३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मालदिभ्सबाट भारतलाई चीनको चुनौती, पर्यटन उद्योगमा धक्का


January 15, 2024
415
Shares

एजेन्सी, १ माघ । सतहमा हेर्दा मालदिभ्सको भारतसँग टकराव बढेको देखिन्छ । तर, त्यहाँ चीनले भारतलाई अप्ठ्यारो पार्ने रणनीतिक सुई घुमाएको छ ।

यसअघि भारतसँग सुमधुर सम्बन्ध भएका राष्ट्रपति थिए मालदिभ्समा । हालैको चुनावमा चीनसँग नजिक रहेका मोहम्मद मुइजू चुनिए । उनले चुनाव जितेलगत्तै चीनको भ्रमण गरे । जबकि मालदिभ्सका कुनैपनि राष्ट्रपतिको पहिलो भ्रमण भारत हुनेगर्दथ्यो ।

चीनबाट फर्किएलगत्तै मुइजूले भारतमा रहेका ८८ जना सैनिकलाई फर्कन भनेका छन् । १५ मार्चसम्मको समयसीमा तोकिएको छ यसका लागि । भारतले ती सैनिक मालदिभ्सलाई उपहारवापत् दिइएको विमान र हेलिकोप्टरको लागि पठाइएको भनेको छ ।

मालदिभ्सले भारतलाई अप्ठ्यारो पार्न खोजेपछि केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लक्छदीप टापु पुगे । मालदिभ्ससँग भारतको विवादले पर्यटन उद्योगमा असर परेको छ । भारतका हजारौं पर्यटक मालदिभ्सको यात्रा नगर्ने निर्णयमा पुगेका छन् । वार्षिक २ लाखभन्दा बढी भारतीय पर्यटक मालदिभ्स पुग्छन् ।

चीनले मालदिभ्समा ठूलो निर्माणको कामहरु हातमा लिएको छ । समुन्द्रमाथि पुल बनाउने देखि एयरपोर्ट लगायतको पूर्वाधारको काम लिएको छ । मालदिभ्समा उसले ऋण पनि दिएर लाभ लिएको छ । भारतले चीनको यस्तो गतिविधिप्रति चासो जनाएको छ । भारतले पनि मालदिभ्सलाई ठूलो आर्थिक सहयोग गर्दै आएको छ । भारतीयहरुको त्यहाँ ठूलो लगानी छ ।

अहिले भारतले मालदिभ्समार्फत् चीनले चुनौती दिइरहेको निष्कर्ष निकालेको छ । यसले मालदिभ्समा दुई शक्तिराष्ट्रको सिधा टकराव देखिइसकेको छ ।

प्रतिक्रिया