३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एनसेल प्रकरणले प्रचण्डको सत्ता संकटमा


December 11, 2023
1.5k
Shares

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री प्रचण्ड एनसेल प्रकरणले संकटमा परेका छन् । संसदभित्र र बाहिर समेत बढेको जन असन्तुष्टि थेग्न प्रचण्डलाई हम्मे पर्दै गएको छ । जसका कारण उनी सत्ताबाट हट्नुपर्ने वाध्यकारी अवस्था आउने देखिइसकेको छ ।

एनसेल प्रकरण सामसुम पार्न एकपछि अर्को रणनीति चालेपनि असफल हुँदै गएपछि प्रचण्डले सार्वजनिक रुपमा प्रतिवाद गर्न आफू पक्षधरलाई आव्हान गरेका छन् । उनले यसबारे अतिवादीले भ्रम फैलाएको भन्दै राजनीतिकरण गर्न खोजेका छन् । उनले सोमबार सार्वजनिक रुपमै अतिवादीहरुको प्रतिवाद गर्न भनेका छन् ।

प्रचण्डनिकट माओवादी नेता दीपशिखाले एनसेल प्रकरणमा प्रचण्डको संलग्नताको आरोप लगाउने सांसद अमरेश सिंहलाई नांगेझार पार्ने चेतावनी दिइसके । यसरी प्रचण्ड आफू र आफ्ना पक्षधरलाई डर धम्की देखाउने अवस्थामा पुगेका छन् । एनसेल प्रकरणमा बोल्ने र लेख्नेमाथि प्रचण्डले धम्कीको भाषा प्रयोग गर्नुले उनी निकै कमजोर हालतमा पुगेको देखिइसकेको छ ।

सांसद सिंहले त प्रचण्डकी छोरी गंगा दाहालले घूस लिएको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । उनले समय आएपछि यसको भण्डाफोर गर्ने समेत बताए । यो प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा पनि संलग्न भएको खुलेको छ ।

एनसेलसँग मुख्य दलका शिर्ष नेता सबैले घूस लिएको विषय खुल्दै गएको छ । एनसेललाई कर छलीमा छूट दिने गरी राष्ट्रिय सहमति नै गरेको देखिन्छ । सबै नेता चुकेकाले प्रचण्ड एनसेल कर छलीलाई बढाउन छूट दिने ग्रान्डडिजाइनलाई बढाउन दिने गरी बढेको खुल्दै गएको छ ।

राष्ट्रघाती एनसेल प्रकरणबारे पूर्वमाओवादी नेता समेत रहेका विश्लेषक मुमाराम खनालले प्रचण्डका छोरीहरुलाई ल्याप्चे संज्ञा दिदै पैसा उठाउनेवाहेक अरु कुनै काम गर्न नसक्ने हैसियतका भएको टिप्पणी गरे । खनालले प्रचण्डलाई भ्रष्ट काजगी बाघ भनेका छन् ।

एनसेल प्रकरणमा सत्तारुढ दलका शीर्ष नेताहरु देखि प्रतिपक्षी दलका नेताहरु समेत प्रत्यक्ष अप्रत्यक्ष जोडिएका छन् । त्यसैले प्रधानमन्त्रीको संलग्नतामा यति ठूलो भ्रष्टाचार हुँदा पनि उनीहरु कुनै कडा कदम चाल्ने साहस गर्न सक्दैनन् । तर, भित्र भित्र यही प्रकरणलाई लिएर प्रचण्डलाई सत्ताबाट हटाउने खेल सुरु भइसेकेको छ ।

विश्वस्त स्रोतका अनुसार माफियाको योजनामा एनसेल प्रकरणका लागि मुख्यसचिव बनाइएका बैकुण्ठ अर्यालसहितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गर्दैछ । यही प्रकरणमा जोडिएका छानविन समितिका प्रमुख बनाइएका टंकमणि शर्मा पनि ठूलै संकटमा पर्ने भएका छन् । यो मामलामा जोडिएकाहरु ठूलो संकटमा पर्ने अवस्था बनेपछि प्रचण्ड त्रसित भई पछिल्लो अभिव्यक्ति दिइरहेका छन् ।

नेपालको इतिहासकै ठूलो आर्थिक भ्रष्टाचार यो प्रकरणमा ३ खर्बको चलखेल छर्लंग हुँदै गएको छ । राष्ट्रको खरबौं विदेश पुर्याइएको, ६० खर्बभन्दा बढी कर छली भएको प्रकरणमा केही राष्ट्रघाती गतिविधि समेत भएको छन् । देशमा लगानीको वातावरण छैन भन्ने सन्देश प्रवाह गर्ने देखि देशको पूँजी बाहिर लाने सम्मको खेल भएको छ । यो खेलमा व्यवसायीहरु उपेन्द्र महतो, सतिशलाल महर्जन, चन्द्र ढकाल, पृथ्वीबहादुर पाण्डे समेतको संलग्नता देखिएको छ ।

एनसेल प्रकरणको विरोध साम्य पार्न टंकमणि शर्मालाई ठेक्का

प्रतिक्रिया