८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

सत्ताको स्वाद चाखेकाहरुको ‘मिसन २०८४’


November 1, 2023
166
Shares

समाचार विश्लेषण । यतिबेला मिसन २०८४ भन्ने जमात नै देखिएको छ राजनीतिकवृत्तमा । मुख्य दल देखि नयाँ भनिएका दलका नेता तथा कार्यकर्ता समेत यही मिसन भन्दै हिंडेका छन् । यो भनेको २०८४ को चुनाव जित्ने मिसन हो । जुन आउन अझै चार वर्षभन्दा बढी समय छ ।

चुनाव सकिएको एक वर्ष भएको छैन अर्को चुनावको मिसन राख्नेहरु कहिले असल शासक या असल राष्ट्रभक्त हुन सक्दैनन् । असल नागरिक निर्माण गर्ने असल राजनीतिज्ञले त वर्तमानको महत्व बुझेर विगतबाट शिक्षा लिएर भविष्यको सुन्दर मार्ग निर्माणमा लाग्छ । तर, वर्तमानलाई नै बर्बाद पारेर भविष्यको कोरा कल्पनामा मस्त हुनेहरुबाट केही अपेक्षा गर्न सकिदैन ।

नेताहरुमा कसरी सत्तामा टिक्न सकिन्छ र कसरी सत्तामा पुग्न सकिन्छ भन्ने उद्देश्य नै मुख्य देखिएको छ । प्रचण्डलाई कसरी सत्तामा टिक्ने चिन्ता मात्र रहेको छ । शेरबहादुर देउवा र माधवकुमार नेपाल पालो कुर्ने कि नकुर्नेमा छन् । केपी शर्मा ओलीलाई अबको चार वर्षभित्र कसरी गठबन्धन तोड्ने र आफू सत्तामा पुग्ने ध्यान खिचिएको छ । रवि लामिछाने सत्ताको स्वाद चाखिसकेकाले त्यसतर्फ नै केन्द्रित छन् । कसैलाई पनि जनता र देशको चिन्ता छैन ।

दशैंमा कालोबजारीको नियन्त्रणमा देश गयो त्यसतर्फ कसैको ध्यान गएन । भ्रष्टाचार यति बढेको छ कि घूसको लेनदेनका स्टेशनहरु दुबई, सिंगापुर देखि यूरोपसम्म खोलिएका छन् । नेताहरुको अरबौंको निक्षेप विदेशी बैंकमा रहेको खुलेको छ । विदेशमा उनीहरुको लगानीको विषय आएको छ ।

नेपाल जस्तो सुन्दर देशमा खराब मानिसहरु शासनमा आउने र जाने क्रम लामो समययता चल्दै गएको छ । नयाँ भनिएकाहरु पनि देशको चित्तमाथि प्रहार गर्दै गर्छन् । उनीहरुको मिसन सत्तामुखी छ न कि देश र जनतामुखी ।

चुनावतिर मात्र मिसन बनाएर हिंड्नेहरुबाट देशको काँचुली फेरिएला भन्न सकिदैन । आफैले ल्याएको परिवर्तनसँग नेताहरु आफै डराउन थालेका छन् । आफैले समाप्त गरेको भनेको राजसंस्थाको भूतसँग तर्सन थालेका छन् ।

देशमा के के नै ल्याउँला जसरी धर्मनीरपेक्षता र संघीयता लाद्नेहरुका लागि यो नै समस्या बन्दै गएको छ । धर्ममाथि प्रहार हुँदा सामाजिक सद्भाव बिथोलिएका छन् । अनेकन समस्याहरु आइरहेका छन् । संघीयताले नयाँ राजा र रजौटाहरु जन्माएको छ । राजनीतिक बेथितीको विकेन्द्रीकरण भइरहेको छ । यसको जस लिने नेताहरु अपजसको भारी बोक्न नसक्ने भइसकेका छन् ।

समयभन्दा बलवान केही हुन्न । मिसन २०८४ देख्ने र सत्तामुखी राजनीति गर्नेहरुको ढिलो चाँडो पतन निश्चित छ । उनीहरुलाई जनताले ठूलै धक्का दिने निश्चित छ ।

प्रतिक्रिया