२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मेलमिलाप दिवसमा काँग्रेसले दिएन राप्रपा र रास्वपाका नेतालाई निम्तो


January 1, 2024
249
Shares

काठमाडौं, १६ पुस । नेपाली काँग्रसले प्रत्येक वर्ष आजकै दिन राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ । ४८ वर्षअघि आजकै दिन वीपी कोइराला राष्ट्रियता जोगाउनका लागि भन्दै राजा र जनता मिलेर जानुपर्ने सन्देश दिन स्वदेश फर्किएका थिए ।

८ वर्ष भारत निर्वासनपछि वीपी कोइराला तत्कालीन काँग्रेस नेताहरु गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईँलगायत मेलमिलापको नीति लिएर २०३३ पुस १७ मा फर्किएका थिए ।

वीपीले उदारता भावका साथ लिएको मेलमिलाप नीतिमा राजा र जनताको मेलमिलाप नै थियो । तर, देशमा अहिले राजा छैनन् । राजा ल्याउनुपर्छ भन्ने राप्रपा रहेको छ । व्यवस्थालाई चुनौती दिने अर्को दल रास्वपा पनि रहेको छ ।

मेलमिलाप दिवसमा काँग्रेसले प्रज्ञा भवनमा आयोजना गर्ने कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय छ । काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतलाई निम्तो गरिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा अध्यक्ष रवि लामिछानेलाई भने निम्तो गरिएको छैन । उनीहरु व्यवस्था विरोधी भएको भन्दै काँग्रेसले निम्तो नगरेको हो । मेलमिलाप दिवसमा लिङ्देन र लामिछाने छुटाइनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया