राज्य कास्की कोट राजदरबार भएकोले थप सुरक्षाका लागी यहाँ कोत निर्माण भुमेकालिका शक्तिपिठ विकास भएको हो । सराङ्गकोटमा प्राचीन शैलीको वरपर घेरिएको शैन्य दुर्ग छ, दुर्गको बीचमा भुमेकालिका तथा भैरवको पूजा गरिने परम्परा निकै पुरानो छ । यो दुर्ग (कोट) ५०० वर्षभन्दा अगाडिको किल्ला हो, एकीकरणलाई आधार मान्दा लमजुङ गोर्खा भन्दा पनि अगाडिदेखी नै स्थापना भएको भुमेकालिका शक्तिपिठ र भैरव मन्दिर हुन् ।

सराङ्गकोटको भैरव पुुजारी विरबहादुर कुवँरका अनुसार चौबिसे राज्यका पालादेखि नै भैरवको पूजा गर्ने परम्परा छ ।

अष्ट भैरव मध्ये सराङ्गकोटको काला भैरव भन्जा र कास्कीकोटको काला भैरव मामा भन्ने किंवदन्ति पुर्वजबाट सुन्दै आएको कुरा जानकारी गराउनुभयो । प्रथम पूजा गर्दा सराङ्गकोटको भान्जा काला भैरवको पूजा गरेपछि कास्कीकोटको मामा काला भैरव पूजा गर्ने गरेको बताउनुभयो । भैरवको पञ्चबलिमा आफ्नो भाकल पुरा गर्न फलफुल, नरिवल, रोट, अण्डा, कुखुरा, पूजा गर्ने चलन पहिले देखि नै चलिआएको छ । उहाँले भैरवको मन्दिर पुरातात्विक पुरानै शैलिमा जिर्णोद्धार गरिनुपर्ने र रोट बनाउनको लागि धुना आवश्यक रहेको तथा अहिलेको मन्दिर र मुर्ति साघुँरो भएको हुदाँ पूजा गर्न असहज भएको कुरा बताउनुभयो ।

सराङ्गकोटका कटुवालको अनुसार किल्लाको मुल प्रवेशद्वारको वारपार पर्खालमा दुई खोपामा फुलपाति चामल जल पूजा सामग्रि चढाएर प्रवेश गरिन्छ । मठमन्दिरको परिसरमा रिङ्ग लगाएका पर्खाल थिए र त्यहाँ दुईपाखे ढुङ्गाको भुमेकालिका मन्दिर थियो । शक्तिपिठ नजिक २–४ फुट गहिरो पोखरीको संङ्लो पानि भुमेकालिका जाने बेलामा कटुवालले पिएको तर अहिले उक्त पोखरी नभएको र प्राचिन मौलिक चिजहरु हराउदै गएको कुरामा चिन्ता व्यक्त गरे ।

सराङ्गकोटका पाडा पुजारी सन्दिप थापा मगरका अनुसार पहिला गा. वि. स. बाट बजेट लिएर पूजा गरिन्थ्यो तर अहिले यो व्यवस्थित छैन । सराङ्गकोटमा भित्रपट्टि ५ फुट गहिरो ३ फिट गोलो खाल्डो खोपी थियो । जहाँ भुमेदेवताको पूजा हुन्थ्यो। सराङ्गकोटमा वेद, चण्डी, भुमेकालिका, महाकाली, महालक्ष्मी, महासरस्वती स्थापना गरी कलश र जमरा राखी भैरव,चण्डी,देउराली, स्थानीय देवताहरुको पूजा सम्पन्न गरिन्थ्यो ।

ऐतिहासिक सराङ्गकोट किल्ला, भुमेकालिका, भैरव मन्दिर, चण्डी, पौवा जस्ता पुरातात्विक सम्पदाहरुको अनुसन्धान गरि पुरानै शैलिमा पुनः जिर्णोद्धार गर्नुपर्ने स्थानियबासिले जनाए । ऐतिहासिक किल्ला क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक साँस्कृतिक सामग्री मासिँदै गएको उनीहरुको गुनासो छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया