२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

माओवादी हिंसात्मक गतिविधिको २९ वर्ष, देशले के पायो ?


February 13, 2024
1.5k
Shares

काठमाडौं, १ फागुन । आजभन्दा ठिक २९ वर्षअघि नेकपा माओवादी केन्द्रले सशस्त्र हिंसात्मक गतिविधि सुरु गरेको दिन । जनयुद्ध नाम दिएर सुरु गरेको हिंसामा १८ हजार ७६ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

माओवादीले यही हिंसाको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी गर्दै आएको छ । वास्तवमा यही हिंसाले देशलाई हिन्दुराष्ट्रबाट धर्मनीरपेक्षमा लान आधार तयार गरेको थियो ।

माओवादीको सशस्त्र गतिविधिले देशको राजनीतिक प्रणालीलाई नै बदल्ने अवस्थामा लग्यो । देश संघीयतामा गयो । संसदमा समानुपातिक निर्वाचन प्रणालीको सुरुवात भयो ।

माओवादी हिंसाले गाउँबाट शहरमा मानिसहरु पलायन हुने क्रम बढ्यो । अहिले फेरि देशबाट विदेशमा युवा पलायन बढिरहेको छ ।

देशमा परम्परागत धर्म संस्कृतिमाथि चौतर्फी आक्रमणहरु बढेका छन् अहिले । माओवादीले सबैभन्दा तारो हिन्दू धर्मगुरु र धर्मालम्बीलाई बनाएका थिए । मन्दिरका पूजारीहरु मारिए माओवादीबाट । संस्कृत पढाउने गुरुहरु पनि मारिए ।
माओवादीले काँग्रेस र एमालेलाई समेत धर्मनीरपेक्षमा जान वाध्य बनाउन सक्यो । प्रचण्डले आफ्नो विचारधाराले जितेको भन्दै आफ्नै शासन हुनुपर्ने दाबी गर्दै आएका छन् । उनले अहिलेको राजनीतिक प्रणाली नै प्रचण्डपथ हो भनेजसरी व्याख्या गर्छन् । वास्तवमा त्यसमा धेरै सत्यता पनि छ ।

देशमा भौतिक विकास त देखिएको छ तर बेरोजगारी बढेको छ । धनी र गरिबबीचको खाडल फराकिलो हुँदैछ । भ्रष्टाचार मौलाएको छ अहिले । नेपाल विश्वकै गरिब राष्ट्रको सूचीमा परेको छ ।

युवाशक्तिको पलायन सबैभन्दा खतरनाक बनिरहेको छ । यो क्रम चलिरहे देश झण्डै युवाविहिन हुने अवस्था पनि आउन सक्छ ।

नेपाली समाजमा जातीय र साम्प्रादायिक द्वेष फैलाउन माओवादी हिंसात्मक गतिविधिले भूमिका खेल्यो । जाति जातिबीच हिंसा मच्चाउने आधार तयार गर्यो । अहिले माओवादीले फेरि जातीय र क्षेत्रीय मुद्दालाई अघि सारेर राजनीति गर्ने रणनीति बनाइसकेको छ ।

माओवादीको १० वर्षे हिंसाले नेपालको समग्र विकासलाई अरु ५० वर्ष पछि धकेलेको छ । यो समग्र घटनाक्रमले देखाइरहेको छ ।

प्रतिक्रिया