वसन्त कुँवरको आइजीपीमा बढुवा
काठमाडौं, १० चैत्र । नेपाल प्रहरीको ३०औं आइजीपीमा वसन्त कुँवरको बढुवा भएको छ । शुक्रवार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो ।
पाँच जना प्रतिष्पर्धी प्रहरी अधिकृतमध्ये वरियतामा सबैभन्दा माथि रहेका कुँवरलाई पुष्पकमल दाहाल प्रचण्ड सरकारको क्याबिनेटले बढुवा गर्ने निर्णय गरेको हो । अब उनले २ वर्ष झण्डै ८० हजार फौज रहेको नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।
प्रहरीका हालका प्रमुख धीरजप्रताप सिंह भोलि शनिवारबाट ३० वर्षीय सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन् । अब ३०औं प्रहरी प्रमुखमा रुपमा कुँवर रहनेछन् ।
प्रहरी प्रमुख महत्वपूर्ण पद भएकाले धेरैको चासो रहने गरेको छ । बेला बेलामा बढुवामा वरियता मिचेको भन्दै निकै विवाद पनि हुने गरेको छ ।
कुँवर एक वर्षमा तीनपटक बढुवा हुने अधिकृत भएका छन् । यही वर्ष उनको डिआइजी र यसै हप्ता एआइजी र आज शुक्रवार आइजीपीमा बढुवा भएको हो । उनी लो प्रोफाइलमा रहने प्रहरी अधिकृत मानिन्छन् ।