८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

हत्यारालाई सप्रमाण पक्राउ गर्ने तयारीमा प्रहरी, शव सदरमुकाममा


October 28, 2023
0
Shares

काठमाडौं, ११ कात्तिक । मुगुमा एकै परिवारका चारजनाको हत्या भएको घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान बढाएको छ । दोषीलाई सप्रमाण पक्राउ गर्ने योजनाका साथ आशंका गरिएकाहरुलाई निगरानीमा राखेर अनुसन्धान बढाएको हो ।

विश्वस्त स्रोतका अनुसार केही दिनमै दोषी पक्राउ पर्ने गरी अनुसन्धान भइरहेको छ । घटनामा संलग्न चिनेजानेको नजिकको नातेदार नै रहेको आशंकामा अनुसन्धान केन्द्रित छ ।

यसैगरी, मृतकका पति कतारबाट फर्किएलगत्तै शव उठाइएको छ । चारैजनाको शव सदरमुकाममा पोष्टमार्टमका लागि लगिएको छ ।

चारैजनाको घाँटी रेटी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको विभत्स हत्या हुँदा पनि वरिपरिकाले जानकारी नपाउनुले आशंका बढेको छ । हत्या हुँदा गुहार माग्ने र चिच्याउने हुन्छ । तर, नजिकका छिमेकी कसरी बेखबर भए ? यो प्रश्न तेर्सिएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका वडा नं ६ को मन्दु गाउँको दिपक बोहोराको घरमा घटना भएको हो । ८ कात्तिकको राति हत्या गरी ताल्चा लगाएको अवस्थामा शव फेला परेको हो । तर, १० कात्तिकको विहान मात्र प्रहरीमा खबर पुगेको थियो ।

हत्या गरिएकाहरुमा २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा छन् ।

कात्तिक ७ गते श्रीदेवी एउटै वडामा रहेको कोटिल्ला गाउँको माइतीघरमा टीका लगाउन गएकी थिइन् । ८ गते फर्किएकी उनी नदेखिएपछि छिमेकीले चासो राखेका थिए । माइती गएको धेरै दिन भएको ठानेर सोध्दा ८ गते नै फर्किइसकेको जानकारी पाएपछि घरमा हेर्दा शव भेटिएको थियो ।

प्रतिक्रिया