४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आइटी माफिया विकल पौडेलले ओली देखि देउवासम्मलाई यसरी प्रभावमा पारेका थिए


January 25, 2024
3.8k
Shares

काठमाडौं, ११ माघ । विकल पौडेल देशको आइटी क्षेत्रमा घुस्नु कुनै संयोग थिएन । यसका पछाडि ठूलै ग्रान्डडिजाइन थियो । उनी अमेरिकाको पीआर लिएर सिंगापुर मुकाम बनाई सक्रियता देखाउँथे । विदेशी आइटी कम्पनीका अघोषित एजेन्ट पनि थिए विकल ।

जुन दिन उनी आइटी क्षेत्रमा पसे त्यतिबेला देखि नेपालको संवेदनशील सूचना हात पार्न थाले । व्यक्तिगत सूचना हात पार्ने गरी दाउपेच सुरु गरे । जसमा यहाँको संस्कृति र भाषामाथि प्रहारको उद्देश्य पनि थियो ।

राष्ट्रिय परिचयपत्र लागू गर्ने डिजाइन विकलकै थियो । यो परिचयपत्र बनाउँदा महिलाको सिन्दुर पुछ्ने र पुरुषको टोपी फुकाल्ने वाध्यता गराइन्थ्यो । त्यो संस्कृतिमाथि आक्रमण थियो ।

त्यसपछि उनी इम्बोस्ड नम्बर प्लेटको चलखेलमा पनि लागे । जुन नेपाली भाषा सिध्याउने दुरगामी योजना अन्तर्गत थियो । रोचक त यो छ कि इम्बोस्ड नम्बर प्लेटको ठेक्का अमेरिका र बँगलादेशको संयुक्त कम्पनीले हात पारेको थियो । यसमा अरबौंको कमिशनको खेल रह्यो । यसमा विरोध भएपछि अदालतलाई समेत प्रभाव पारे विकलको गिरोहले । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश हुँदा योजनावद्ध तरिकाले आदेश जारी गरी इम्बोस्ड नम्बर प्लेट राख्ने माहोल तयार गरियो । चोलेन्द्रले यो खेलमा आफ्ना विचौलियामार्फत् ठूलै रकम हात पारेका थिए ।

विकलले जुनसुकै सरकार आउँदा पनि प्रभाव बनाइरहे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबैभन्दा बलियो पकड बनाए । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा त आफ्ना विश्वासपात्र सुनिल पौडेललाई नेपाल टेलिकमको महाप्रबन्धक बनाए । यसमा पनि घूसको लेनदेन सिंगापुरमै भएको थियो । विकल सिंगापुरमा घूसको लेनदेन गर्दथे । त्यहाँ उनको मुकाम थियो ।

पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस देखि पेमेन्ट गेट वेको खेल खेलेका थिए । त्यसका लागि आफू अनुकूलको टिम नै बनाए आइटी क्षेत्रमा । देशको ऐन नियम नै परिवर्तन गराएर भएपनि आफू र आफू अनुकूलका पात्रलाई नियुक्ति दिलाए ।
विकलको अमेरिका र यूरोपमा ओहोरदोहोर शंकास्पद थियो । नेपालबाट पूँजीको गैरकानूनी पलायनमा पनि संलग्न भए । घूसको खेल विदेशमै खेल्थे । विकलले नै योजनावद्ध तरिकाले सुनिल पौडेललाई सूचना क्षेत्रका विभिन्न निकायमा नियुक्ति दिलाए । विदेशी कम्पनीलाई टेलिकमको ठेक्का दिलाउने योजना मुताविक सुनिल ल्याइएका थिए । जसमध्ये फाइभ जी पनि छ ।

पौडेल समूहको चलखेल चलिह्यो । तर, हदै नाघेपछि उनीहरु पालैपालो भ्रष्टाचार मुद्याको सामना गर्न पुगे । तर, तत्काल पक्राउ गरिएनन् । दुवैले सम्पत्ति व्यवस्थापन गर्न भ्याए । अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइटीसम्बन्धी भ्रष्टाचार काण्डमा मुद्या दायर गरिएका विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान बढाएको हो ।

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल करोडौंको भ्रष्टाचार काण्डमा मुछिएका पात्र हुन् । १५ असोज २०८० मा पौडेलसहितलाई अख्तियारले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्या दायर गरेको थियो । विकललाई २०८० को वैशाख महिनामा ७० करोडको बिगो दाबीसहित मुद्या दायर गरेको थियो ।

सुनिल र विकलको विदेश ओहोरदोहोर र आइटी माफियासँगको साँठगाँठबारे नेपाल पेनले प्रकाशित गर्दै आएको थियो । उनीहरुमाथि भ्रष्टाचार मुद्या चलाएपछि पनि पक्राउ गरिएको थिएन । दुवैले भ्रष्टाचार गर्ने र घूसको लेनदेन विदेशमा गर्दै आएका थिए ।सुनिल र विकलको समूह टेलिकम माफियासँग मिलेर ठूलै आर्थिक लेनदेन गरेका थिए ।

 

प्रतिक्रिया